सी भ्रमणका अन्तर्राष्ट्रिय तरंग

सी भ्रमणका अन्तर्राष्ट्रिय तरंग

सी विचारधाराको प्रशिक्षण लिने विश्वको एक मात्र सरकार र पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र हो 


अमेरिकाको सुप्रसिद्ध फोब्र्स पत्रिकाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सन् २०१८ को विश्वको सर्वाधिक शक्तिशाली व्यक्ति घोषणा गरेको थियो। तिनै सी २१ घण्टा नेपाल बसाइपछि नेपाली जनताको शुभेच्छा र सद्भावना लिएर स्वदेश फर्किए। यसभन्दाअघि विश्वको शक्तिशाली व्यक्तित्वमा अमेरिका र रुसको वर्चस्व रहने गर्दथ्यो। विगत ४०÷५० वर्षयता चीनले हासिल गरेको आर्थिक विकासले विश्वको सर्वाधिक शक्तिशाली नेतृत्व अब एसियामा सरेको छ। भनिन्छ २१ औं शताब्दी एसियाको हो। चीनपछि उदीयमान आर्थिक शक्तिमा भारत अघि बढिरहेको छ भने जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि विश्व आर्थिक वर्चस्व स्थापित गर्न यसअघिदेखि नै संघर्षरत छन्।

विगत दुई हप्तादेखि नेपाल चीनको कम्युनिस्ट पार्टी र राष्ट्रपति सीमय भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको नीति जसलाई सी विचारधारा भनिएको छ, त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण विभागका प्रमुखलगायतले नेपाल सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीमण्डलका सदस्यहरू र पार्टीका नेताहरूलाई प्रशिक्षण दिएपछि भएको राष्ट्रपतिको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्र नै तरंगित हुनु स्वाभाविक छ। संयुक्त राष्ट्र संघका करिब दुई सय राष्ट्रमा चिनियाँ कम्युनिस्ट विचारधाराको प्रशिक्षण लिने अर्को कुनै राष्ट्र छैन। आफूलाई कट्टर कम्युनिस्ट राष्ट्र भन्ने उत्तरकोरिया आफ्ना संस्थापक नेता किम इल सुङको विचार अनुकरण गरिरहेछ। उसले चिनियाँ कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्दैन। अन्य कम्युनिस्ट पार्टीहरू भियतनाम वा क्युबा कम्युनिज्म विचारधारा भन्दा खुला अर्थतन्त्र अपनाएर विकासको गतिमा अघि बढिरहेका छन्। सी विचारधाराको प्रशिक्षण लिने विश्वको एक मात्र सरकार र पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र हो।

राष्ट्रपति सीको नेपाल भ्रमणबाट विश्व तरंगित भएको विषय हो उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गर्ने जोकोहीलाई पनि धुलोपिठो बनाइनेछ। त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् भनी दिएको चेतावनी सर्वप्रथम चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटर्वक (सीजीटीएन ) ले सार्वजनिक गर्‍यो। त्यसपछि नै समाचार प्रकाशित गर्न सबैजसो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सीको चेतावनीलाई हङकङमा विगत १९÷२० हप्तादेखि जारी प्रदर्शनलाई लक्षित गरिएको अर्थमा लिए र विश्वका शक्तिशाली सञ्चारमाध्यम सीएनएन बीबीसी र अल जजीराले प्रमुख समाचार बनाए सीको चेतावनीलाई।

२१ घण्टा नै भारतमा बसेर नेपाल आएका चिनियाँ राष्ट्रपतिले यस्तो कडा चेतावनी दिन नेपाललाई नै उपयुक्त ठाउँ किन छाने ? यो महŒवपूर्ण प्रश्न हो, यही कुरा भारतमा छँदा पनि उनले भन्न सक्दथें। सीको नेपाल भ्रमणलाई लिएर भारतको आधिकारिक भनाइ केही आएको छैन। नेपालका बारेमा लेखिरहने भूराजनीतिज्ञ सी राजा मोहनले भारतीय पत्रिका इण्डियन एक्सप्रेसमा लेखेका छन्—नेपाल र चीनका बीचमा प्रष्ट विकसित हुन आएको बहुआयामिक सम्बन्धलाई दिल्लीले आगामी दिनमा सामना गर्नु पर्नेछ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण मन्त्रिमण्डल नै विमानस्थल पुगेर सीलाई अभूतपूर्व स्वागत गरे। दिल्लीको प्रभावबाट रणनीतिक स्वतन्त्रता खोजी गर्ने नेपालको चाहनालाई नेपाल विज्ञ राजा मोहनले चिन्ता व्यक्त गरेका छन्। पश्चिमी दुनियाले सीको नेपाल भ्रमण आफ्नै कार्यसूचीअनुसार व्याख्या गरेका छन्। जर्मनीको आधिकारिक समाचार संस्था डचेबेलेले नेपालमा सेलाउँदै गएको तिब्बतीहरूको विरोधलाई उल्लेख गरेको छ भने अमेरिकी टाइम म्यागेजिनले त्यसलाई उचालेको छ।

सी विचारधारालाई जब कम्युनिस्ट पार्टीका सबै तहका नेता र सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले प्रशिक्षण लिए। चीनको वर्तमान राजनीतिक प्रणाली र त्यहाँको मानव अधिकारको प्रश्नलाई लिएर आलोचनात्मक प्रश्न गरिरहेका पश्चिमी जगत्लाई नेपाल कम्युनिस्ट पार्टीले प्रजातन्त्रका प्रति व्यक्त गर्दै आएको प्रतिबद्धतामा शंका गर्ने कारण र आधार स्वयं सत्ताधारी दल र सरकारले दिएको छ।

चिनियाँ राष्ट्रपतिले हङकङमा चलिराखेको आन्दोलनलाई लक्षित गरेर जुन कडा चेतावनी दिए त्योभन्दा कडा चेतावनी नेपालले आजभन्दा ५२ वर्षअघि व्यहोर्नुपरेको थियो। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाको समयमा नेपालको भ्रमणमा आएका चीनका प्रधानमन्त्री चाउ एन लाइको भ्रमण र त्यसअघि भएको बीपीको चीन भ्रमणका अवसरमा नेपालप्रति ठूलो सद्भाव र आत्मीय सम्बन्धमा नै असर पर्ने गरी भएको त्यो घटना थियो—२०२४ सालमा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माओत्सेतुङको तस्बिर तोडफोड काण्ड। जननिर्वाचित सरकारका प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीहरूको गिरफ्तारी र राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर आफूलाई जननायक मान्दै राजा महेन्द्रले आफ्नो जन्मोत्सवलाई राष्ट्रिय पर्वको रूपमा मनाउन थाले। प्रदर्शनीस्थलमा विभिन्न स्टल राखेर जन्मोत्सवलाई भव्य बनाइन्थ्यो। प्रदर्शनी स्थलमा विभिन्न मित्रराष्ट्रका तर्फबाट पनि स्टलहरू राखेर आफ्नो मुलुकले गरेको प्रगति दर्शाइन्थ्यो।

२०२४ सालमा पनि प्रदर्शनीस्थलमा चिनियाँ दूतावासले मण्डप राखेको थियो। उक्त मण्डपमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता अध्यक्ष माओको फोटो राजा महेन्द्रको भन्दा धेरै ठूलो आकारमा राखिएको थियो झिलिमिली बत्तीले सजाएर। विद्यार्थीको एक जमातले अचानक चिनियाँ स्टलमा आक्रमण गरेर माओको फोटो तोडफोड गर्‍यो। माओका विरुद्धमा नारा लगाउँदै विद्यार्थी अघि बढे। प्रहरीले कहीं कतै हस्तक्षेप गरेन। उन्मादी विद्यार्थी जमातले माओविरुद्ध नारा लगाउँदै धर्मपथस्थित चिनियाँ पुस्तकालयमा आक्रमण गरेर केही पुस्तक सडकमा ल्याएर जलाइदिए। नजिकै जनसेवामा रहेका प्रहरीले कुनै हस्तक्षेप गरेन।

सीको भ्रमणको सन्दर्भमा नेपालमा तिब्बतीहरूको अनावश्यक प्रसंग उठाएर जुन समाचार पश्चिममा सञ्चारमाध्यमले प्रकाशित गरे, त्यसले पनि चिनियाँ राष्ट्रपतिले कडा प्रतिक्रिया दिने ठाउँ काठमाडौंलाई रोजेको हुन सक्छ।

राष्ट्रिय पञ्चायतका सदस्य हृषिकेश शाहका अनुसार पञ्चायत समर्थक विद्यार्थीको उक्त उच्छृंखल व्यवहारबाट क्रुद्ध भएर तत्कालीन चिनियाँ राजदूतले राजाका सचिवलाई फोन गरेर अहिले तुरुन्तै राजासँग भेट्न समय मिलाउन आग्रह गरे। राजाका सचिवले अहिले राती सम्भव छैन, भोलि राजासमक्ष जाहेर गरेर समय मिलाउने जवाफ दिए। त्यसलाई राजदूतले ठाडै अस्वीकार गरेर मलाई अहिले नै समय चाहिन्छ अन्यथा परिणाम राम्रो हुने छैन भन्ने धम्की दिए। चिनियाँ राजदूतको क्रुद्ध जवाफ सुनेपछि परिस्थितिको गाम्भीर्यतालाई ध्यानमा राखी सचिवले दरबार गएर राजालाई भृकुटीमण्डपको घटना र चिनियाँ राजदूतको धम्कीपूर्ण कुरा जाहेर गरेपछि राजा महेन्द्रले राजदूतलाई तुरुन्त नै बोलाउन सचिवलाई आदेश दिए। सचिवले फोन गरेर राजा भेट्न तयार छन् अहिले नै आउनु भनी राजदूतलाई भने।

विद्यार्थीको व्यवहारबाट उत्तेजित र क्रुद्ध भएका राजदूतले चिनियाँ जनताका महान् नेता चेयरम्यान माओको तस्बिर भारतीय दलालहरूले च्यातेका हुन्, तिनलाई तुरुन्त कार्बाही नगरे त्यसको परिणाम नेपालले भोग्नुपर्ने चेतावनी राजालाई दिए। घटना भएको भोलिपल्ट बेइजिङ रेडियोको हिन्दी सेवामा ‘भृकुटी मण्डपमें चिनियाँ जनताके महान नेता अध्यक्ष माओका तस्बिर प्रतिक्रियावादी भारतीय दलालके कुत्तोने तोडफोड करके अध्यक्ष माओका अपमान किया, उन कुत्तोको कडा कारबाही नेपालने नहिं कियातो नेपालको कडा प्रतिक्रिया भुगतना पडेग’ भन्दै चीनको कडा प्रतिक्रिया प्रसारण गर्‍यो।

भृकुटीमण्डमा जुन घटना भयो कुनै पनि राष्ट्रका लागि सहज हुने विषय थिएन त्यतिबेलाको चीनको निम्ति सह्य कुरा भएन। त्यतिबेला चीनमा रक्षामन्त्री लिन प्याओ र माओकी कान्छी श्रीमतीको नेतृत्वमा देशभित्र नै सांस्कृतिक क्रान्ति चलिरहेको थियो। आफ्नै राष्ट्रपति ल्यू साओ चि र प्रधानमन्त्री चाउ एन लाइविरुद्ध पनि प्रतिक्रियावादीको आरोप लगाउँदै विद्यार्थीको जुलुस निस्किन्थ्यो। माओको क्रान्तिकारी विचार विश्वभर निर्यात गर्न प्रदर्शनकारीको योजना थियो। चीनको सांस्कृतिक क्रान्ति भारतमा पनि लागू गर्न कम्युनिस्ट नेता कानु सन्यालको नेतृत्वमा पश्चिम बंगालको नक्सालवाडीमा व्यक्ति हत्या अभियान नै चलाइयो।

कानु सन्यालको अनुशरण गर्दै भारतको नक्सालवाडीसँग जोडिएको नेपालको झापामा पनि व्यक्ति हत्याको राजनीति सुरु भयो। सुरुमा कांग्रेसका कार्यकर्ता बुधन चौधरी र बिमलीलगायतका सातजना सर्वसाधारण मारिए। यस किसिमको आतंककारी गतिविधि हुँदा पनि प्रशासनले कडाइ नगरेपछि राष्ट्रिय पञ्चायतका सदस्य धर्मप्रसाद ढकालको उग्र कम्युनिस्टहरूले हत्या गरे। त्यसपछि नै प्रशासन गम्भीर भएर आतंककारी गतिविधि गर्नेहरूमाथि कारबाही सुरु भयो। रामनाथ दाहाल, नेत्र घिमिरेलगायतका पाँचजनालाई सुखानीको जंगलमा लगेर गोली हानी मारियो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, आरके मैनाली, सीपी मैनाली र मोहनचन्द्र अधिकारी पक्राउ परे। चितवन तेह्रथुम, सिन्धुपाल्चोक जिल्लामा ‘माओ चाउ नेपाल आउ, राजा महेन्द्र विदेश जाऊ’ जस्ता नारा लगाउनुका साथै माओको लकेट व्यापक रूपमा वितरण हुन थालेपछि राजा महेन्द्रको लकेट वितरण गरियो। पञ्चहरूले लकेट अनिवार्य लगाउनुपर्ने गरियो।

सायद त्यसैको प्रतिक्रिया हुन सक्छ भृकुटीमण्डपमा विद्यार्थीको आक्रमण। ससाना घटनामा पनि हस्तक्षेप गर्ने नेपाल प्रहरीले भृकुटीमण्डप काण्डमा वास्ता गरेन। विद्यार्थीहरूको उन्मादी जमात भृकुटीमण्डपबाट धर्मपथस्थित चिनियाँ पुस्तकालयमा पुगे र तोडफोडमा उत्रियो। केही किताब सडकमा ल्याएर जलाइयो। सोभियत समर्थक मानिने साप्ताहिक पत्रिका समीक्षामाथि प्रतिबन्ध लगाइयो। पञ्चायतसमर्थक अन्य पत्रिकामा कडा सेन्सरसीप लगाइछोडियो।

भृकुटीमण्डप काण्डप्रति चीनले त्यतिबेला जुन कडा प्रतिक्रिया व्यक्त गर्‍यो नेपालमा हुने हरेक गतिविधिलाई गम्भीरताका साथमा लिन्छ भन्ने कुरा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङमा भएका घटनामा पश्चिमी जगत्ले लिएको चासोलाई चीनले कति गम्भीर रूपमा लिएको छ भन्ने कुरा दर्शाउँछ। सीको भ्रमणको सन्दर्भमा नेपालमा तिब्बतीहरूको अनावश्यक प्रसंग उठाएर जुन समाचार पश्चिममा सञ्चारमाध्यमले प्रकाशित गरे। त्यसले पनि चिनियाँ राष्ट्रपतिले कडा प्रतिक्रिया दिने ठाउँ काठमाडौंलाई रोजेको हुन सक्छ। हाम्रो भूराजनीतिक संवेदनाले हामीलाई सधैं संवेदनशील भएर अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्ने सम्झाइराख्छ। राष्ट्रपति सीको भ्रमणलाई लिएर कम्युनिस्ट पार्टी र वर्तमान सरकार जसरी उत्ताउलो भएर अघि बढ्न खोजिरहेछन् त्यसरी नै अन्य राष्ट्रहरूबाट पनि त्यस किसिमका तरंग भविष्यमा पनि प्रदर्शित भइ रहनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.