रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की २ मा कांग्रेसका १६ नेता सिफारिस
पोखरा : कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कास्की जिल्ला समितिको मंगलबारको बैठकले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी पार्टी सभापति कृृष्ण केसीले जानकारी दिए ।
कास्की क्षेत्र नम्बर २ का बहुमत सदस्यले भने पुरानै उम्मेद्वार देवराज चालिसेको एकल नाम पठाउन हस्ताक्षरसहितको पत्र बुझाएका थिए । ३९ सदस्यीय क्षेत्रीय समितिको बैठकमा उपस्थितमध्ये बाँकी ११ जनाले भने सबै आकांक्षीको नाम पठाउनुपर्ने प्रस्ताव गरेका थिए । क्षेत्रीय सभापति माधव बास्तोला मधुले ती दुवैथरीको पत्रसहित निर्णायार्थ जिल्ला समितिमा बुझाएको जानकारी दिए ।
क्षेत्रबाट आएका दुवैथरी पत्रमाथि छलफल गरी नाम सिफारिस गर्न मंगलबार कास्की कांग्रेसको बैठक बसेको थियो । जिल्लाले समेत क्षेत्रीय सदस्यबाट आएका दुवैथरी पत्रसमेत समावेश गरी १६ जना आकांक्षीको नाम केन्द्रलाई पठाएको जानकारी सभापति केसीले दिए । त्यसमा अघिल्लो चुनावका उम्मेदवार देवराज चालिसेको नामसमेत छ ।
कांग्रेस केन्द्रले भने जम्मा ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । अघिल्लो चुनावमा पनि त्यस्तै परिपत्रका बाबजुद १२ जनाको नाम सिफारिस हुँदा कांग्रेसबाट देवराज चालिसेले उम्मेद्वारको टिकट पाएका थिए । तर उनी तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भए । यसपालि उम्मेदवारका आकांक्षीमात्रै बन्न १० हजार रुपैयाँसहित निवेदन पेस गर्न क्षेत्रीय समितिले नियम बनाएको थियो । तर पनि १६ जना आकांक्षी देखिए ।
पुराना उम्मेद्वार चालिसे, क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, पुराना नेताहरु खेमराज पौडेल, महादेव गुरुङ, सोभियत बहादुर अधिकारी, महासमिति सदस्य ऋषि काफ्ले, गुरु बराल, कृष्ण कार्की, विजय आचार्य, केशव निर्दोषी, वीरेन्द्रनारायण विजुक्छे, केदारप्रसाद तिवारी, पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, खेमकुमारी बराल, रंगिला आचार्यको नाम उम्मेद्वारका लागि सिफारिस भएको हो ।
आउँदो निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट पनि थुप्रै आकांक्षी छन् । तर उक्त पार्टीले उम्मेदवार सिफारिस गरेको छैन । ऊ १० गतेभित्र बैठक बसेर नाम सिफारिस गर्ने तयारीमा छ । साझा पार्टीले बुधबार उम्मेद्वार सार्वजनिक गर्दैछ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ताको समय कात्तिक २१ गतेलाई तोकेको छ ।
कास्की २ बाट निर्वाचित तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारी पर्यटन मन्त्री छँदै २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । अधिकारीसँग नेपाली कांग्रेसका देवराज चालिसे ८ हजार ५ सय ४६ मतान्तरले पराजित भएका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।
नेकपाबाट रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई, पुराना नेताहरु सोमनाथ अधिकारी प्यासी र तुलबहादुर गुरुङ, रवीन्द्रका आफन्त र सहपाठी धनराज आचार्य, विद्यार्थी नेता रश्मि आचार्य, जिल्ला इन्चार्ज राजकाजी गुरुङ करण, सहइन्चार्जहरु श्रीनाथ बराल र भीम कार्की आकांक्षी छन् । कास्की २ मा ७२ हजार २ सय मतदाता छन्।