अपांगता भएकाका लागि बोसिया
बोसिया अपांगता भएका व्यक्तिले खेल्ने खेल हो । यो खेल सबै मानिसले खेल्न सक्छन् । तर नेपालको सन्दर्भमा १२ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाले धेरै खेल्छन् । यसमा ६/६ वटा नीलो र रातोे बल, एउटा सेतो टार्गेट बल गरी जम्मा १३ बल हुन्छन् । यो ह्विलचेयरमा बसेर खेलिने खेल हो । यो खेल एक /एक जना, दुई /दुई जना र तीन/तीन जनासँग खेलिन्छ । सामान्यतया यसमा उमेरको हदबन्दी हुँदैन । यो खेल सानै उमेरदेखि खेलाउन सकिन्छ ।
कस्ता व्याक्तिले खेल्छन् ?
यो खेल मस्तिष्क पक्षघात, (सीपी) सिबियर स्पाइनल, मस्कुलर डिस्ट्रोफी भएका व्यक्तिबीच खेलाइन्छ । सिबियर मस्तिष्क पक्षघात भएका बालबालिका अरूको सहयोग बिना यो खेल्न सक्दैनन् । मस्तिष्क पक्षघात भएका मानिसको थेरापी र कसरतबाट आयु लम्बिन्छ । मस्कुलर डिस्ट्रोफी रोग धेरै अभ्यास गर्दा पनि मस्तिष्क पक्षघात जस्तो आयु लम्बिँदैन । त्यसैल १२ देखि १६ वर्ष सम्मका बालबालिका बोसिया खेलमा धेरै छन् ।
यो खेल बिसी वान, बिस टु, बिसी थ्री र बिसी फोर गरी चारवटा क्याटागोरीमा खेलाइन्छ । बिसी फोरमा मस्तिष्क पक्षघात पर्दैन । विशेषगरी अरू बालबालिकाले खेल्ने खेलहरू खेल्न नसक्ने बालबालिका र कुनै पनि खेलमा सहभागी हुन नसक्नले बोसिया खेल खेल्न सक्छन् ।
नेपालमा यो खेलमा सहभागी भएका बालबालिकाको संख्या करिब पाँच सय छ भने प्रतिस्पर्धात्मक रूपमा करिब तीन सय जना छन् । अहिले यो खेलमा सहभागी भएका धेरै बालबालिका काठमाडौं उपत्यकामा छन् । सामान्यतया शरीर केही पनि नचल्ने, बोल्न पनि नसक्ने तर दिमाग ठीक छ र खेल बुझ्न सक्ने क्षमता छ भने १२ वर्षको खेलाडी पनि ३५ वर्षकोसँग खेल्न सक्छ । तर, विधा भने एउटै हुनुपर्छ । मनोरञ्जनात्मक रूपमा यो खेल जसरी पनि खेल्न सकिन्छ । तर अन्तर्राष्ट्रिय रूपमा सहभागी हुँदा खेलाडी ह्विलचेयरमा बसेर खेल्नुपर्छ ।
खेल्ने विधि
यो खेल दुई/दुई जनाबीच खेलियो भने चार राउन्डमा खेलिन्छ । चार राउन्डमा जम्मा पोइन्ट जसको बढी हुन्छ त्यो खेलाडी विजयी हुन्छ । प्रतियोगिता हुँदा एक टिम खेल्दा एक प्रतिस्पर्धीमा ६ वटा र अर्काे प्रतिस्पर्धीमा पनि ६ वटा बल हुन्छन् । निश्चित समयसम्म खेलेपछि पोइन्ट गन्ने काम चार राउन्डमा गरिन्छ ।
यो खेलको कोर्ट ब्याडमिन्टन कोर्टको साइजको एरियामा खेल्न सकिन्छ । बोसियामा कोर्टको साइज १२.५ मिटर लम्बाइ र ६ मिटर चौडाइ हुन्छ । यति क्षेत्रफलको कोर्टभित्र ६ जनासम्म खेल्न सकिन्छ । ६ वटा बक्सबाट खेलिन्छ । ६ जना खेलाडी खेल्दा ६ वटा बक्समा बस्छन् भने २ जना खेलाडी खेल्दा २ वटा बक्समा बस्छन् । यसमा भी लाइन हुन्छ र खेल्दा त्यो लाइन क्रस गर्नुपर्ने हुन्छ । बक्सबाट १.५ मिटर ठाउँ छाडेर भी लाइन बनाइन्छ । ६ वटा बल फाल्ने निश्चित समय हुन्छ । तर, नेपालमा भने निश्चित समयलाई ध्यान दिएर अहिलेसम्म खेलाउन नसेकेको बताउँछिन् नेपाल बोसिया संघकी संस्थापक अध्यक्ष गोमादेवी पौडेल ।
‘यो खेलमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा बोसियाको समयअनुसार खेल्नुपर्छ । रेड कार्ड र एल्लो कार्डको पनि व्यवस्था छ’ उनी भन्छिन् ‘त्यहाँसम्म भने हामी अझै पुग्न सकेका छैनौं । किनभने नेपालमा अझै पनि अपांगता भएका बालबालिकाले पनि खेल खेल्न सक्छन् भन्ने कुरा बुझाउन गाह्रो छ ।’
अपांगता भएका बालबालिका जसले खेलको नियम सजिलै बुझ्न सक्ने, उनीहरूले एक्सप्रेसन गर्न पनि सक्ने तर हात वा खुट्टाले केही गर्न सक्दैनन् भने पनि उनीहरूको लागि र्याम्प हुन्छ । जसले कुनै भागले खेल्न सक्दैनन् मुखले मात्र खेल्न सक्छन भने माउथ एड हुन्छ ।
बोसिया खेल्दा अभ्यास
अरू खेलमा चोटपटक लाग्ने सम्भावना हुन्छ । तर, यसमा त्यस्तो हुँदैन । यो खेल खेल्दा बालबालिकालाई कसरत हुुन्छ र मस्तिष्क पक्षघात भएकालाई थेरापी हुन्छ ।
जापानिज प्रशिक्षक आएर तालिम दिएपछि नेपालमा बोसियाको बल बनाउन सक्ने भएको बताउँछिन् पौडेल । उनी भन्छिन् ‘नेपालमा अहिले जसले बल बनाउँछन् ती मानिस पनि अपांगता भएका व्यक्ति नै हुन् ।’
पौडेल भन्छिन् ‘डेनमार्कको बल एक सेटलाई ५० देखि ६० हजारको हाराहारीमा पर्छ । जापानको बल झन् महँगो छ । ८ देखि १० हजार खर्च गरेर हामी अहिले नेपालमा बल बनाउन सक्ने भएका छौं ।’
बालबालिकालाई खेल्न कति सजिलो ?
यो खेल खेल्न सजिलो छ । मनोरञ्जन हुन्छ । हौसला बढ्छ । खेल्नलाई कुनै अप्ठ्यारो अवस्था हुदैन । बालबालिकालाई धेरै रमाइलो लाग्ने गरेको बताउँछिन् पौडेल । जो बोल्न सक्दैनन् तर इसारा र एक्सप्रेसन गर्न सक्छन, हिँड्न पनि आफैं सक्दैनन् तर खेल बुझ्छन् भने उनीहरूले अर्काे सहयोगी मानिसको माध्यमबाट खेल खेल्नुपर्छ । बोसिया खेलमा बिसी थ्री खेलाडी गेम खेल्दा सहयोगीले खेलाडीको इसाराअनुसार सहयोग गर्नुपर्छ ।
महँगो खेल
झट्ट हेर्दा केही पनि देखिँदैन । तर, खेल खेल्ने ठाउँमा अभिभावकको सहयोग बिना बालबालिका आउन नसक्ने बताउँछिन् पौडेल ।
उनी भन्छिन् ‘खेलमा आबद्ध अपांगता भएका बालबालिका सामान्य गाडीमा आउन सक्दैनन् । ट्याक्सीमा आउनुपर्छ । यस खेलमा आबद्ध भएका बालबालिकालाई ल्याउन ट्याक्सीले पनि मान्दैन । कुनै बालबालिका पैसाको अभावको कारण पनि सहभागी हुन नसक्ने अवस्था छ ।’
नेपालमा कसरी भित्रियो ?
यो खेल सन् १९८४ मा न्युयोर्क पारा ओलम्पिकमा प्रतिस्पर्धात्मक रूपमा खेलाइएको खेल हो । यसका ७५ वटा सदस्य संस्थाहरू छन् । यी संस्थाभित्र नेपाल अझै समावेश भइसकेको छैन । यसको महासंघ बेलायतमा छ । यो खेल नेपालमा सन २००६ मा जाइकाको सहयोगमा ‘अपांगता भएका व्यक्तिहरूलाई खेलकुदको माध्यमबाट कसरी समावेशीकरण गर्न सकिन्छ’ भन्ने विषयमा जापानबाट तालिम लिएर आएपछि पाटन सीबीआरमा सुरुमा खेलाइएको हो ।
अपागंता भएका बालबालिकालाई नेपालमा २०४८ देखि विशेष खेलकुदको सुरुवात भए पनि विद्यालय स्तरीय विशेष खेलकुदमा सबै प्रकारका अपांगता भएका बालबालिका सहभागी हुन सक्थे तर बोसियामा सहभागी हुने खेलाडी कुनै खेलमा सहभागी हुन सक्दैनथे । तिनै खेलाडीलाई लक्षित गरेर बोसियाको सुरुआत नेपालमा गरिएको बताउँछिन् पौडेल ।
उनी भन्छिन्, ‘समाजमा अपांगता भएका बालबालिकालाई खेलकुदको माध्यमबाट कसरी सामाजिकीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो खेलको सुरुआत गरिएको हो ।’
बोसिया खेललाई विदेशमा उच्चारण गर्दा बोच्चा पनि भन्ने गरिन्छ । बोसिया जस्तै अर्काे खेल छ बोचे । यो खेल बौद्धिक अपांगताको लागि हो । यो स्पेसल ओलम्पिकमा खेलिन्छ भने बोसिया पारा ओलम्पिकमा खेलिन्छ ।