चाडपर्वको मुखमा मुसहर वस्तीमा भाइरल ज्वरो

चाडपर्वको मुखमा मुसहर वस्तीमा भाइरल ज्वरो

सिरहा : गाउँ–गाउँमा चाडपर्वको माहौल छ। सबैजना तयारीमा जुटेका छन्। तर, लहान नगरपालिका १५ का मुसहर वस्तीका मानिसहरु विरामी स्याहर्दैमा परेशान छन्। सिँगो वस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। घर–घरमा काखे बच्चादेखि बृद्धबृद्धा सम्म थलिएका छन्। ज्वरोले एकै घरका एकभन्दा बढी व्यक्तिहरु प्रभावित छन्।

पछिल्लो दुईसातादेखि लग्राहा र मेनहरवा टोलका मुसहर वस्तीमा भाइरल ज्वरोको प्रकोप देखिएका छन्। दुवै टोलको ६४ घरपरिवारमा ५० जनाभन्दा बढी विरामी परेका छन्। ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरु दैनिक ज्याला मजदुरीकै भरमा छाक टार्छन्। ज्वरोले थलिएपनि उनीहरुलाई उपचार गराउन रकम अभावमा कठिनाई भएको छ।

वस्तीका नैना सदायको १२ वर्षीया छोरी भगती र ८ वर्षीया सुभकला एक हप्तादेखि ज्वरोले थलिएका छन्। विरामी परेदेखि विद्यालय पनि जान सकेका थिएन। ‘विरामी परेपछि सुरुमा नजिकैको सरकारी स्वास्थ्य चौकीमा छोरी लगरे उपचार गराए। निको भएन,’ नैनाले भनिन,‘त्यसपछि ज्याला मजदुरी गरी बचाएको सात सय रुपैयाँ खर्च गाउँघरका डाक्टरसँग औषधी किने। नारी छामेर औषधी अहिले सम्म निको भएको छैन्। बजारमा गएर रगत, दिशा, पिसाब जाँच गराउने पैसा छैन्।’ घरीघरी ज्वरो आउने र पेट दुख्ने गरेको उनले सुनाईन्। विरामी स्याहर्नेमै समय बित्ने गर्दा चाडपर्व खल्लो भएको उनले बताईन्।

६२ वर्षीया सजन सदायपनि ४ दिनदेखि ज्वरोले थलिएकी छिन्। ‘स्वास्थ्य चौकीमा गएर जचाए। डाक्टरले नारी छाम्यो। ज्वरो छैन् भन्यो तर, निको भएको छैन्,’उनले भनिन। दिपेन सदायको पत्नी पविता, छोरा मनिष र छोरीहरु मनिषा र राधिकालाई ज्वरो लागेको छ। ‘गाउँमा एकजनालाई ज्वरो छुटछ फेरी अर्कोलाई हुन्छ,’ दिपेनले भने,‘दुई महिनादेखि यो क्रम चल्दै आएको छ।’ बढी बच्चाहरु प्रभावित भएको उनले सुनाए।

ज्वरोले थलिएपनि पैसा अभावमा उपचारका लागि अस्पताल पुर्‍याउन नसकेको उनीहरु सुनाउँछन्। गाउँकै औषधी पसलबाट सिटामोल किनेर खाए तर, ज्वारो निको नभएको ६० वर्षीया पतरी सदायले सुनाईन्। ‘सुरुमा हातगोडा कटकटखाने जिउ, टाउको, पेट दुख्ने, झाडापखाला लागेपछि ज्वरो आउने गरेको छ,’उनले भनिन,‘वस्तीका घरैपिच्छे विरामी परेका छन्। कतिपयलाई ज्वरो निको हुँन्छ फेरी केही दिनपछि फेरि दोहोरिएर आएको छ।’

लहान बजारको अस्पताल पुग्न नौँ किलोमिटर टाढा रहेकाले वस्तीमा अस्पताल पु¥याउने मान्छे समेत नभएको उनीहरूको दुखेसो छ। ‘अस्पताल टाढा छ। त्यहाँ पुग्न रिक्शा चढ्ने भाडा रकम छैन, आज के खाउ, भोली के खाउ भन्ने अवस्था छ’, सोही ठाउँकी जगती सदायले भनिन,‘ छिमेकी गाउँमा सापटी गरेपनि अस्पताल लग्ने मान्छे छैनन्।’

सिंगो वस्तीमा घरैपिच्छे ज्वरोले थलिएपछि उनीहरु चिन्तामा परेका छन्। वस्ती पुग्ने जोकोहीलाई उनीहरुले राम्रो उपचार गराई दिन आग्रह गर्छन्। भाइरल ज्वरो फैलिएको थाहा पाएपछि वडाबाट दुवै वस्तीमा स्वास्थ्यकर्मी पठाएर चेकजाँच र औषधी बितरण गराएको वडाअध्यक्ष तेजनारायण चौधरीले बताए। लग्राहामा बुधबार र मेनहरबामा बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएको चौधरीले सुनाए।

१२० जनालाई चेकजाँच गर्दा ज्वरो देखिएको स्वास्थ्यकर्मी रामसुन्दर चौधरीले बताए। ‘दुवै वस्तीमा १२० जनालाई चेकजाँच गरिएको छ। साधारण रुघाखोकी र भाइरल ज्वरोका विरामी फेला परेका छन,’उनले भने,‘शारीरिक परिक्षणपछि उनीहरुलाई केही केही औषधी दिएका छौँ।’ प्रभावित वस्ती निगरानीमा राखिरहेको उनले बताए।

यो मैसमी भाईरल ज्वरोको प्रकोप भएकोले नियन्त्रणमा आउन कम्तिमा सातदेखि १० दिन सम्म समय लाग्न सक्ने नगरपालिकाका स्वास्थ्यक संयोजक अनिल साहले जानकारी दिए। ‘वस्तीमा औधषधीसहित स्वास्थ्यकर्मी पठाएका थियौँ,’उनले भने,‘निको नभएको विरामीलाई उपचार गर्न फेरी पठाउँछौँ। भाइरल ज्वरो नियन्त्रणमै छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.