गायक पक्राउ प्रकरण : गोकुल बाँस्कोटा भन्छन्, ओपन सुन्नुस्, कति सामर्थ्य राख्नुहुन्छ?
काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुन्नै नसकिने गीतका गायक पक्राउ परेको भन्दै प्रहरी कदमको बचाउ गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री बाँस्कोटाले गायक पक्राउ गर्ने प्रहरी कदमको बचाउ गरेका हुन्। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले गायक दुर्गेस थापा र भिटेन (समीर) लाई पक्राउ गर्ने प्रहरी कदमको बचाउ गरेका हुन्।
उनले गीतमा पनि अनुशासन चाहिएको उल्लेख गरे। ‘हामीले गाउनै नपाउने भनेका छौं र ? तपाइँहरु आफै परिवारसँग बसेर तिनले गाएका कुरा ओपन सुन्नुस न त, कति सामर्थ्य राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ? कतै मुख छोप्नुपर्ने हुन्छ कि ?’, उनले प्रश्न गर्दै भने, ‘कलाकारिता समाजको ऐना हो, यो समाजको इतिहास पनि हो, कुनै पनि समाजको मूल्य पद्धति हुन्छ, त्यसैले त्यसलाई भत्काउने कोशिस नगरौं।’
अराजकतालाई कुनै पनि हालतमा सरकारले छुट नदिने मन्त्री बाँस्कोटाले प्रष्ट पारे। ‘त्यसलाई छुट दिन सकिन्न, यहाँ अराजकता होइन अनुशासन चाहिएको छ’, उनले भने, ‘समाजका विभिन्न चरणहरु हुन्छन्, अहिलेको नेपाली समाज जंगली त होइन, जहाँ जसले जे बोलेपनि हुन्छ, जे गरेपनि हुन्छ ? कुनैपिन देशमा त्यसो गर्न पाइँदैन नि !’