नेकपा एकीकृत भइसकेको छैन : वामदेव गौतम
ललितपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा अहिले पनि सम्पूर्ण रुपमा एकीकृत भइनसकेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले शुक्रबार जाउलाखेलमा आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विषेश अतिथिका रुपमा उपस्थित भएका गौतमले नेकपा अनेक प्रकारका चुनौती समाना गर्दै यहाँसम्म आइपुगेपछि अझै एकीकृत हुन नसकेको उल्लेख गरे । ‘पार्टी एकीकरण गर्ने प्रकृया सोचे भन्दा लम्बियो’ उनले भने ‘अझै हाम्रो पार्टी एकीकरण भइसकेको छैन ।’
नेकपाले आफ्ना पार्टी सदस्यलाई पनि संगठित बनाउन नसकेको उनको भनाइ छ । नेकपाको केन्द्रीय, स्थायी कमिटी, सचिवालय, ७७ जिल्ला कमिटी तथा ७५३ पालिकामा २० देखि २५ हजार जति पार्टी सदस्य संगठित भएका छन् । ‘हाम्रो पार्टीका आठ लाख पार्टी सदस्यलाई छन् र उनीहरुलाई संगठित गर्न सक्नुपर्छ ’ गौतमले भने ‘त्यसपछि जस्तोसुकै भ्रम चिर्न सक्छौँ।’