यसपटकको तिहार पनि आयातमै निर्भर

यसपटकको तिहार पनि आयातमै निर्भर

काठमाडौं : नेपालीको तिहार आयातमै निर्भर छ। तिहारका लागि आवश्यक वस्तु स्वदेशमै उत्पादन नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ।

झिलिमिली बत्ती, मिठाई, सयपत्री र मखमली फूल तथा भाइमसला तिहारमा नभइनहुने वस्तु हुन्। यी सबै वस्तु भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छ। यस वर्ष यस्ता वस्तु आयातमा करिब साढे दुई अर्ब बाहिरिएको छ।

औपचारिक रूपमा तिहारमा दुई अर्ब ७५ करोड मूल्यबराबरका यस्ता वस्तुको कारोबार हुन्छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले उपलब्ध गराएको पछिल्लो दुई महिना (साउन र भदौ) को तथ्यांकअनुसार ६१ करोड ५५ लाख मूल्यबराबरको झिलिमिली बत्ती र एक अर्ब ४६ करोड ८३ लाख रुपैयाँको भाइमसला (काजु, ओखर, बदाम, पेस्ता, किसमिस, नरिवल, छोकरा, सुपारी) आयात भएको छ।

यस्तै फ्लोरिकल्चर नेपालका अनुसार गैरपुष्प व्यवसायीले चार करोड ८० लाखको सयपत्री फूल आयात गरेका छन्। रंगोलीका लागि प्रयोग हुने रङ, कृत्रिम पुष्पको माला, मैनबत्तीका साथै सुनचाँदी, पूजा गर्ने सामग्रीको तथ्यांक यसमा समावेश छैन।

सामान्य दिनमा मुलुकभर दैनिक आठ सय किलो चाँदी खपत भए पनि दैनिक दुई हजार किलो खपत हुने गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार चाँदीका सिक्का, थाली, पञ्चपात्रो, पूजाको भाडो, कलश, अग्रजस्ता वस्तुको बिक्री उच्च हुन्छ।

तिहारका लागि भनेर अहिले उपत्यकासहित सहरी क्षेत्र र गाउँका घर झिलिमिली बत्तीले सजाइएको छ। रात पर्नेबित्तिकै यस्ता बिजुली बत्ती बलेर घरको सान बढाए पनि यसको नाममा करोडौं रुपैयाँ बिदेसिएको छ। नेपालमै यस्ता झिलिमिली बत्ती नबन्दा नेपालको ठूलो रकम बाहिरिएको नेपाल इलेक्ट्रिक्स व्यवसायी महासंघका उपाध्यक्ष रमेश देवकोटाले बताए।

उनका अनुसार झन्डै ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात हुन्छ। बाँकी १० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात गरिन्छ। ‘नेपालमा आयात हुने यस्ता झिलिमिली बत्तीमध्ये ९० प्रतिशत तिहारमै खपत हुन्छ’, देवकोटाले भने, ‘बाँकी १० प्रतिशत बिहेबारी, इद, क्रिसमसमा खपत हुन्छ।’

उत्पादन हुने वस्तुसमेत नेपालमा नहुँदा चाडबाड आयातित वस्तुकै भरमा गर्नुपरेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। ‘नरिवल, बिमिरो, कटुस, ओखर, काजु, किसमिसलगायत नेपालमै उत्पादन गर्न सम्भव छ’,श्रेष्ठले भने, ‘तर उत्पादन हुन्न, उत्पादन हुन सक्ने वस्तु पनि बाहिरबाट ल्याएर हामी चाडबाड मान्ने गरेका छौं।’

उनका अनुसार तिहारमा मसलाको उपभोग उच्च हुन्छ। पछिल्लो दुई महिनामा १० क्विन्टल भाइमसला आयात गरिएको छ।

तारकेश्वरका पुष्प व्यवसायी दुर्गानाथ दाहाल सयपत्री उत्पादनमा झन्डै आत्मनिर्भरको मुखमा पुग्नै लागेको क्षेत्रलाई सरकारी नीतिले परनिर्भरतातर्फ धकेलेकोे बताउँछन्। उनका अनुसार विभिन्न तहमा अनुदान पाएका किसानले उत्पादन गरेका भारतीय सयपत्री पुष्पको माला अत्यधिक भएका कारण नेपाली किसानले यो वर्ष ठूलो घाटा व्यहोरेका छन्। ‘भारतबाट निकै सस्तोमा भित्रिएको सयपत्री पुष्पको मालाका कारण हाम्रो उत्पादन खेतमै सुक्ने भएको छ’, दाहालले भने, ‘हाम्रो फूलले अहिलेसम्म बजार पनि पाएको छैन।’

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार सरकारको नीति किसानमैत्री नभएकाले तिहारमा स्वदेशी पुष्प किसान र व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ। तिहार अवधिभर नेपालमा १८ लाख सयपत्री पुष्पको मालाको माग हुन्छ। यसमध्ये झन्डै साढे १५ लाख माला नेपालमै उत्पादन भएको छ। स्वदेशी किसान र व्यवसायीले स्वदेशमा उत्पादन भएका साढे १५ लाख बराबरका सयपत्रीका माला बिक्री गर्ने लक्ष्य राखेका छन्।

‘अपुग भएको दुई लाख ५० हजार माला मात्रै आयात गर्न सरकारले अनुमति दिनुपर्नेमा आठ लाख माला आयात भएको छ’,श्रेष्ठले भने, ‘यसले गर्दा हाम्रो पुष्पले बजार नपाउने र झन्डै आत्मनिर्भरतर्फ उन्मुखमा रहेको नेपाली पुष्पखेती र व्यवसाय परनिर्भरतातर्फ उन्मुख हुने भएको छ।’ उनका अनुसार फलफूल र तरकारी बिक्री गर्ने व्यापारीले फाइटोस्यानेटरी र क्वारेन्टाइन परीक्षणबिना चार करोड ८० लाख मूल्यको आठ लाख माला राजधानीमा भिœयाएका छन्। भारतको कोलकाताबाट कलकत्ते जातको प्रतिमाला ४० मा ल्याएर ६० देखि ७० रुपैयाँमा व्यापारीले बिक्री गर्दै आएको उनले बताए।

बजारमा भारतबाट आयात भएको सयपत्रीको माला छ्यापछ्याप्ती भए पनि स्वदेशी किसानले उत्पादन गरेको मालाले बजार नपाएको एसोसिएसनको भनाइ छ। गैरपुष्प व्यवसायीले भारतबाट आयात गरेको पुष्पको माला बालाजुस्थित कोल्ड स्टोरमा भण्डारण गर्ने भएकाले स्वदेशी किसान र व्यवसायीले उक्त स्थान घेराउ गरी बिरोध गरेका थिए।

तिहारभर मिठाईको अत्यधिक कारोबार हुन्छ। सामान्य दिनभन्दा झन्डै चार दोब्बर मिठाईको कारोबार यही तिहारको समयमा हुन्छ। तिहार अवधिभर झन्डै साढे तीन करोड मूल्यबराबरको विभिन्न प्रकारको मिठाईको कारोबार हुन्छ, उपत्यकाभरमा। मिठाईविज्ञ अनिल राजकर्णिकारका अनुसार उपत्यकामा साढे तीन करोडमध्ये डेढ करोडको स्वदेशी परम्परागत मिठाई र दुई करोडको ब्रान्डेड मिठाईको खपत हुन्छ।

राजकर्णिकारले भने,‘भारतीय ब्रान्डेड कम्पनीले भारतलगायत अन्य मुलुकबाट कच्चा पदार्थ र मरमसला आयात गरी मिठाई तयार गर्छन्।’ उनका अनुसार केही विशिष्ट प्रकारको तयारी मिठाई पनि यस्ता भारतीय कम्पनीले कोलकाताबाट आयात गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.