‘सञ्चारले सकरात्मक भूमिका खेल्नुपर्छ’
हेटौंडा : प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सकरात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।
संसदीय मामिला पत्रकारिता सम्बन्धी मंगलबार हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा बोल्दै उनले भने, ‘सञ्चारमाध्यमले दिने सकरात्मक प्रचार र सन्देशले पनि विकासको काम अघि बढ्न धेरै सहयोग गर्छ।’ सभामुख श्रेष्ठले संघीयता र यसको फाइदाको बारेमा समेत सञ्चारमाध्यमले चर्चा गर्नुपर्ने बताए।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी), संसद सहयोग परियोजनासँगको सहकार्य तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा भएको कार्यक्रममा अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा र अधिवक्ता तथा संविधान सभा सदस्य रेवतीरमण भण्डारीले सहजिकरण गरेका थिए।
संसदीय मामिला पत्रकारिता, अवधारणा, अभ्यास र चुनौती, प्रभावकारी संसदीय अभ्यासका लागि संसद्, संसद् सचिवालय, संसद् र पत्रकारको सम्बन्ध, संसदीय प्रक्रिया र सूचना सम्प्रेषण, पत्रकारले ख्याल गर्नुपर्ने विषयलगायतका बारेमा थापा र भण्डारीले सहजिकरण गरेका थिए।
कार्यक्रममा ५० बढी पत्रकारको सहभागिता रहेको थियो।