पूर्वीय संस्कृतिमा नारी

पूर्वीय संस्कृतिमा नारी

कानुन बनेर नै पो के हुन्छ जब हुनेखाने, ठूलाबडा र उच्च पदमा आसीन हुनेलाई बाउबाजेका पालाका संस्कार र आनीबानीले छाड्दैनन् भने


हिन्दु धर्म र दर्शनका बारेमा आद्योपान्त अध्ययन गर्दा महिला वैदिककालमा सम्मानित र पुजनीय रहेको पाइन्छ। जुन घरमा महिलाको सम्मान हुन्छ त्यहाँ ईश्वरको वास हुन्छ भन्ने मान्यता छ। भगवान् विष्णु, शिव र ब्रह्मासँगसँगै उहाँहरूका अर्धांगिनी लक्ष्मी, पार्वती र सरस्वती पनि उत्ति नै पुज्यनीय र सम्मानित छन्। यस्तो दृष्टान्त अन्य धर्ममा कमै पाइन्छ। हिन्दुधर्ममा अनगिन्ती देवीहरू छन् र तेत्तीस कोटीदेवताको संख्यामा पुरुष देवता मात्र नभएर देवीहरूको संख्या पनि त्यत्ति नै पर्दछ। वैदिककालमा महिलामा यति धेरै विकास भएको थियो कि विद्वान् लेखकहरूले त्यसबेला गार्गी, मैत्रेयी, कात्यायनी, घोषा, लोपमुद्रा, अपला र इन्द्राणी जस्ता विदुषीहरूको उपस्थिति रहेको जिकिर गरेको पाइन्छ। ती विदुषी महिला ठूला–ठूला सभाहरूमा उपस्थित भई शास्त्रास्त्र र वादविवादमा पुरुषसरह भाग लिने गर्दथे। गार्गीले ईशाकालभन्दा सात सय वर्षपूर्व राजा जनकको दरबारमा वादविवाद र शास्त्रास्त्र गर्न निम्तो पाएकीमा उनले यज्ञवल्क ऋषिजस्ता प्रकाण्ड विद्वान्सँग शास्त्रस्त्र गरेको उदाहरण छ। पाँच ऋषिपत्नीहरू अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीलाई पञ्चकन्याको रूपमा हिन्दु धर्ममा पुज्यनीय मानिएको छ। त्यस्तै सीता र सावित्रीप्रति पनि उनीहरूको सत्यवादी आचरणका कारण पुज्यनीय छन्।

यद्यपि वेदकालीन समयमा महिला स्वतन्त्र थिए भन्ने प्रायः लेखकले लेखनमार्फत स्वीकारेका छन्। त्यसबेला छोरीको बिहे तत्कालै गर्नेभन्दा पनि तिनको शिक्षातर्फ प्राथमिकता दिने प्रचलन थियो। प्रायः महिला वेद अध्ययन गरी प्रकाण्ड विद्वान् पनि हुने गरेका थिए। आत्रेयी भन्ने विदुषी जसले दक्षिण भारतमा गएर वेद र भारतीय दर्शनको गम्भीर अध्ययन गरेको कुराको जानकारी हुन आउँछ। वेदकालीन समयमा बिहे गरी घरजम गर्ने घरेलु महिलालाई सिद्धवधू भनी नामाकरण गरिएको थियो भने घरगृहस्थ छाडी धर्म गर्ने महिलालाई ब्रह्मनवधिनी भनिन्थ्यो। उनीहरूको पनि पुरुषसरह उपनयन गरिन्थ्यो र तिनले पित्रृ श्राद्ध पनि गर्दथे। वेदकालमा परिवारमा पिताको मुख्य भूमिका रहे पनि सो समयमा महिलाको विकासमा पनि पुरुषसरह सुविधा दिएको पाइन्छ।

हिन्दु धर्मजसरी नै अन्य धर्मको पनि अध्यापन गरी हेर्दा मुसलमानको सरियत र कुरानले यथार्थमा महिलालाई शिक्षा प्राप्तिमाथि रोक लगाएको देखिँदैन। सरियत बनेपछि इतिहासकार भन्छन्— मुसलमान महिलाले अरब मुलुकहरू र इथियोपियाजस्ता देशमा प्रशस्त शिक्षा हासिल गरेका थिए। बाह्रौं र तेह्रौं शताब्दीसम्म महिला पाठशालामा र उच्च शिक्षा हासिल गर्ने गर्दथे। भनिन्छ– स्वयं महिलाले विश्वविद्यालय अरब भूमिमा निर्माण गरेका थिए। फातिमा अल फेहरीले सन् ८५९ मा अरबमा विश्वविद्यालय खोलेकी थिइन् र अध्ययनका लागि महिलाकै प्रयासमा प्रशस्त मदरसाहरू पनि खोलिएका थिए। महिलाहरू बाह्रौं शताब्दीसम्म शिक्षा मात्र प्राप्त गर्दैनथे, रोजगारबाट पैसा पनि कमाउँथे। शैक्षिक प्रमाणपत्रसमेत प्राप्त गर्ने गरेका थिए। त्यस समयमा छोराछोरी दुवैलाई समान शिक्षा दिने प्रचलन थियो। महिलाहरू सेनाको नेतृत्व गर्दथे। कोही व्यापार गर्दथे भने कोही विद्वान् पनि। कोही स्वास्थ्योपचारमा संलग्न थिए भने कोही शिक्षिका। स्वयं महमदले मदिनामा महिलाले गरेको विकासबारेमा र तिनका विद्वताबारेमा प्रशंसा गरेका छन्। यथार्थमा अरब मरुभूमिमा मुसलमान महिलाले मध्ययुगसम्ममा ठूलो विकास गरेको भन्ने अध्ययनले बताउँछ।

सबै धर्ममा महिलाका हकमा कुनै पक्ष राम्रा पनि छन् भने संकीर्ण पनि देखिन्छन्। क्रिस्चियन धर्ममा विशेषगरी महिलालाई चर्चको पुजारी बन्न दिइँदैन। आधुनिक प्रोटेस्टेन्ड धर्मावलम्बीले यो कुरा स्विकार्छन् तर क्याथोलिक र पुराना प्रोटेस्टेन्डले भने यसलाई स्विकारेको देखिँदैन। बौद्धधर्ममा विशेषतः भिक्षुणी र अनारिकाहरू हुने गर्छन्। स्वयं भगवान् बुद्धका पालामा प्रशस्त भिक्षुणीहरूको संख्या रहेको पाइन्छ। भिक्षुसरह भिक्षुणीहरूलाई पनि बौद्ध शिक्षाबारेमा ज्ञान दिने गरिन्थ्यो। भिक्षुणीहरू असुरक्षित नहुन् भनी केही नियम बनाइएका थिए। भिक्षु र भिक्षुणीबीच व्यभिचार नहोस् भनेर वा संघमा भएका भिक्षुणीहरूको सुरक्षानिम्ति विचार पुर्‍याइएको थियो। सिखधर्ममा महिला र पुरुषलाई समान मानिन्छ र एउटै आत्मा हुन् भनिएको पनि छ। गुरु गोविन्द नानकले भनेका छन्, पुरुषका जन्मदाता महिला हुन् र जत्तिकै ठूलो मानिस पुरुष किन नहोस्, महिलाबाटै जन्मिएका हुन्छन्। महिला अस्तित्वको अभावमा न पुरुष जन्मिन्छन् न त महिला नै। तसर्थ सिखधर्ममा महिलालाई सबै धार्मिक कर्मकाण्डमा भाग लिन दिइन्छ।

आधुनिक युगमा महिलाको अवस्था वा हैसियत समाजमा कमजोर बनाउन धर्म र संस्कृतिको अपव्याखा गर्ने कार्यले ठूलो भूमिका खेलेको छ। वैदिककालमा महिलाले जुन स्वतन्त्रता पाएका थिए, त्यो निरन्तर कायम नरही समय बित्दै जाँदा पण्डित र पुरोहितको निहित स्वार्थका लागि शास्त्रको अपव्याख्या गर्दै महिला स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्य हुँदै आएको देखिन्छ। भनिन्छ– अहिले वैदिककालीन स्वतन्त्रता र सो समयको आत्मनिर्भरता हिन्दु महिलाबीच कायम छैन। तसर्थ त्यही स्वतन्त्रतालाई आधुनिक युगमा महिलाले पुनः दाबी गर्नुपर्ने स्थिति छ। महिलाको अधिकार र स्वतन्त्रतामाथि नियन्त्रण हुनुपर्ने कारणको दोष भारत वर्षमा मुसलमानबाट भएको आक्रमण र तिनीहरूबाट भएको महिलाविरुद्धका तत्कालीन हिंसा र दुव्र्यवहारको कारण पनि हो भनिन्छ। किनकि त्यसबेला आक्रमणका क्रममा हार्ने राज्यका महिलाविरुद्ध अपहरण, लुटपाट, बलात्कार तथा हिंसाका घटना प्रशस्त गराइएका थिए। त्यसपछि नै विशेष गरेर हिन्दु परिवारले छोरीको बिहेको उमेरलाई पूर्णतः घटाई बाल्यकालमै बिहे गराउन थाले। अर्थात् रजस्वलापूर्व कन्याहरूको बिहे हुन थाल्यो र तिनले बन्द चार दिवालभित्र बस्नुपर्ने बाध्यता बन्यो। छोरीलाई शिक्षा दिन छाडी घरभित्रै राखी घरेलु कामकाजको तालिम दिन थालियो। बहुबिहेको प्रचलन त्यहींबाट सुरु भयो। कारण युद्धमा असंख्य पुरुषहरूको हताहत भएपछि बिहे गर्ने युवाको संख्यामा कमी आयो। तसर्थ प्रशस्त मात्रामा जवान विधुवाको बिहे एउटै पुरुषका साथमा कयौं महिलाले गर्नुपर्ने विवशता बन्यो। त्यति मात्र नभई कुमारीले पनि बिहेको निम्ति वर नपाएपछि एउटै युवकले धेरै युवतीसँग बिहे गर्न थाले। ती सबै कुरा विस्तारै परम्परा वा संस्कृति नै बन्यो। त्यसै पनि आदि–अनादि कालदेखि सबै जातजातिको धर्म र संस्कृतिमा घटीबढी भए पनि पितृसत्तात्मक सोच त कायम थियो नै।

पितृसत्तात्मक चिन्तन अहिले पनि हाम्रो समाजबाट पूर्णतः हट्न सकेको छैन। विशेषतः हिन्दुहरूका हकमा भारत वर्षमा मुसलमानको आक्रमणपछि पति, पिता, छोरा र दाजुभाइको हैकम महिलाविरुद्ध अझ बढी कायम भएको हो। त्यसपछि महिलाहरू पढेर लेखेर विदुषी र आत्मनिर्भर हुनेभन्दा पनि बाँधा–बँधिनी, कमारी, झुमा, रखौटी, भित्रिनी र नगरबधू भनी विभिन्न तह र श्रेणीमा छुट्ट्याउने काम स्वयं यही समाजका पुरुषबाटै भयो। महिलाको यो नामाकरण र तह छुट्ट्याउने अनि तिनको हैसियत उठाउने र झार्ने काम पुरुष वर्गको निहित स्वार्थबाट भएका हुन्। यसरी समाजमा एउटै महिलावर्गको अनेक रूप र विविध अनुहार खडा हुन पुगेका हुन्।

वर्तमान युगमा आएर महिलाहरू एकातर्फ आधुनिकताका नाममा विज्ञापनका निम्ति साधन बनेको देखिन्छ। रक्सीमा महिलाको विज्ञापन, साबुन, अत्तर, तेल वा कुनै पनि उपभोग्य वस्तुमा महिलाको नग्न चित्र अंकित गरिन्छ, मानांै, महिला उपभोग्य वस्तु हुन्। तिनको नग्नचित्र र अंगको प्रदर्शनपछि मात्र उत्पादित वस्तु बिक्री हुन सम्भव होस्। यौनजन्य व्यवसायका निम्ति महिलाहरू अपहरणको सिकार हुने गरेका छन्। जागिर तथा रोजीरोटी उपलब्ध गराउने आश्वासनमा ओसारपसार गरी अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याएर बेचिएका छन्। वैदेशिक रोजगारका नाममा नेपालबाट मानव तस्करद्वारा ओसारिएका युवतीको हालत त्यही छ। रोजगारका नाममा ती अरबको मरुभूमि वा साहाराका मरुभूमि वा अफ्रिकी मुलुकमा पुर्‍याइएका छन्। अहिलेसम्म दुईचार लाखको संख्यामा महिला भारतका वेश्यालयमा जानीनजानी नारकीय जीवन भोग्न विवश छन् भने कतिपयले वैदेशिक रोजगारका नाममा विनाकारण अल्पायुमा मृत्युवरण गरेको उदाहरण छन्। महिला हकसम्बन्धी अन्तर्राष्ट्रिय कानुन जसलाई हाम्रो राष्ट्रले अनुमोदन गरी स्वीकार पनि गरेको छ वा मुलुकको कानुन र संविधानले महिला स्वतन्त्रताका सन्दर्भमा समावेश गरेका धारा, उपधारा र दफाहरू भए पनि व्यवहारमा कार्यान्वयन नभएसम्म त्यसको कुनै उपादेयता रहन्न।

महिला हक र स्वतन्त्रताका पक्षमा हामी जति भाषण गर्छौं तर व्यवहारमा कति महिला शिक्षित भई रोजगार प्राप्त गर्न सफल भए, कति आत्मनिर्भर छन् भनेर ध्यान दिने गरको छौं ? महिलाविरुद्ध हुने हिंसा वा घरेलु हिंसाबाट प्रताडित महिलाको संख्यामा कति न्यूनीकरण भएको छ वा छैन यसतर्फ चिन्तन गर्न सकेका छैनौं। जब महिला बाटोघाटोमा हिँड्दा सुरक्षित छैनन्, आम महिला बलात्कारको वारदातबाट प्रताडित हुन्छन् वा बराबर हत्याहिंसाको सिकार हुने गर्छन् भने त्यस्तो अवस्थामा संविधान र कानुनले महिलालाई प्रत्याभूति गरेको स्वतन्त्रताको कुनै अर्थ रहँदैन। यथार्थमा जुन मुलुकमा कमजोर वर्गको सुरक्षामा सरकारले व्यापक ध्यान पुर्‍याएको हुन्छ, त्यहाँ शान्ति कायम हुन सम्भव हुन्छ। विकासको सम्भावना पनि हुने गर्छ। महिलाविरुद्ध हुने घरेलु हिंसा, हत्या, यौनजन्य हिंसा बलात्कारजस्ता वारदात त्यस्ता मुलुकमा विशेष हुने गरेका छन्, जहाँ द्वन्द्वरत अवस्था छ, युद्ध वा गृहयुद्ध रहेको हुन्छ अर्थात् जुन मुलुकमा अराजक अवस्था वा अशान्ति हुन्छ त्यहाँ बढीभन्दा बढी यस्ता वारदात हुने गर्दछन्। अन्यथा विकसित मुलुकमा महिला सुरक्षाको सन्दर्भमा भरसक प्रयास गरेको देखिन्छ। एकथरी पुरुष वर्ग संसारमा यस्तो पनि देखियो, जो महिलालाई क्रयविक्रयमा पारी तिनको शारीरिक र मानसिक शोषण गर्छन्।

ठूला–ठूला पदमा आसीन पुरुष व्यक्तित्व बाहिर आफूलाई आदर्श देखाउने तर व्यवहारमा महिलालाई पीडा दिई पीडकको भूमिका निर्वाह गर्ने चरित्र भएकै कारणबाट यस्ता पुरुषको व्यवहारको पर्दाफास गर्न अहिले महिलाले संसारभर मि–टुको अभियान चलाई नेतृत्व दिन पुगेका हुन्। मि–टु अभियान पश्चिमा मुलुकबाट सुरु भई भारतमा पनि चल्यो। त्यहाँ दोष लगाइएका पुरुषमाथि मुद्दा चले, अनुसन्धान भए, सफल÷असफल जेसुकै होस् तर पुरुषबाट यौनजन्य दुव्र्यवहार भएकै कारण प्रताडित महिलाको इज्जत जाने तर प्रताडित गर्ने पीडक पुरुष सदैव चोखो रहने सामाजिक अवधारणामाथि भने प्रहार भएको छ।

नेपालमा पनि केही मात्रामा भए पनि मिटुका सत्यतथ्य घटना प्रकाशमा आएका छन् तर कारबाही र अनुसन्धानको संख्या भने शून्य छ। व्यवहारमा उच्च ओहोदामा बस्नेहरूले घरमा विवाहिता पत्नी हुँदाहुँदै पनि अरू महिलासँग नाजायज सम्बन्ध राखेका चर्चामा रहेको सुनिन्छ। ५६ वर्षअघि नेपालबाट बहुबिहे कानुनद्वारा नै हटेको भए पनि व्यवहारमा भने पूर्णतः हटिसकेको भने छैन। गरिबलाई ऐन धनीलाई चैन भनेजस्तै यो ऐनले हुनेखानेलाई फरक पारेको पनि छैन। कानुन बनेर नै पो के हुन्छ जब हुनेखाने, ठूलाबडा र उच्च पदमा आसीन हुनेलाई बाउबाजेका पालाका संस्कार र आनीबानीले छाड्दैनन् भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.