विप्लवको गोप्य दस्तावेज प्रहरीको कब्जामा

विप्लवको गोप्य दस्तावेज प्रहरीको कब्जामा

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ।

पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ। ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ। राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए।

विप्लव नेतृत्वको नेकपाका २१ जना पक्राउ परेको राजापुर–४ मगराइना गाउँको एक घर। तस्बिर सौजन्य : शिबु खनालको फेसबुक

सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना रहेको खुलेको छ। ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ। सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ।’

१ करोड चन्दा संकलन

उक्त पार्टीले साबिकको राप्ती अञ्चलका पाँच जिल्लाबाट १ करोड रुपैयाँभन्दा बढी चन्दा उठाएको भेटिएको छ। बरामद राजनीतिक दस्तावेजमा चन्दा संकलनबाट १ करोड रुपैयाँभन्दा बढी संकलन भएको र त्यो रकम पार्टीका कार्यक्रम तथा व्यवस्थापनमा खर्च भएको उल्लेख रहेको उनले बताए।

‘१ करोडभन्दा बढी चन्दा संकलन गरी खर्च गरेको दस्तावेज बरामद भएको छ’, उनले भने, ‘चन्दा दिनेमा जनप्रतिनिधि, व्यापारी, उद्योगी देखिएका छन्। कोबाट कति चन्दा उठाए र अब कोसँग उठाउने तयारी छ भन्नेसम्म फेला परेको छ।’ उद्योगी÷व्यापारीले मात्र होइन, जनप्रतिनिधिले पनि चन्दा सहयोग गरेको देखिएको उनले बताए। विप्लवले सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ।

जनवर्गीय संगठन विस्तार, राजनीतिक प्रशिक्षण, सैन्य प्रशिक्षण चलाउने, एक घर एक पार्टी सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिम सञ्चालन गर्ने र चन्दा अभियानलाई तीव्र पार्ने निर्णय गरेको प्रहरीले फेला पारेको छ।

प्रहरीसँग बोल्दैनन् विप्लवका नेता

दाङबाट पक्राउ परेका विप्लव नेतृत्वको पार्टीका नेताले प्रहरीमा बयान दिन अस्वीकार गरेका छन्। मध्यपश्चिम कमान्डर चन्द्रबहादु चन्द ‘वीरजङ’सहितका नेताले बयान दिन नमानेका हुन्। उनीहरू मौन रहने गरेको प्रवक्ता शाहले बताए। ‘हामीलाई केही थाहा छैन, सबै डायरी र दस्तावेजमा छ। त्यही हेर्नुहोस् भनेर जवाफ फर्काउँछन्’, उनले भने।

यसबाट अनुसन्धानमा समस्या भएको उनले सुनाए। कसैले त नामसमेत गलत बताएको पाइएको छ। उनले भने, ‘दस्तावेज र डायरीबाटैै सूक्ष्म अनुसन्धान भइरहेको छ।’ दस्तावेजमै कसैले केही कुरा नखोल्ने र खोले कारबाही उल्लेख भएकाले उनीहरू बोल्न नमानेको प्रहरीको अनुमान छ। संविधानमै नबोल्न पाउने अधिकार भएकाले बोल्न लगाउन झनै समस्या भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.