कांग्रेस भ्रातृ संस्था लथालिंग

कांग्रेस भ्रातृ संस्था लथालिंग

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नौ महिनादेखि विघटित अवस्थामा छ। कांग्रेसको ‘नर्सरी’ नेविसंघ गठनका लागि पार्टी शीर्ष तहमा निरन्तर छलफल भइरहे पनि टुंगोमा पुग्न सकेको छैन।

एक साताअघि पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरे। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसमा असहमति जनाउँदै पूर्वमहामन्त्री मनोजमणि आचार्यको नाम अघि सारे। सभापति देउवाले नेविसंघको नेतृत्व ढुंगानालाई नै दिने निश्चितजस्तै छ। तर, गुटका कारण उनले निर्णय लिइसकेका छैनन्।

कांग्रेसको अर्काे भ्रातृ संस्था नेपाल तरुण दलले पूर्णता नपाउँदै कार्यकाल सकिने अवस्थामा पुगेको छ। तीन वर्ष कार्यकाल रहेको तरुण दलको वर्तमान कार्यसमितिको पदावधि यही महिना सकिँदैछ।

९५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको तरुण दल अहिले चारजना पदाधिकारीको भरमा छ। भागबन्डा नमिल्दा तरुण दलले पूर्णता नपाएको हो। चार सदस्य रहेको दलमा अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई कारबाही गरेपछि दल अहिले तीन जनामा सीमित छ।

कांग्रेस शीर्ष तहमा मौलाएको गुटको प्रभाव भ्रातृ संस्थामा पनि बढ्दो छ। पार्टीको केन्द्रीय तहमा रहेका नेताले भ्रातृ संस्थामा पनि गुट बनाउने प्रवृत्तिका कारण संगठन अस्तव्यस्त छन्। ‘केन्द्रमा तीनवटा गुट देखिए पनि भ्रातृ संस्थामा केन्द्रीय नेतापिच्छे गुट छन्। प्रत्येक नेताका आआफ्ना मान्छेको गुट निर्माण गरेका छन्, भ्रातृ संस्थामा’, नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महर भन्छन्, ‘अनुशासनहीनता हाबी छ, संगठन नेतृत्वको निर्देशन मान्ने भन्दा पनि पार्टीका नेताको निर्देशनमा चल्ने र संगठनलाई निष्प्रभावी बनाउने काम भएको छ।’ भ्रातृ संस्थाहरू नेताको गुटको संघका रूपमा परिणत भइरहेको महरको बुझाइ छ। ‘अराजकता चरम छ, भ्रातृ संस्थामा आफ्नो गुट बनाएर केन्द्रमा शक्ति प्रदर्शन गर्ने गलत मनशायबाट नेताहरू सञ्चालित छन्’, उनले भने, ‘गुटको राजनीतिबाट शक्ति आर्जन गर्ने र केन्द्रमा स्थापित हुन खोज्ने नेताहरूको प्रवृत्तिका कारण भ्रातृ संस्थाले काम गर्न सक्ने अवस्था रहेन अब।’

पार्टी केन्द्रको गुटको प्रत्यक्ष असर भ्रातृ संस्थामा पर्दा न उनीहरूको नियमित बैठक बस्ने गरेको छ, न समयमै अधिवेशन। यसले लोकतान्त्रिक पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर देखाउने गरेको छ। भ्रातृ संस्थामा आफूअनुकूल नेतृत्व ल्याउन र उनीहरूकै शक्तिमा पार्टीमा प्रभाव बढाउन खोज्ने नेताहरूका कारण अनुशासनहीनता बढ्दै गएको छ।

संगठनभित्र अनुशासनविपरीत काम गर्नेलाई केन्द्रकै नेताहरूको संरक्षण हुने हुँदा सहजै कारबाही भएको पनि पाइँदैन। ‘पार्टी कब्जा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने ध्येय नेताहरूमा छ। उहाँहरूलाई पार्टी बलियो बनाउने, संगठन सुदृढीकरण गर्नेभन्दा पनि जसरी हुन्छ, पार्टीमा आफू स्थापित हुने मानसिकता हाबी छ’, कांग्रेसका पुराना नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले अन्नपूर्णसँग भने, ‘यसले पार्टीलाई भ्रष्टीकरणतर्फ लगेको छ। संगठन क्षयीकरणतर्फ उन्मुख छ। यो चिन्ताको विषय हो।’

कांग्रेसमा सबैजसो भ्रातृ संस्थामा गुट हाबी छ। गुटकै कारण भ्रातृ संस्थाहरू चलायमान हुन सकेका छैनन्। ‘वडा तहबाटै नेताहरू गुट निर्माण गर्न थाल्छन्, राम्रा मान्छे होइन, पकेटका मान्छेहरू नेताहरूको रोजाइँमा पर्छन्’, पूर्वसभामुख रानाभाट भन्छन्, ‘राजनीतिमा वैरभाव हुँदैनन्, प्रतिस्पर्धा हुन्छ। पैसा र गुट नभएका मान्छेहरू राजनीतिमा टिक्न गाह्रो भइसक्यो। इमानदार मान्छेहरू राजनीतिबाट उदासीन बन्दै छन्। यसले अन्ततः संगठनमा अराजकता ल्याउँछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.