नौबिसे–नागढुंगा सडक : टिक्दै टिक्दैन देब्रे लेन
धादिङ : दशैंअघि नौबिसे–नागढुंगा सडकखण्डमा करिब २ साता अत्यधिक सवारी जाम र चाप भयो। जाममै अड्किएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आयो भने सामान्यतया आधा घण्टामा पार गर्न सकिने दुरी पार गर्न ८ घण्टासम्म लाग्यो। यसको एउटै कारण थियो, त्रिभुवन राजपथको देब्रे लेन (काठमाडांै भित्रने लेन) क्षतविक्षत हुनु।
सडक विभागका इन्जिनियरदेखि सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको सबैभन्दा ठूलो टाउको दुखाइ नै यही देब्रे लेन हुने गरेको छ। समय समयमा मर्मतसम्भार भइरहे पनि लामो समय टिक्ने गरी नबनाउँदा केही महिनामा समस्या दोहोरिन थाल्छ।
यस वर्ष वर्षातघि मर्मत गरिएको सडक दसैंसम्म पनि टिकेन। सवारीसाधनको अत्यधिक चाप र भारका साथै मर्मतमा प्रयुक्त सामग्री गुणस्तरीय नहुँदा ४ महिना पनि टिकेन। दसंै सकिनासाथ फेरि उक्त सडक मर्मत गरिएको छ। गत शुक्रबार मात्र एक साता सवारी आवागमन एकतर्फी गराएर मर्मत गरिएको हो। ‘बर्सेनि सडक मर्मतका नाममा करोडौं छुट्याइन्छ। वर्षभरि कुनै न कुनै ठाउँमा मर्मत पनि भइरहेको हुन्छ, तर कहिल्यै बनिसक्दैन’, धादिङ नौबिसेका रामशरण श्रेष्ठले भने, ‘कमजोर कालोपत्रेका कारण सडक कामै नलाग्ने गरी बिग्रिएको हो।’
सडक खण्डको नौबिसे–पिप्लामोड १० किलोमिटर खण्ड हेर्ने जिम्मा डिभिजन सडक कार्यालय भरतपुरको र पिप्लामोड–नागढुंगा सडकखण्डको २ किलोमिटरको जिम्मा डिभिजन सडक कार्यालय काठमाडौंलाई छ। सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै सडकको लेन भासिने चालकहरू बताउँछन्।
यो सडकखण्ड मर्मतसम्भारमा निकै कठिनाइ छ। यो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा छ। चौडाइ थोरै भएकाले निर्माण सामग्री राख्न र काम गर्न पनि असहज हुने गरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले बताए। ‘आवश्यक परेको बेला मर्मतसम्भार गर्न कठिन हुने भएकाले ठेक्का लिने कम्पनी समेत भेटिँदैनन्’, उनले भने, ‘साँघुरो सडक मर्मत गर्दा अत्यधिक जाम पर्ने र चौतर्फी विरोध हुने भएकाले ठेकेदार नपाएर यसपालि ठूलो समस्या भयो।’
कसैले पनि मर्मत गर्न टेन्डर नहालेपछि सो सडकखण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जीएमआर कन्स्ट्रक्सनले लिएर गत शुक्रबार मात्र मर्मत सकिएको छ। दसैं अघिदेखि खाल्डाखुल्डी बनेको सडक पुर्न थालेको जीएमआर कम्पनीले मर्मतसम्भार र कालोपत्रेको काम सकाएको सहायक ठेकेदार ऋषि पाण्डेले बताए। ‘हामीले जिम्मा पाएको पिपलामोडदेखि नौबिसेसम्मको सडकको खाल्डाखुल्डी मर्मत सकेका छौं’, उनले भने, ‘मर्मतले जाम बढेको थियो, अब जामको समस्या आउँदैन।’
सवारीसाधनको चाप बढेर ३० किलोमिटरसम्म जाम हुन थालेपछि दसैंअघि मर्मत स्थगित गरेर लामा र धेरै भार बोकेका सवारीसाधनलाई राजधानी प्रवेशमा निषेध नै लगाएपछि यात्रुको आवागमन केही सहज बनेको थियो। सडक मर्मत सकिए पनि सेट हुने समय नपाउँदा चाँडै बिग्रने गरेको प्राविधिकहरूको भनाइ छ। अर्को वैकल्पिक बाटो नहुँदा सडक बनि नसक्दै सोही सडकमा सवारी गुडाउन दिनुपर्ने बाध्यताले पनि सडक लामो समय टिक्दैन। ‘काम भइरहेको छ, पिच पेल्ने डोजरभन्दा बढी भार बोेकेका सवारीसाधन केहीबेरमा सडकमा गुड्नुपर्ने हुन्छ’, एक प्राविधिकले भने, ‘त्यसै कारण पनि सडक लामो समय टिक्दैन।’
राजधानी भित्रने देब्रे लेन चाँडै बिग्रनुमा चिसो बालुवा बोक्ने टिपर र ट्रक पनि कारक भएको इन्जिनियरहरू बताउँछ्। नदीबाट निकालेको र प्रशोधित चिसो बालुवा बोक्ने टिपरको भार सडकको क्षमताभन्दा दोब्बर हुन्छ। त्यसमाथि टिपरले उकालोमा पानी चुहाउँदा सडक सधैं चिसो भइरहन्छ। यसले कालोपत्रे चाँडो भत्कने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।
त्रिभुवन राजपथको सडकको क्षमता सिंगल एक्सएल सवारी बराबर १० टन मात्र छ तर ती सवारीले १५ देखि ४० टन बोकेर राजधानी जान्छन्। बाहिरी जिल्ला तथा भारतबाट समेत अत्यधिक वजन बोकेर आउने मालवाहक सवारीको लोडले सडकको देब्रे लेनमा असर गर्ने गर्छ। सडकको देब्रे लेन भासिने र दबिने गरेकाले ठाउँठाउँमा खाल्टाखुल्टी मात्र होइन कुलो जस्तो बन्दा ठूला मालवाहक गाडी फस्ने भएकाले निरन्तर जामको सास्ती खेप्नु परिरहेको छ।