सीके राउतका चार कार्यकर्ताले पाए अदालतबाट सफाइ
राजविराज : सीके राउतले नेतृत्व गरेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई जिल्ला अदालत सप्तरीले सफाइ दिएको छ। छुट्टै स्वतन्त्र राज्य बनाउन नभई मधेशी जागरणको लागि कार्यक्रम गरेको प्रष्ट्याउँदै अदालतले गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएको हो।
जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलसले सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई सफाइ दिएको छ। ०७५ माघ ५ गते बालबालिकाहरुलाई पोस्टर टाँस्ने लगायतको कार्यमा सहभागी गराएको आरोपमा उनीहरुलाई सप्तरी प्रहरीले तिलाठी कोइलाडीबाट पक्राउ गरेको थियो।
विद्यालय जाने उमेरका बालबालिकालाई उक्साई प्रलोभनमा पारी पोस्टर टाँस्ने लगायतको कार्यमा सहभागी गराएको आरोपमा सप्तरी प्रहरीले ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा उनीहरुविरुद्ध कारवाही गरेको थियो। प्रहरीले बालबालिकाहरुलाई पोस्टर टाँस्न लगाउँदै गरेको अवस्थामा पोस्टर र ‘फ्रि मधेस’ लेखिएको व्यानर समेत बरामद गरेको थियो।
अदालतले कार्यक्रममा बालबालिकाको प्रयोग गरिए पनि नेपालबाट छुट्टै अलग मधेश राज्य बनाउन सक्ने हैसियतको क्रियाकलाप उनीहरुबाट नभएको भन्दै प्रहरीको अभियोग दावी नपुग्ने ठहर गर्दै सफाइ दिने फैसला गरेको हो।
जिल्ला अदालतले यसअघि फागुन २ गते जनही ५० हजार धरौटी राख्न दिएको आदेशबमोजिम रकम नबुझाउँदा आरोपितहरु पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। आरोपितहरु फागुन १२ गते धरौटी रकम बुझाएर रिहा भएका थिए।