नेकपा नेतृ एवंम् पूर्व सभासद कमला सुवेदीको निधन
काठमाडौं : नेकपा नेतृ एवंम् संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ। सुवेदीको ५१ वर्षको उमेरमा शनिबार बिहान घरमै निधन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा रामेछापका सचिव एवम् प्रदेश सांसद शान्तीप्रसाद पौडेलले जानकारी दिए। सुवेदी लामो समयदेखि ब्रेन ट्युमर पीडित थिइन्। पौडेलका अनुसार उनलाई १५/२० दिन अगाडि नै अस्पतालले अब उपचार सम्भव नहुने जानकारी दिइसकेको थियो।
उनको ब्रेन ट्युमर रोग देखा परेपछि लामो समय मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। पछिल्लो पटक सिभिल अस्पतालमा लगिएपनि उनको उपचार सम्भव नभएको अस्पतालले परिवारलाई जानकारी दिएको हो। उनको शनिबार बिहानै पशुपतिनाथमा दाहसंस्कार गरिएको छ। सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्। सुवेदीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका नेता कार्यकर्ता पुगेका थिए। उनी नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य भएकी थिइन्। सुवेदी संविधानसभामा समानुपातिक सांसद बनेकी हुन्।
उनको निधनप्रति सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दुख व्यक्त गरेका छन्। सामाजिक संजालमा उनले लेखेका छन् ,' तत्कालीन नेकपा (एमाले) को केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य कमला सुवेदीको आज बिहान अल्पायुमै निधन भएको खबर सुनेर दुःख लागेको छ। दिवंगत सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछु।'
नेकपा रामेछापका सचिव पौडेलले सुवेदीको मृत्युले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए। 'कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका कार्यकर्तालाई अल्पायूमै गुमाउनु पर्यो,' उनले भने,' जनताले असल जनसेवी अभिभावक गुमाएको छ, पार्टीकोतर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।'
वि.सं २०२५ सालमा रामेछापको बावियाखर्कमा जन्मिएकी सूवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन् ।