मरिण गाउँपालिकाका सबै वडा सचिवविहीन
कपिलाकोट (सिन्धुली) : सिन्धुलीको मरिण गाउँपालिकाका सबै वडा कार्यालयमा सचिवविहीन छ।
सरकारले पटक–पटक गरी कर्मचारी समायोजन गरे पनि मरिण गाउँपालिकाका वडा कार्यालयहरूमा भने सचिव पठाउँन नसक्दा अढाई वर्षदेखि वडा कार्यालयहरू सचिवविहीन भएका हुन्।
नेपालको संविधान २०७२ अनुसार २०७३ फागुन २७ गतेबाट साविक कपिलाकोट, कल्पवृक्ष र महादेवस्थान गाविसलाई समेटेर मरिण गाउँपालिकाको गठन भए पनि वडा कार्यालयका लागि दरबन्धीअनुसारको सचिव नपाएको उक्त गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।
गाउँपालिकामा जम्मा ७ वटा वडा कार्यालयहरू रहेका छन्। तर, ती सबै वडा कार्यालयहरू सहायक स्तरका कर्मचारीको भरमा स्थापनादेखि नै संचालन हुँदै आएको उनले जनाए। यस्ता वडा कार्यालयको सचिव सुब्बास्तरको हुने व्यवस्था छ। ‘तर, संघीय सरकारले गाउँपालिकामा खरदारस्तरका समेत कर्मचारी पठाउन नसक्दा अहिले सहायक स्तरका कर्मचारीहरूको भरमा वडा कार्यालय संचालन गर्नु पर्ने बाध्यता छ’, उनले थपे।
दरबन्धीअनुसारका सचिवहरू नहुँदा स्थानीय सरकारले चाहेअनुसारका काम गर्नसमेत नसकेको अध्यक्ष बम्जनको दुखेसो छ। ‘कतिपय निर्णयहरू कार्यान्वयन गर्ने र काम गर्ने शिलशिलामा तल्लो तहका कर्मचारी मात्र हुँदा समस्या हुँदो रहेछ’, उनले भने, ‘हामीले प्रदेश र संघीय सरकारलाई पटक–पटक दरबन्धीअनुसारका कर्मचारी पठाई दिन आग्रह गर्दा पनि सुनुवाई भएको छैन।’
स्थानीय तह लागू हुँदा ७ वटा वडामध्य तीनवटा वडामा खरदार र सुब्बा सो सरहका कर्मचारी भए पनि दुई जनाको अवकाश भएको र एक जना संघमा सरुवा भएर गएपछि वडाका सम्पूर्ण कामहरू सहायक कर्मचारीहरूले गर्दै आएको बताइएको छ।