काष्ठमण्डप पुनर्निर्माणमा काठ अभाव
काठमाडौं : मरु सत्तल (काष्ठमण्डप) को पुनर्निर्माणमा १२ हजार क्युफिट काठ अपुग भएको छ। हालसम्म चार हजार ३८ क्युफिट काठ प्रयोग भएको काष्ठमण्डप निर्माणमा बाँकी काठको प्रर्वद्धन गर्ने बाँकी छ। मंगलबार काष्ठमण्डप पुनर्निर्माण समितिले सार्वजनिक गरेको विवरणमा काठको प्रयोग चार ४ हजार क्युफिटमात्र भएको उल्लेख छ।
०७२ को भूकम्पले काष्ठमण्डप पूर्णरूपमा भगनावशेष भएपछि अहिले पुनर्निर्माण भइरहेछ। काष्ठमण्डप सिंगो रूखको काठले बनेको किंवदन्ती छ। भूकम्पपछि यसको पुनर्निर्माण काठबाटै बनाउन त्यति सजिलो भने थिएन। त्यसमाथि राम्रो काठको खोजी गर्नु त्यति नै महत्वपूर्ण विषय थियो।
२०७५ साउनमा मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको चार सय केबी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डप पुनर्निर्माणका लागि दिने निर्णय भएपछि काष्ठमण्डपको काम अघि बढेको थियो। त्यतिबेला काठकै खोजीमा काष्ठमण्डपको पुनर्निर्माणमा ढिलाइ भयो। अहिले यो समस्या पुन आइपरेको हो।
काठ छनोट गरी ल्याउन त्यति सजिलो नभएको भन्दै समितिका सचिव गौतम डंगोलले भने, ‘काष्ठमण्डपका लागि अझै काठको आवश्यकता छ, काठ पाउन त्यति सजिलो छैन।’
पहिलो चरणको काठ खरिदका लागि समितिले टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) मार्फत महोत्तरीको बर्दिबास टुटेश्वरनाथ साझा वन र गढता साझा वनसंग खरिदको सम्झौता गरेको थियो। दोस्रो चरणमा समितिले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण गर्दा काटिएको रुखलाई निर्माणमा प्रयोग गरेको छ।
तेस्रो चरणमा ल्याइने काठको विषयमा समितिमा छलफल भइरहेछ। सम्भवत प्रदेश ७ का जंगलबाट काठ ल्याइने समितिका सचिव डंगोलले जानकारी दिए। काष्ठमण्डप पुनर्निर्माणका लागि पुरातत्व विभागले १७ हजार क्युफिटसम्म काठ प्रयोग गर्न अनुमति दिएको छ। तर समितिले १५ हजार भन्दामाथि नजाने बताएको छ।
काष्ठमण्डप पुनर्निर्माणका लागि सबैभन्दा महत्वपूर्ण चारवटा मूल थाम पुस १७ गते काठमाडौं भित्र्याइएको थियो। पहिलेको महानगरीय प्रहरी परिसर हनुमानढोकामा करिब २५ फिटका १५÷१५ इन्चका काठ तयार पारियो।
०७५ माघमा चार ओटै मुलथाम ठड्याइयो। ०७६ जेठसम्ममा दोस्रो घेराको सबैतिर थाम राखियो। बाँकी यहि सालको भदौमा इन्द्रजात्राको अवसर पारेर काष्ठमण्डपका सबै थाम उठाइयो। आर्किटेक सुदर्शन राज तिवारीका अनुसार काष्ठमण्डपमा हालसम्म परीक्षण पश्चात नयाँ पुराना काठ प्रयोग भएका छन्। अहिलेसम्म पुनर्निर्माणमा राम्रै काम भएको छ’, तिवारीले भने, ‘प्रयोग गरिने काठ अझै परीक्षणमा पठाएका छौं।’
भूकम्पपछि बेलायतको डुरहम विश्वविद्यालयका अनुसन्धानकर्तासँगको सहकार्यमा काष्ठमण्डप उत्खन्न भएको हो। उत्खनन्का क्रममा काष्ठमण्डप सातौं शताब्दीमै बनेको निष्कर्ष निक्लिएसँगै काष्ठमण्डपको महत्व झनै बढेको छ। जनस्तरबाट मौलिक शैलीमा काष्ठमण्डपको पुनर्निर्माण गर्नुपर्ने आवाज आएपछि काठमाडौं महानगरपालिकाले सोही जनादेश अनुसार कार्य अघि बढाएको थियो। हाल पुनर्निर्माणको कार्य धमाधम भइरहेको छ।
प्रदेश ३ का सांसद राजेश शाक्यले एक वर्षमा काष्ठमण्डपको ५० प्रतिशत काम सकिएको बताएका छन्। ‘हामी अबको दुई वर्षमा काष्ठमण्डपलाई पुरा सकाउँर्छौं,’ अध्यक्ष शाक्यले भने। तर काठको अभावमा पुन निर्माणको समय पछि धकेलिने सम्भावना पनि देखिन्छ।
समितिका अनुसार १५ सय वर्ष पुराना काठ अझै प्रयोग गर्न सकिने अवस्थामा छन्। काष्ठमण्डपको मुल चार थाममा एक थाम पुरानै प्रयोग भएको छ भने दोस्रो तहमा २ र तेसा्रे तहमा ४ पुराना थाम प्रयोग भएका छन्। अहिलेसम्म चार सय रुख काष्ठमण्डपमा प्रयोग भइसकेको छ।