‘म भारतीय नागरिक होइन’
काठमाडौं : दोहोरो नागरिकता रहेको आरोप लागेका कांग्रेस नेता देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिक नभएको दाबी गरेका छन्।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्। कँडेलले आफूसँग भारतीय नागरिक भएको प्रमाण भेटिए सजाय भोग्न तयार भएको स्पष्ट पारे।
‘मैले भारतमै पढेको हुँ। त्यहाँ साथीकहाँ बस्ने गर्थेँ’, उनले भने, ‘तर, मैले भारतमा कुनै निर्वाचनमा भाग लिएको छैन।’ तर, लामो समय त्यहीँ बसेर पढेका कारण भारतीय सवारी चालक अनुमतिपत्र आफूसँग रहेको कँडेलले बताए।
भारतीय कलेज आर्यविद्या प्रचार समितिका अध्यक्ष भएको विषयमा कँडेलले नेपाली नागरिकले पनि उक्त पदमा बस्न मिल्ने स्पष्ट पारे।
आफ्नी हजुरआमाले स्कुल खोलेको र यसअघि बुबा पनि उक्त संस्थाको अध्यक्ष रहेको कँडेलले बताए। उनले सन् १९५० को सम्झौताका आधारमा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार भएको दाबी गरे।