नेकपाका नेताले गरे जाजरकोट कुटपिटको भर्त्सना
जाजरकोट : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहले आफुहरुमाथि भएको कुटपिटको भर्त्सना गरेका छन्। प्रेस संगठनले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आचार्य र सिंहले घटनाको भर्त्सना गरेका हुन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आफुहरुमाथि आक्रमण गरेको भन्दै उनीहरुले भर्त्सना एवं निन्दा गरेका छन्। गत बुधबार पार्टीको कामको सिलसिलामा बारेकोट जाने क्रममा सोही गाउँपालिका-८ लैखम नजिकैको भीरमा उनिहरुलाई विप्लवका कार्याकर्ताले कुटपिट गरेका थिए।
‘यो घटना अन्तिम होस्, यसै पत्रकार सम्मलेलनमार्फत् अपिल गर्दछु, यस्तै गतिविधि कायमै रहे प्रतिवाद पनि हुन्छ मुकाविला पनि हुन्छ’, नेता आचार्यले भने,‘विप्लव नेकपा पार्टीलाई प्रतिबन्ध लगाएको नभई उनीहरुका अराजक र अपराधिक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो।’
आफुहरुमाथि आक्रमण गर्नेलाई व्यक्तिगत रुपमा मुद्धा नलगाउने बताउँदै उनले कारवाहीको जिम्मा राज्यको भएको प्रष्ट पारे। आक्रमण एकदमै गैरराजनीतिक र अमानविय भएको भन्दै नेता आचार्यले घटनाको विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थाहा पाउँदा आश्चार्य लागेको बताए।
सत्तारुढ नेकपाको जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा एवं भर्त्सना गरेका छन्। विप्लव नेतृत्वको नेकपा जाजरकोटका ईन्चार्ज प्रेमप्रकाश वली धमिलले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको र दाङमा हालै २१ जना कार्यकर्ता गिरफ्तारीको विरोधमा सत्तारुद्ध दललाई गाँउ जान रोक लगाइएको बताएका छन्।