बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता : कहिले पाउला सत्यनिरुपण र बेपत्ता आयोगले नेतृत्व ?
काठमाडौं : द्वन्द्वकालीन मुद्दाको समाधानका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।
सोमबार बिहान भएको भेटवार्तामा सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानबिन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको थियो। द्वन्द्वकालीन घटना छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग झन्डै सात महिनादेखि पदाधिकारीविहीन छ।
दुवै आयोग नेतृत्वविहीन हुँदा द्वन्द्वकालीन मुद्दाको समाधान प्रभावित भएको छ। दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर द्वन्द्वकालीन मुद्दालाई चाँडै टुंगो लगाउने बारेमा सकारात्मक छलफल भएको भेटवार्तामा सहभागी नेकपाका नेता सुवास नेम्वाङले दिए।
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवाबीच पटकपटक बैठक र छलफल भए पनि भागबन्डाको कारण आयोगका पदाधिकारी नियुक्त हुन सकेका छैन। द्वन्द्वकालीन मुद्दासँग प्रत्यक्ष जोडिएका दाहाल र देउवा आफूअनुकूलका पात्रलाई त्यहाँ पठाएर जोखिम घटाउने रणनीतिमा देखिन्छन्। यसबीचमा पूर्व महान्यायधीवक्ता रमनकुमार श्रेष्ठलगायतका केही पात्रहरुको नाममा छलफल भए पनि सम्बन्धित पात्रहरुले नै इन्कार गरेपछि नियुक्ति प्रकिया अल्झिदै आएको छ।
छलफलमा नेकपाका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र कांग्रेस नेता मीनेन्द्र रिजाल थिए । आन्तरिक गृहकार्य गरेर फेरि छिट्टै बैठक बस्ने गरी छलफल टुंगिएको छ। सोमबार छलफल मात्रै भएको र ठोस् समझदारी केही नभएको स्रोतले बतायो।
सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गरी थपिएको एकवर्षे म्याद २६ माघमा समाप्त भएको थियो। त्यसपछि आयोगलाई निरन्तरता दिएपनि आयोगमा पदाधिकारी नियुक्त गरिएको छैन। द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित साठी हजारभन्दा बढी उजुरी परेका छन् भने बेपत्ता आयोगमा तीन हजारभन्दा बढी उजुरी परेका छन्।