दुर्घटना बढ्दो

दुर्घटना बढ्दो

काठमाडौं :  – भदौ ३१ गते राति ९ बजे कलंकीबाट स्वयम्भू जाँदै गरेको लु. ५४ प ४४९५ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्‍यो। राति दुर्घटना भएकाले सवारी चाप धेरै थिएन। दुर्घटनामा चालक गम्भीर घाइते भए। ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकलको गति अत्यधिक भएर दुर्घटना भएको हो।

– असोज २ गते अपराह्न ४ः१५ बजे ना. ७३ प ५५७० नम्बरको मोटरसाइकल थिमी जाँदै थियो। सडकको छेउ च्यापेर पैदलयात्री मोटरकै दिशामा हिँडिरहेका थिए। मोटरसाइकलको गति ज्यादा हुँदा उनी दुर्घटनामा परे। मोटरसाइकल चालक र पैदल यात्रु दुवै गम्भीर घाइते भए।

पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेको छ। सवारी दुर्घटनामा धेरै मोटरसाइकल र स्कुटर पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ। पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा मोटरसाइकल र स्कुटरको दुर्घटना बढ्दै गएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ०७१/७२ मा दुर्घटना हुने मोटरसाइकलको संख्या तीन हजार दुई सय ५२ थियो। ०७२/७३ मा यो संख्या बढेर तीन हजार ६ सय ७१ पुग्यो। ०७३/७४ मा केही घटेर ३ हजार ३ सय ४९ मोटरसाइकल दुर्घटना भए। ०७४/७५ मा आइपुग्दा झन्डै आठ सय हाराहारीमा दुर्घटना बढ्यो।

यस आर्थिक वर्षमा ४ हजार ६५ मोटरसाइकल दुर्घटना भए। गत आवमा दुर्घटना संख्या ५ हजार नाघ्यो। अघिल्लो वर्षको तुलनामा लगभग १५ सय संख्यामा दुर्घटना बढ्यो। यो पछिल्लो पाँच वर्षकै सबैभन्दा उच्च हो। गत वर्ष पाँच सय ११ मोटरसाइकल र स्कुटर दुर्घटनामा परे। यस आर्थिक वर्षको सुरुमै १५ सय ८८ मोटरसाइकल दुर्घटनामा परे।

मोटरसाइकल दुर्घटनामा मृत्युहुने दर पनि बर्सेनि बढ्दो छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ०७३/७४ मा ४१ मोटरसाइकलले दुर्घटनामा मानिसको मृत्यु गराएका थिए। ०७४/७५ मा ६८ तथा गत वर्ष यो संख्या ९९ सय पुग्यो। यो आवको दुई महिनामा १४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ।

मुख्य कारण तीव्रगति

तीव्रगतिकै कारण मोटरसाइकल दुर्घटना बढ्दै गएको छ। चालकको लापरबाहीले पनि दुर्घटना हुने गर्छ। तीव्रगति रोक्न महानगरीय ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी र कोटेश्वर–भक्तपुरको सडकमा ‘स्पिड लिमिट’ राखेको छ। ती सडकखण्डको मुख्य लेनमा प्रतिघण्टा ५० किमिको गतिमा सवारी गुडाउनुपर्छ। सर्भिस लेनमा भने २० किमि प्रतिघण्टाको गतिमा सवारी गुडाउन पाइन्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलका अनुसार ती सडकमा तीव्रगतिमा सवारी गुडेको पाइए तत्कालै कारबाही गरिन्छ। तर, यो नियमले पनि दुर्घटना भने रोकिएको छैन। कारबाहीपछि पनि सवारीको गति कम भएको छैन।

‘तीव्र गति र चालको लापरबाहीका कारण मोटरसाइकल र स्कुटर धेरै दुर्घटनामा परेका छन्’, उनले भने, ‘अहिले स्पिड लिमिट राखेका क्षेत्रमा धेरै कम भएको छ।’ महाशाखाले तीव्रगतिमा सवारी चलाउने १४ सय २९ सवारीलाई कारबाही गरिसकेको छ। भित्री बाटोको हकमा भित्तामा प्रतिघण्टा २० किमि लेखिएका पोस्टर टाँसिएको छ।

जोखिममा पैदल यात्रु

भित्री सडकका हिँडडुल गर्ने पैदल यात्रु जोखिममा छन्। कालोपुलबाट ज्ञानेश्वर, शान्तिनगरबाट भीमसेनगोला, मैतीदेवी, नक्साललगायत स–साना गल्लीमा मोटरसाइकल र स्कुटरको गति तीव्र हुन्छ। आफ्नै साइडमा हिँड्दा पनि ज्यान जोगाउन मुस्किल पर्छ। सडक पार गर्न ठूला–साना दुवैलाई सास्ती छ।

भित्री सडकमा दुर्घटनामा मृत्यु हुने पैदल यात्रुको संख्या पनि बढ्दो छ। ०७१/७२ मा उपत्यकामा दुर्घटनामा परी ५७ जना पैदल यात्रुको मृत्यु भयो। गत वर्ष ९३ जनाको ज्यान गयो। यो आवको दुई महिनामा आठ पैदल यात्रुको मृत्यु भइसकेको छ। ‘साना भित्री सडकमा सीसि क्यामेराको व्यवस्था छैन। स–साना सडकमा कतिसम्म कुदाउन पाउने भनेर ट्राफिक प्रहरीले कुनै मापदण्ड बनाएको छैन’, महशाखाका प्रवक्ता पौडेलले भने।

मृत्यु हुनेमा मोटरसाइकल चालक धेरै

सवारी दुर्घटनाबाट मृत्यु हुनेमा मोटरसाइकल र स्कुटर चालककै संख्या धेरै छ। उपत्यकामा पाँच वर्षमा चार सय ३३ जना मोटरसाइकल चालकको मृत्यु भएको छ। ०७१/७२ मा ५५ जनाको मृत्यु भएको थियो। ०७२/७३ मा यो संख्या बढेर ७५ पुग्यो। ०७३/७४ मा ७७ थियो। तर, ०७४/७५ मा एक सय ११ जनाको मृत्यु भयो। गत आवमा एक सय १५ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.