नेपाल आइडलमय राजधानी (फोटो फिचर)

नेपाल आइडलमय राजधानी (फोटो फिचर)

तस्बिर : दिपेन श्रेष्ठ 

काठमाडौं : राजधानीको शान्तिनगरमा रहेको ईपीएस स्कुलमा बुधबार बेग्लै माहोल थियो। गीतसंगीतका पारखी सबेरैदेखि लामबद्ध थिए। कोही गोलाकार भएर समूहमा गीत गाउँदै थिए त कोही गितार बजाउँदै ताल मिलाउँदै थिए। संगीत पारखीको भीड थामी नसक्नुको थियो। व्यवस्थापनमा खटिएका स्वयंसेवक र प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।

नेपाल आइडल सिजन ३ को काठमाडौं अडिसनमा देखिएको दृश्य हो यो। स्कुल छेउको वातावरण आइडलमय बनेको थियो। अन्य जिल्लामा अडिसन दिन छुटेकाहरू पनि काठमाडौंमा सहभागी हुँदै थिए। विराटनगरकी सदीक्षा कट्टेल गत वर्षको नेपाल आइडलमा टप ३० मा पुगेर बाहिरिएकी थिइन्। यो बीचमा उनले संगीत सिकेर गायनलाई निरन्तरता दिइन्। भर्खरै मात्रै उनको आवाजमा रहेको आधुनिक गीत बजारमा आएको छ। काठमाडांै अडिसनमा गीत गाएर बाहिर निस्कँदै थिइन् उनी। सेलेक्ट भए नभएको थाहा भइसकेको थिएन। यसैले पनि होला उनको छट्पटी बढेको देखिन्थ्यो।

चितवनकी सुरक्षा रेग्मी बिहान ६ बजे नै ईपीएस स्कुलमा पुगिन्। दिउँसोको २ बजेसम्म पनि पालो आएको थिएन। अडिसनमा सफल हुने रहरले उनको भोक तिर्खा सबै बिर्साएको थियो। सुरक्षाले भर्खरै मात्रै बीबीएसको पढाइ सकाएकी हुन्। गीत लेख्न, गाउन र अभिनय गर्न अब्बल छिन् उनी। अडिसनमा उनले तीनवटा गीत सुनाइन्। आफैंले लेखेको गीत पनि जजलाई पनि मन पर्‍यो। सेलेक्ट हुनेमा ढुक्क देखिन्थिन् उनी।

झापा दमकका सिंगम दाहाल अडिसनको पहिलो राउन्डमा सफल भए। दोस्रो राउन्डका लागि तयारीमा थिए उनी। प्रतियोगीहरू पहिलो राउन्डमा सफल भएकाले दोस्रो राउन्ड र तेस्रो राउन्ड पार गरेपछि मात्रै फाइनल राउन्डमा पुग्न पाउँछन्। प्रमोद खरेलको तिमीसँग बोलको गीत गाएर उनले जजको मन जितेका थिए।

के वृद्ध, के युवा, के विद्यार्थी, के व्यवसायी या जागिरे नै किन नहुन् सबैलाई नेपाल आइडलको माहोलले छोएको थियो। हरेकलाई राम्रो गीत सुनाउनु थियो। धापासीका विक्रम लामा आफ्नी प्रेमिकासँगै लाइनमा उभिएका थिए। आफ्नै व्यवसाय सञ्चालन गरेका विक्रमकी प्रेमिका मिठो गीत गाउँछिन्। उनी भन्छन्, ‘उनको स्वरको त फ्यान नै हु म।’ संगीतमा रहर भएका तर व्यक्तिगत रूपमा सक्रिय हुन नसकेका संगीतप्रेमीलाई नेपाल आइडलले रातारात स्टार बन्न सक्ने अवसर दिने उनको विश्वास थियो। व्यक्तिगत रूपमा चर्चा कमाउन लामो समय लाग्नेलाई पनि नेपाल आइडल गतिलो प्लेटफर्म भएको उनको बुझाइ छ।

उदयपुरका रामकृष्ण राईले भर्खरै मात्रै इन्जिनियरिङको पढाइ सकाए। थप अध्ययनका लागि विदेश जाने सोचमा रहेका राईमा मिठो गीत गाउने कला छ। साथीको माझमा होस् वा कलेजको कार्यक्रम, उनले सबैको मन जित्ने गर्थे। उनी बिहान ८ बजेदेखि लाइनमा बसेर पालो पर्खंदै थिए। नेपाल आइडल अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो भएकाले पनि उनलाई आइडलमा सहभागी हुन मन लागेको हो। यस्तै नुवाकोटका राजेश प्रधान पनि कार्यक्रमस्थल अगाडि बसेर पप जनराको गीत गुनगुनाउँदै थिए। गीत गाउने रहर भएका प्रधानले औपचारिक रूपमा संगीत भने सिकेका छैनन्।

नेपाल आइडलको अडिसनमा अपांगता भएका व्यक्तिको पनि सहभागिता थियो। अडिसन स्थलमा झुरुप्प परेर एक जमात उभिएका थिए। भैंसेपाटीका उत्सव नेपाल, चितवनका नवराज ढकाल, पाटनकी अमला महर्जन साथी साथी हुन्। उनीहरू आँखा देख्न सक्दैनन् तर मिठो गाउँछन्। उनीहरूको समूहले निकै रमाइलो गरिरहेको थियो। रमाइलोका साथै आफूमा भएको प्रतिभा देखाउन अडिसनमा आएको बताउने उनीहरू स्कुल कलेजमा पनि गीत गाउने गर्छन्।

नेपाल आइडल अत्यधिक मन पराइएको रियालिटी सो हो। एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रममा कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्ह्यु वज्राचार्य निर्णायकको भूमिकामा छन्। नेपाल आइडलको तेस्रो सिजन कात्तिकको तेस्रो हप्तादेखि एपी वान टेलिभिजनमा प्रसारण सुरु हुने आयोजकले बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.