बाह्य लगानी जुटाउने वातावरण सरकारले बनाउनुपर्छ : नेपाल
काठमाडौं : नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिएका छन्। समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए।
‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ। यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भने।
‘विकसित मुलुकहरु अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपाईहरुले देख्नुहुन्छ बाटोको निर्माण, उनीहरुले पछि (१/२ सय) वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको छ। तर, हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेता नेपालले भने,'हामीले सयवर्षभित्र ८ लेनको वा १२ लेनको बाटो चाहिन्छ भने अहिल्यै १२ लेनको बाटो बनाउने होइन तर जग्गा भने छुट्याउनुपर्दछ, अहिले २ लेनको मात्र आवश्यक छ भने २ लेनको मात्र बनाउनुपर्छ।'
आवश्यकता अनुसार त्यसलाई थप्दै थप्दै जानुपर्ने उनको भनाई छ। उनले एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरे। कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरन नेता डा.देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव राखे।