तिहारमा सरकारको अपील : सभ्य गीत गाउनू, पटका नपट्काउनू
काठमाडौं : सरकारले तिहारमा समाजमा नकारात्मक असर पर्ने खालका गीत- संगीत तथा श्रव्य-दृश्य सामग्रीको उत्पादन र बिक्री वितरण नगर्न आग्रह गरेको छ। मंगलबार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै तिहारमा देउसी भैलो सभ्य तरिकाले मनाउन समेत अपील गरेको छ।'
देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा सलंग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्नुहुन्न र देउसी भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिनु हुन, कुनै व्यक्ति वा संस्थाबाट अनुचित दबाबमुलक माग राख्ने, समयपूर्व पत्राचार गर्ने लगायतका क्रियाकलाप नगर्न नगराउन सबैमा अनुरोध गदर्छ,' विज्ञप्तिमा भनिएको छ।
साथै भुइँचम्पा, पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पर्ने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न गृहमन्त्रालयले सुझाएको छ।
नियमअनुसार कोही कसैले समाजमा नकारात्मक सन्देश जाने कार्य गरे गराएमा प्रचलित कानुनअनुसार कारवाही हुने मातहतका निकायलाई निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ। यस्तै तिहार अवधिमा यात्रुहरुको सहज आवागमन, सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता, शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले माहतका निकायहरुलाई निर्देशन दिएको छ।
गुनासो भएमा वा अबाञ्छनीय क्रियाकलाप भएमा नजिकैको सुरक्षा निकायमा खबर गर्न सर्वसाधारणलाई गृहमन्त्रालयले अनुरोध गरेको छ।