प्रथम मेयर कपको उपाधि सूर्यतारा फाउण्डेसनलाई
बाजुरा : बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रको बुढीनन्दा नगरपालिका कोल्टिले आयोजना गरेको जिल्लाकै सर्वाधिक धनराशीको प्रथम मेयर कपको उपाधी सूर्यतारा फाउन्डेसन कोल्टीले हात पारेको छ ।
नेपाल प्रहरीलाई १÷० गोल अन्तरले पराजित गर्दै सूर्यताराले प्रथम मेयरकपको उपाधी हात पारेको बुढिनन्दा नगरपाकिलाकाले जानकारी दिएको छ। २४ टिम सहभागी खेलमा सूर्यताराले पाण्डुसैन फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । उपाधीसँगै सूर्यताराले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ ।
घरेलु मैदानमा आयोजित खेलमा सूर्यताराले खेलमा अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो । स्वामिकार्तिक फुटबल क्बललाई प्यानाल्टी सुटआउटमा हराएर फाइनलको यात्रा तय गरेको नेपाल प्रहरी उपविजेता बनेको छ।
पहिलो हाफमा सूर्य ताराले लिएको १ गोलको अग्रतालाई बराबरी गर्न नसक्दा प्रहरी उपविजेतामै चित्त बुझाउन बाध्य भएको हो । उपविजेता बनेको जिल्ला प्रहरी कार्यालय बाजुराको तर्फबाट सहभागी नेपाल प्रहरीले ८८ हजार ८ सय ८८ नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ ।
असोज २८ गतेबाट सुरु भएको खेल ११ दिनसम्म चलेको थियो । बुढीनन्दा नगरपालिका मेयर कप जिल्लामा आयोजना गरिएको सबैभन्ढा बढी धनराशीको फुटबल प्रतियोगिता हो । गौमुल र स्वामिकात्र्तिक फुटबल क्लबलाई विजेताको दाबेदार मानिएपनि गौमुल क्वाटर फाइनलबाटै आउट भयो भने, स्वामिकात्तिक सेमिफाइनबाट बाहिरिएको हो ।
जिल्लाकै प्रतिष्ठित खेलको रुपमा हेरिएको खेलमा जिल्ला बाहिरबाट पनि खेलाडी सहभागी थिए । फाइनल खेलमा गोल गर्ने विजेता सूर्यताराका सायल विष्ट म्यान अफदी म्याच बने । उदयमान खेलाडीको उपाधीबाट रारा स्पोर्ट्स क्लबका गौरव रावत सम्मानीत भए । खेलमा सेमी फाइनलबाट बाहिरिएको स्वामिकात्र्तिक फुटबल क्लबका प्रितम खड्का उत्कृष्ट गोलकिपर बने।
यस्तै खड्का नेपालगञ्ज ११ को टिमबाट फुटबल खेल्छन् । खेलमा उपविजेता नेपाल प्रहरीका कप्तान धनराज थापा उत्कृष्ट मिडफिल्डर र नेपाल प्रहरीकै सुनिल धामी उत्कृष्ट डिफेन्डर बने ।थापा नेपाल प्रहरीमा कार्यरत छन् भने धामी बिडिभिजन खेलसँग आवद्ध छन् । खेलमा सर्वाधिक गोल कर्ताको रुपमा विजेता सूर्यताराका उमेश रेग्मी सम्मानीत भए । रेग्मीले खेल अवधिभर व्यक्तिगत ९ गोल गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सूर्यताराकै जीवन नेपाली बने । नेपाली सूर्यताराका गोल किपर हुन् । यस्तै अनुशासित टिमका रुपमा क्रियटर जोन ऐकेडेमी सम्मानीत भयो भने उत्कृष्ठ टिम व्यवस्थापकको रुपमा नेपाल प्रहरीका व्यवस्थापक प्रहरी निरीक्षक जनक ढुंगाना बने ।
खेलमा उत्कृष्ट टिम कोचका रुपमा हेमराज थापा सम्मानित भए। डिभिजन तहका खेलमा आवद्ध खेलाडी सहभागी खेलले जिल्लाको खेल क्षेत्रमा नयाँ आयम थपेको भूमिसुधार सहायक पूर्वराज्यमन्त्री जनकराज गिरीले बताए।
खेलका प्रमुख अतिथि समेत रहेका गिरी र बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले विजेता र उपविजेतालाई मेडल, प्रमाण पत्रसहित चेक हस्तान्त्रण गरे।