३२ माथिको नेतृत्वप्रति सिटौला समूहको आपत्ति
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ माथिको नेतृत्व ल्यान लागिएको भन्दै कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताले आपत्ति जनाएका छन् । पार्टी नेतृत्वले विधान विपरीत ३२ वर्षमाथिको समिति ल्याउन खोजेको भन्दै यो समूहले आपत्ति जनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेतासँगको छलफलमा ३२ वर्षमुनिको समिति कुनै हालतमा ल्याउन नसकिने स्पष्ट पारेपछि सिटौला समूहका विद्यार्थीले संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
सभापति देउवाले महाधिवेशनबाट मात्रै उमेर हद लाग्ने भन्दै ४० नाघेका राजीप ढुंगानाको नाम तदर्थ समितिको संयोजकमा प्रस्ताव गरेका थिए । तर, संस्थापनइतर समूहले यो नाममा सहमति जनाएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीनिकट मनोजमणी आचार्यको नाम प्रस्ताव गरेका थिए ।
पौडेल पनि तदर्थ समितिमा उमेर हद लगाउनुपर्छ भन्ने पक्षमा छैनन् । तर, सिटौला र अर्जुननरसिंह केसी समूहले भने कुनै पनि हालतमा ३२ माथिको नेतृत्व ल्याउन नहुने अडान लिँदै आएको छ ।
लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरीत नेविसंघ तदर्थ ल्याउन लागेको सिटौला समूहका विद्यार्थीको आरोप छ । नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रहेको यो समूहले ३२ वर्षमुनिको समिति ल्याउन पहल गर्दै पटक-पटक सभापति देउवालाई भेट्दै आएका थिए।
पार्टीबाट अनुमोदन भएको नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेकाले फेरि ३२ माथिको नेतृत्व ल्याइए पार्टीविरुद्ध उत्रन बाध्य हुने नेविसंघ नेता सुशील भट्टले चेतावनी दिए।
'पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५-२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ,' उनले भने, 'अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दै गर्दा उत्तर के दिने ? विधान कार्यान्वयनमा गइसकेको अवस्थामा फेरि विधानविपरीत जाने काम भए हामी पार्टी नेतृत्वको खिलापमा जान पनि बाध्य हुन्छौँ ।'
गत २८ माघमा ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।