युद्धमा मारिएकाको सम्झनामा स्मारक पार्क
सिन्धुली : तत्कालीन माओवादीको शसस्त्र युद्धका क्रममा ज्यान गुमाएकाको स्मृतिमा सिन्धुलीमा सहिद स्मारक पार्क निर्माण सुरु गरिएको छ। एकै गाउँमा ६ जनाले ज्यान गुमाएको स्मृतिमा सुनकोशी गाउँपालिका-५ नागेडाँडामा पार्क निर्माण्न गर्न लागिएको हो।
एउटै परिवारका तीन दाजुभाइसहित ६ जनाले ज्यान गुमाएका र सयौं गिरफ्तार परेको गाउँलाई सहिद गाउँको नामले चिनाउँन भन्दै प्रदेश-३ सरकारको १ करोड रुपैयाँ लागतमा सिन्धुली जिल्लाकै नमूना सहिद स्मारक र बोटानिकल पार्क निर्माण थालिएको हो।
स्मारक र पार्कमा जनआन्दोलन, सशस्त्र युद्ध, बलिदानी र निर्माणको प्रतिबिम्बका रूपमा उक्त सहिद पार्क नागेडाँडास्थित सहश्रधारा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको छ।
नागेडाँडाको टारीगाउँमा करिब दुई हेक्टर जग्गामा सहिद स्मारक र मुल्कोटमाथि बीपी राजमार्गसँग जोडिएको थुम्कोमा करिब तीन हेक्टर जग्गामा बोटानिकल पार्क निर्माण थालिएको निर्माण समितिका अध्यक्ष प्रमोद दाहालले जानकारी दिए।
‘स्मारक र पार्क दुवै खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टरसमेत निर्माण हुनेछ’, दाहालले भने।
डिभिजन वन कार्यालय मरिणका प्रमुख लोकराज नेपालले सामुदायिक वनको घनाक्षेत्र रहेको नागेडाँडाको टारीगाउँमा सहिद स्मारक र बोटानिकल पार्कको विकास गर्न लागिएको बताए।
‘सुख्खा ठाउँ भएकाले सुनकोसीको पानी लिफ्टमार्फत तानेर बोटानिकल गार्डेनका रूपमा हरियाली बनाउने योजना छ’, उनले भने, ‘बीपी राजमार्गमा आवतजावत गर्ने यात्रुले समेत पार्कमा केहीबेर सुस्ताउने मौका पाउने छन्।’
स्मारक क्षेत्रमा वनभोजस्थलसमेत बनाइनेछ। स्मारक र पार्क निर्माणमा एक्सपर्ट ग्रुपले सहयोग गरेको छ।