‘किस्ता तिर्नै कठिन छ’
मेरो घर काभ्रे हो। अहिले काठमाडौँ, नारायणटारमा बस्छु। आफ्नै ट्याक्सी चलाउन थालेको चार महिना भयो। पहिला साहूको गाडी चलाउँथेँ। सधैँ साहूसँग किचकिच भइरहन्थ्यो। वाक्क भएर आफ्नै ट्याक्सी किनेर चलाउन थालेको हँु। आफ्नो काम भनेको आफ्नै हो। अरूको किचकिच सुनिरहनुपर्दैन।
ट्याक्सी किस्तामा लिएको छु। पैसा तिर्न हम्मेहम्मे परिसक्यो। साथीहरूको लहैलहैमा पढाइ छोडेँ। काम केही आउँदैनथ्यो। त्यसैले बुबाले ‘ड्राइभिङ सिक’ भन्नुभयो। मैले एसएलसी सकेर ड्राइभिङ सिकेँ। पहिला गाडी लाइनमा पैसा राम्रो थियो। अहिले त्यस्तो छैन। चालकलाई ट्राफिक, प्यासेन्जर सबैले हेप्छन्। बाटोमा पनि जता हेर्यो, त्यहीँ खाल्डाखुल्डी मात्रै देखिन्छन्। पार्किङ गर्ने ठाउँ छैन।
सरकारले ट्याक्सीका लागि पार्किङको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। यात्रीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याएपछि रित्तै फर्किनुपर्छ। यताउता गर्दा नै तेल सकिन्छ। जसले गर्दा कमाइ राम्रो हुँदैन। कहिलेकाहीँ प्यासेन्जर पनि किचकिचे पर्छन्। मिटरमा जाँदा पनि धोका दिन्छन्। मिटरमा उठेजति पैसा दिन मान्दैनन्। धेरै भयो भन्दै कराउँछन्।
अहिले निस्केका टुटल-पठाओजस्ता सेवाले ट्याक्सी व्यवसायलाई घाटा भएको छ। यसै त प्यासेन्जर पाउन गाह्रो छ, त्यसमाथि टुटल, पठाओले गर्दा हामीजस्ता ट्याक्सी ड्राइभर मर्कामा परेका छौँ।
प्रस्तुतिः आशक्ति