उज्यालो सजाउँदै कोहार समुदाय

उज्यालो सजाउँदै कोहार समुदाय

भैरहवा : उज्यालोको पर्व तिहार नजिकिँदै गर्दा रूपन्देही रोहिणी गाउँपालिकाको धकधईमा कोहार समुदायलाई माटोको दियो (पाला) बनाउन भ्याइनभ्याइ छ।

कोहार समुदाय रहेको धकधईमा माटोको पाला, कोसा, घण्टीलगायत तिहारमा प्रयोग हुने सामग्री बनाउन व्यस्त छ। विशेषगरी तिहार लक्षित कारोबार मात्र हुँदा वार्षिक घर खर्चको जोहो र युवाको पढाइ खर्च जुटाउन उनीहरू पाला बनाउन व्यस्त छन्।

करिब ४० घर कोहार समुदाय रहे पनि यस टोलका ५० प्रतिशतले मात्र आफ्नो पुख्र्यौली काम गर्दै छन्।

धकधईका ६८ वर्षीय रामनरेश कोहारले यस वर्ष ४० हजार गोटा माटाका पाला तयार गरेका छन्। तिहारमा वर्षभरी पुग्ने खर्चको जोहो गर्नुपर्ने उनको बाध्यता छ। उनले गत वर्ष पाला बिक्री गरेर ४ गोन (६४ केजी) धान र २० हजार रुपैयाँ कमाएको बताए। उनले उमेर ढल्किँदै गएकाले विगतको तुलनामा कममात्र पाला बनाउने गरेको बताए। ‘१५ वर्षको उमेरदेखि माटोका भाँडा बनाउन सुरु गरेको हो’, उनले भने, ‘परम्पराका कारण बजार ठिकै छ।’

स्थानीय बजार मात्र नभई नारायणघाट, स्याङ्जा, पोखरासम्म माटोका सामग्री बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

कक्षा १० मा अध्ययनरत तेस्रो पुस्ताका सोहन कोहारले पालाबाट पढाइ र अन्य घरखर्चसमेत आउने हुँदा बिदाको मौका छोपी पाला बनाउन थालेको बताए। अघिल्लो वर्षसम्म उनका बाबु राधेश्याम कोहारले उक्त काम गर्थे। तर, बुवाको मृत्युपछि सम्पूर्ण जिम्मेवारी सोहनमाथि आइपरेको छ। उनले आफूलाई माटोको पालाबाहेक अरु केही बनाउन नआएकाले जेनतेन खर्च धानिरहेका बताए।

३७ वर्षीय साधे कोहारको अवस्था भने फरक छ। उनले व्यावसायिक रूपमा आफ्नो पुख्र्यौली पेसा अपनाएका छन्। माटोको भाँडा बनाउन खप्पिस उनले थरीथरीका सामग्री बनाई बिक्री गर्ने गरेका छन्।

तर, पहिलाजस्तै अहिले बिक्री गर्न सहज नभएको उनको भनाइ छ। बजारमा आकर्षक डिजाइनका विद्युतीय बत्ती र प्लास्टिकका भाँडाकुडा पाइन थालेपछि माटोका भाडाले बजार पाउन छाडेकाले पेसा संकटमा परेको उनी बताउँछन्।

बजारमा प्लास्टिक र विद्युतीय सामग्री मात्र हैनन्, स्थानीय स्तरमा पाइने सामग्री पाउन छोडेपछि कोहार समुदायको यो मौलिक पेसा नै विस्थापित हुने अवस्थामा पुग्न थालेको छ। उनीहरूका अनुसार सबैभन्दा महŒवपूर्ण कच्चा सामग्री माटो पाउन गाह्रो छ। माटोका भाँडा बनाएपछि त्यसलाई पोल्न दाउरासमेत पाइन छाडेको छ। पाइए पनि उस्तै महँगो रहेको कोहार समुदायको गुनासो छ।

मौलिक पेसा धान्न स्थानीय सरकारले उनीहरूका लागि केही नगरेको कोहार समुदायले गुनासो गरे। ९० देखि १ सय किलोसम्मको चकिया घुमाउनु पर्दा विद्युतीय चकिया जडान र माटो तथा दाउराको व्यवस्था सरकारले गरिदिए यो पेसाले गति पाउने स्थानीय रामदेव कोहारले बताए। धान, गहुँलगायत अन्य अन्न र नगदमा पनि बिक्री गरिने पालाले तिहारमा ५०-६० हजार आम्दानी हुने गरेको उनीहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.