नेपालाई चीनले करोडौँको सैन्य सामग्री उपलब्ध गराउने सम्झौता
काठमाडौँ : नेपाल र चीन सरकारबीच सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वे फेन्गेबीच औपचारिक सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालको प्रस्तावका आधारमा आगामी तीन वर्षसम्म नेपाललाई चीनले सामाग्री हस्तान्तरण गर्नेछ ।
यसअघि नै चिनियाँ राष्ट्रपति सी चिङफिनले नेपाल भ्रमणका बेला नेपाली सेनालाई १५० मिलियन युयान सहयोग गर्ने बताएका थिए । रक्षामन्त्री पोखरेलले गत वर्ष पनि चीन भ्रमणका क्रममा त्यहाँका रक्षा मन्त्रीसँग नेपाली सेनालाई सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
चीन भ्रमणमा रहेका रक्षामन्त्री पोखरेल र चीनका रक्षा मन्त्रीबीच दुई देशको सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको पोखरेलका सहयोगी दीपेन्द्र श्रेष्ठले अन्नपूर्ण अनलाईनलाई जानकारी गराए ।