खोटो सिक्का

खोटो सिक्का

हाम्रो देशमा अघिल्लो कालखण्डमा मुद्राका रूपमा तामा, पित्तल, चाँदी आदि धातुका सिक्का बढी चल्तीमा थिए। उतिबेला माल–अड्डामा बुझाउनका लागि असुल गरेको रकम बोरामा हालेर भरिया लगाएर लैजाने चलन थियो रे। कागतको नोटको चलन पछि आएको हो। आइसकेर पनि यसको त्यति चलन थिएन। धातुकै सिक्काको बढी चलन थियो। त्यसैले होला हाम्रो भाषामा पनि यसै किसिमको सिक्कासम्बन्धी शब्दावली प्रयोग हुने गरेको। खोटो सिक्का भन्ने शब्दको उत्पत्ति पनि त्यही क्रममा भएको होला। अहिले पनि धातुको सिक्काको प्रचलन समाप्तै भएको त छैन, तर त्यो नगण्य मात्रामा बाँकी छ।

नेपालमा कागतको मुद्रा बढी चल्तीमा भएको देखिन्छ। अझ विकसित देशहरूमा, एटीएम कार्डको प्रयोग बढी भएको पाइन्छ। यसका साथै विदेश घुम्ने धेरैजसोले क्रेडिट कार्ड बढी प्रयोग गरेको पाइन्छ। यसो गर्दा हलुंगो र छरितो पनि हुने र चोरी हुने डर पनि नहुने। केही महिना अघि मात्र आधा दर्जनभन्दा कम संख्यामा आएका चोरी गर्ने विदेशी गिरोहले करोडौं रुपैयाँ एटीएमबाट चोरी गरेको घटनाले नेपालमा यो पद्धतिकै विषयमा प्रश्नचिह्नसमेत उठेको थियो। जे होस्, नेपालमा पनि धातुको सिक्काको प्रयोग नै वर्जित हुने समय आएछ भने पनि खोटो सिक्का भन्ने नेपाली शब्दको महत्त्व र प्रयोग भने जारी नै रहनेमा भने कुनै सन्देह छैन।

खोटो सिक्काको शाब्दिक अर्थ हो– यस्तो सिक्का जो चल्दैन, जसको मूल्य नै हुँदैन। यो खोटो सिक्काको अर्थ त्यतिमा मात्र सीमित छैन, व्यापक छ। यसको प्रयोग नक्कली र सक्कली, मूल्य भएको र नभएको, देखावटी मात्र हो कि यथार्थ हो भन्ने तुलना गर्न सबै क्षेत्रमा यसको प्रयोग भइरहेको हुन्छ। यो शब्द नेपाली शब्दकोशमा यस्तो किसिमले स्थापित भएको छ कि त्यसको खोइ कसरी बयान गर्ने र ?

सत्ताधारी नेताहरूले भाषण गर्ने गरेका छन् , आखिर सबैले ल्याउन खोजेको गणतन्त्र थियो, त्यो आइहाल्यो।

नेपाली भाषामा मात्रै हो र, हिन्दी भाषाका लागि पनि यो शब्द नभइनहुने भइसकेको छ। हिन्दी भाषामा यसको प्रयोग ‘खोटा सिक्का’ का रूपमा हुन्छ। हिन्दी भाषामा त यो शब्दको नाम राखेर चलचित्र नै निर्माण भइसकेको छ। लेखरचनामा त यसको प्रयोग कति हो कति ?

खोटो सिक्काबारे चर्चा गरिरहँदा मैले धेरै पहिले कतै पढेको चुट्किलाको सम्झना भयो। धेरै पहिले काठमाडौंलाई नेपाल सहर भन्ने चलन थियो। त्यतिखेर पाकेटमारी खुब हुन्थ्यो रे नेपाल सहरमा। पैसा चोरी भएका मानिसको वेदनाको चर्चा निकै चल्ने गरेको रहेछ। एकजना भद्र मानिसले मनमनै सोचेछन्– साँच्चै सतर्क भइयो भने त कसरी पाकेटमारी हुँदो हो त ? विचारै गर्नुुुपर्‍यो भन्ने सोचेर उनले एउटा मोहर खल्तीमा हालेर सहर घुम्न निस्केछन्। उनी चटक देखाउने, गीत गाउने आदि भीडभाड हुने ठाउँदेखि लिएर सबै ठाउँमा घुमेछन्। बेलाबेलामा उनले आफ्ना पकेट छाम्दा रहेछन्, त्यो दाम त जस्ताको तस्तै छ।

उनलाई आफूप्रति गर्व भएर हो कि किन हो, साँझ पर्ने बेला भएपछि रानीपोखरीको छेउमा आइसकेपछि एकजना हिँडिरहेको अपरिचित मानिसलाई रोकेर आफ्नो जिज्ञासा राखेछन्, ‘मैले नेपाल सहरमा पाकेटमारी हुन्छ भन्ने धेरै सुनेको थिएँ। म आज सबेरै भात खाएर खल्तीमा दाम राखेर हिँडेको हिँड्यै छु। खोइ मेरो दाम कसैले चोरेको छैन। यहाँ पाकेटमारी हुन्छ भन्ने त हल्ला मात्रै रहेछ जस्तो लाग्यो।’ अर्को मानिसले सहजै जवाफ दिएछन्, ‘तपाईंको त्यो जाबो खोटो मोहर के कामका लागि लैजानू ? साँच्चैको चल्ने मोहर भए पो लैजानु ? ’ नभन्दै तिनको मोहर खोटो रहेछ। सहज अनुमान गर्न सकिन्थ्यो कि त्यो मोहर हेरीवरी खोटो रहेछ भनेर खल्तीमै छाडिदिइएको रहेछ।

खोटो सिक्कालाई त पाकेटमारले पनि लैजाने रहेनछ। त्यति मात्र होइन, माग्नेलाई दियो भने पनि खोटो सिक्का भन्ने थाहा पाएको भने दुइटा गाली गरेर त्यो मोहरलाई घुयेत्रो हानिदिने थियो होला ? कसैले खोटो सिक्का किन लैजाओस् ? त्यसको कुनै मूल्य नै केही पनि हुँदैन भने त्यसलाई बोकेरै पो किन हिँड्ने ? बोझ मात्रै।

राजनीतिमा पनि खोटो सिक्काको महिमा ठूलै छ। राजनीतिमा खोटो सिक्काले पनि बाजी मार्न सक्छ। खोटो हो भन्ने नबुझ्नेलाई त त्यो सक्कली नै भइहाल्छ नि। अनि त त्यसको मूल्य पनि पूरै आउने नै भयो। क्या मज्जा ! राजनीतिमा खोटो सिक्कालाई सद्दे भनेर चलाउने चलन व्यापकै बढेर गएको छ नेपालमा। यो व्यापार झन् फस्टाउँदै गएको छ। मानिसहरू कुन सद्दे र कुन खोटो भनेर छुट्ट्याउनेतिरै गएनन् भने अथवा छुट्ट्याउनै नसक्ने भए भने त राजनीतिमा यो ठगीको व्यापार त चल्ने नै भयो। सिक्का भनेको सिक्का नै हो चाहे त्यो खोटो होस् अथवा सक्कली। कुरा त उस्तै–उस्तै हो नि ! भन्ने हावा चलाउन सकियो भने त ठगीको व्यापार त मालामाल। यो कुरा त ‘हात्ती छाप चप्पल र हात्ती कुन बलियो, आमा ? उस्तै–उस्तै हो बाबु ! भन्ने हात्ती छाप चप्पलको विज्ञापनजस्तै भएन र ?

आज जुन संविधान छ, त्यसले भनेको समाजवाद छ, त्यसका निर्माताहरूले त्यसको व्याख्या गर्दा के भन्छन् भने जेजस्तो भए पनि आखिर समाजवाद त भनेको छ नि। त्यति भए त पछि पुगिहाल्यो नि। यसअघि कसैले भनेको थियो त ? त्यो भनाइ ठिक्क हात्ती छाप चप्पलको विज्ञापनभन्दा के फरक छ र ? ‘हात्ती र हात्ती छाप चप्पल उस्तै–उस्तै त हो नि बाबु’ भनेजस्तै भएन र ? यो भनाइ त आखिर सिक्का भनेको सिक्का नै हो, खोटो होस् कि सक्कली’ भनेजस्तै भएन र ?

निकै बुद्धिजीवी भन्नेहरू पनि आज चकित यस अर्थमा भएका छन् कि नेपालमा राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा पनि राजतन्त्र फाल्न महत्त्वपूर्ण भूमिका खेल्नेमध्येकाहरू नै किन यो गणतातन्त्रबाट सन्तुष्ट भएका छैनन् ? सत्ताधारी नेताहरूले भाषण गर्ने गरेका छन् :  आखिर सबैले ल्याउन खोजेको गणतन्त्र थियो, त्यो आइहाल्यो। यसको विरोध गर्नुको कुनै तुक छैन। आखिर गणतन्त्र भनेको त गणतन्त्र नै हो नि। कसैले ‘लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रमा कति फरक छ ? ’ भनेर प्रश्न गर्‍यो भने उनीहरूले जिब्रो चपाएर भन्ने गर्छन्, ‘उस्तै–उस्तै नै त हो नि।’ यो भनाइ ‘हात्ती र हात्तीछाप चप्पल उस्तै–उस्तै त हो नि’ भनाइसँग कति राम्रोसँग मेल खान्छ ?

आज नेपालको राजनीतिमा किन तुवालो लागिरहेको छ ? यसैकारणले कि धेरै मानिसले यो छुट्ट्याउन सकिरहेका छैनन् कि खोटो सिक्का कुन हो र सक्कली सिक्का कुन हो ? उनीहरू यो भनाइको पछाडि दगुरिरहेका छन् कि आखिर सिक्का भनेको सिक्का हो, चाहे जुनसुकै होस्, यसबारे किन चिन्ता लिइरहने ? ठीक यहींनेर खोटो सिक्का र सक्कली सिक्काको बीचको अन्तर छुट्ट्याउने र ती दुईबीचको अन्तर किन आकाश र पातालजत्तिकै छ भन्ने राम्रोसँग बुझ्ने विषयको धेरै ठूलो महत्त्व छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.