युनेस्को मिसनको ठहर- ‘ नेपालको विश्वसम्पदा कुरुप भएछ'
काठमाडौं : राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मिसनले नेपालको विश्वसम्पदा कुरुप बन्दै गएको बताएको छ। काठमाडौं उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको निरीक्षणपछि युनेस्को मिसनले आफ्नो धारणा व्यक्त गरेको हो।
मिसनअन्तर्गत विश्वसम्पदा केन्द्रको प्रतिनिधित्व गर्दै ‘इन्टरनेसनल सेन्टर फर द स्टडी अफ दि प्रिजर्भेसन एन्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज’ (इक्रोम) का अन्तर्राष्ट्रिय विज्ञ गामिनी विजिसुरिया र ‘इन्टरनेसनल काउन्सिल अन मोनुमेन्टस् एन्ड साइट्स’ (इकोमस) की अन्तर्राष्ट्रिय विज्ञ क्याथरिन फोर्बसले सोमबार पुरातत्व विभागमा भएको एक कार्यक्रममा नेपालमा भइरहेको सम्पदाको पुनर्निर्माणको समीक्षा गरेका छन्। सम्पदा क्षेत्रमा भइरहेको कामको निरीक्षण गर्न भन्दै मिसन गत साता नेपाल आएको थियो।
मिसनले एक सातासम्म उपत्यकामा रहेका पशुपति, बौद्धनाथ, स्वयम्भूनाथ क्षेत्र, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार र चाँगुनारायण मन्दिर क्षेत्रमा पुनर्निर्माण अवलोकन गरेको थियो।
अधिकांश सम्पदा क्षेत्रमा प्राचीन पद्धतिलाई बेवास्ता गर्दै बालुवा र सिमेन्टको संरचना बनेको देखेपछि मिसनकी क्याथरिनले भनिन्, ‘विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा क्षेत्रले ‘आउटस्ट्यान्डिङ् युनिभर्सल भ्यालु’ (ओयूभी) लाई आत्मसात् गर्नुपर्छ। तर, पुनर्निर्माण क्रममा यहाँका सम्पदा कुरुप बन्दै गएका छन्।’ अधिकांश संरचना छिटो निर्माण गर्न लापरबाही गरेकोप्रति उनको संकेत थियो। काठमाडौं उपत्यकाका सम्पदा खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने विषय भन्दा ‘ओयूभी’ को पालना गर्न नेपाललाई सुझाउन चाहेको उनको भनाइ थियो। ‘ओयूभी’ वल्र्ड हेरिटेज कन्भेन्सनद्वारा विश्वसम्पदामा सूचीकृत सम्पदाका लागि तोकिएको मापदण्ड हो।
क्याथरिनले सम्पदा क्षेत्रमा बनिरहेका आधुनिक संरचनाप्रति आपत्ति जनाउनुका साथै कतिपय मठमन्दिर पुनर्निर्माणमा गरिएको ढिलाइप्रति समेत चासो व्यक्त गरिन्।
आफ्नो समीक्षामा क्याथरिनले भनिन्, ‘सम्पदा क्षेत्रमा इँटा र काठबाट बनेका नयाँ संरचनाले पुरानो स्वरुप गुमाएको छ।’ उनले सम्पदा क्षेत्रमा भूकम्पपछि भत्किएका संरचनाले भौतिक तथा मानवीय जोखिम बढेको बताउँदै यसतर्फ स्थानीय तहको ध्यान जानुपर्ने धारणा व्यक्त गरिन्।
अडिट मिसनले मुख्यतया पशुपति क्षेत्रको पुनर्निर्माणमा बढी चासो राखेको छ। कार्यक्रममा पशुपति विकास कोषका इन्जिनियर केदार थपलियाले प्रस्तुत गरेको विस्तृत गुरुयोजनामाथि टिप्पणी गर्दै क्याथरिनले यस्तो गुरुयोजनाले सम्पूर्ण विषय समेटे पनि यो निकै जटिल कार्य भएको बताएकी छन्।
उक्त गुरुयोजनामा पाशुपत क्षेत्रको धार्मिक आध्यात्मिक प्रवद्र्धनदेखि पर्यटकीय सेवा-सुविधाका विषय समेटिएको छ। जबकि पशुपतिमा विकासका नाममा धमाधम वन विनाश हुन थालेका छन्। साथै, श्लेश्मान्तक वनमा निर्माण भएको सडक, विश्वरुप मन्दिर पुनर्निर्माण क्रममा कंक्रिटको प्रयोग, वन फाँडेर बनाइएको मृगस्थली, वनकालीको कंक्रिटमय पार्क विवादित बन्दै आएको छ। यसप्रति पशुपति विकास कोषले खासै चासो नदेखाएकोप्रति जनगुनासो समेत बढेको छ।
पाशुपत क्षेत्रका स्मारक पुनर्निर्माणमा भइरहेका कामको विवरण
जम्मा क्षति भएका स्मारक : ९०
निर्माण सम्पन्न भएका : १५ (०७४/०७५), १७ (०७५/०७६)
जम्मा निर्माण सम्पन्न ३२निर्माणमा प्रगति : ७
दु्रत कार्य भइरहेका : १५
अवरुद्ध भएको काम : १ (लक्ष्मीनारायण मन्दिर)
बाँकी काम :३५
मिसनले सम्पदा क्षेत्रमा भइरहेको विकास प्राकृतिक वातावरणलाई ध्यान दिएर गर्न भनेको छ। विकास निर्माण गर्दा ‘भिज्वल इम्प्याक्ट’ लाई ध्यान दिनुपर्ने क्याथरिनले बताइन्।
त्यस्तै, इक्रोमका विज्ञ गामिनीले सम्पदा पुनर्निर्माणको सवालमा जनप्रतिनिधि र स्थानीयबीच मतभेद रहेकोप्रति ध्यानाकर्षण गराए। ‘हामीले कसैलाई पनि असर नपर्ने गरी काम अगाडि बढाउनुपर्छ,’ उनले सुझाव दिँदै भने, ‘सम्पदा देशको पहिचान हो। यसलाई बचाउने मात्र होइन समुदायले पनि यसबाट प्रतिफल पाउनुपर्यो।’
उनले नेपालका सम्पदा क्षेत्र ‘लिभिङ हेरिटेज’ भएकाले यहाँका दैनिक उपभोग्य वस्तुको पुनःस्थापनामा ध्यान दिन आवश्यक भएको बताए। सीमित स्रोत, साधन र बजेट अभावमा सम्पदा पुनर्निर्माण नेपालका लागि सजिलो नभएकोप्रति सजक रहँदै गामिनीले यसका लागि समुदायको साथ-सहयोगसमेत लिन सुझाएको छ।
कार्यक्रममा पशुपति क्षेत्रका साथै विश्वसम्पदा सूचीमा परेका पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणको अवस्थाबारे मिसनलाई जानकारी गराइएको थियो। पुरातŒव विभागका महानिर्देशक दामोदर गौतमले पुनर्निर्माण ४० प्रतिशत सकिएको जानकारी दिँदै बाँकी अबको दुई वर्षमा सकाउने लक्ष्य रहेको बताएका छन्।
युनेस्कोको ‘रियाक्टिभ मोनिटरिङ मिसन’ निरीक्षणमा आएसँगै नेपालका विश्वसम्पदा युनेस्कोले खतराको सूचीमा राख्न सक्नेतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
यो भन्दाअगाडि युनेस्कोको ४३ औं सेसनमा काठमाडौं उपत्यकामा रहेका ७ वटा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव अगाडि बढाइएको थियो। तर, भूकम्पपछि तत्काल पुनर्निर्माणमा समय लाग्ने र अन्य व्यावहारिक तथा सैद्धान्तिक पक्षलाई अघि सार्दै नेपालले तत्काल खतराको सूचीमा नराख्न युनेस्कोसामु पहल गरेको थियो।
अजरबैजानमा भएको उक्त बैठकले नेपालले पेस गरेको प्रतिवेदनको अध्ययन गर्दै एक वर्षका लागि नेपालका सम्पदालाई खतराको सूचीमा नराख्ने निर्णय गरेको छ। साथै, नेपालका सम्पदा क्षेत्रको अनुगमन गर्न युनेस्कोको अडिट मिसन नेपाल पठाउने निर्णय भएको थियो। सोही निर्णयबमोजिम अडिटर अध्ययनका लागि मिसन नेपाल आएको हो। तर, निरीक्षणपश्चात् नेपालको पुनर्निर्माणमा मिसनले असन्तुष्टि देखाएको छ।
०७२ को भूकम्पबाट काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० वटा सम्पदामा पूर्ण रुपले क्षति पुगेको थियो। हालसम्म ९० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएका छन् भने अन्यको जारी छ।
नेपालले सम्पदाको संरक्षणमा तदारुकता नदेखाएकै कारण ती सम्पदा खतराको सूचीमा पर्न सक्ने भन्दै युनेस्कोले बारम्बार चेतावनी दिँदै आएको छ। तर, नेपाल सरकारको बेवास्ता र पुरातŒव विभागको लापरबाहीका कारण पशुपति क्षेत्रलगायत चागुनारायण क्षेत्रको अस्तव्यस्तता, स्वयम्भूनाथ मन्दिर वरपर बनेका कंक्रिटका संरचना, बौद्धनाथ स्तुपमा ठोकिएको किल्लाका विषयमा समेत विरोध भइरहेको छ।