मरेपछि उन्मुक्ति पाउने जनविश्वासले ‘ध्योक्यो’ नाच हेर्नेको भिड (फोटो र भिडियो)
जोमसोम : संसारिक दुनियाँमा जन्म लिने हरेक मानिस जन्मसँगै मृत्यु अवश्य छ। तर, हरेक प्राणीले मृत्युपछि उन्मुक्ति पाउछन् भन्न सकिदैन। बुद्धशास्त्र भन्छ, ‘मरेपछि सहि बाटो खोज्न हरेक देवी देवताको मनुष्य आत्मा परिचित रहनै पर्छ।’
हिमाली जिल्ला मुस्ताङको टुकुचे, मार्फा, स्याङ र ठिनीको ढुम्बामा हरेक वर्ष यस्तै विभिन्न देवी देवताको नाटकीय नाच ध्योक्योप अर्थात् लाखे देखाउने चलन छ।
ध्योक्योप नाच देखाउने सायत तिब्बतीयन पात्रो अनुसार तय गरिन्छ। यो नाच सदियौं वर्षदेखि निरन्तर चल्दै आइरहेको छ। घरपझोङ -३ स्याङका लामा श्याम थकाली भन्छन्, ‘ध्योक्पो देखाइने चलन ११ सय वर्षअघिको पुरानो कुछ्प तेरङ्गा स्थापना हुन अगावै भएको हो। ध्योक्योप नाच हेर्नाले मरेपछि उन्मुक्तिको बाटो पाउने जनविश्वास छ।’
लामा थकालीका अनुसार टुकुचे, स्याङ र ठिनीमा २१ वटा टाउँको भएको कके ध्योक्योप र मार्फामा धोर्जे पूर्वको बज्रकिलिया नामक ध्योक्योप देखाइन्छ। विभिन्न देवी देवताको स्वरुपसहितको नाच ध्योक्योेपले मनुष्य आत्माभित्र देवी देवताको परिचय गराउने लामा थकालीको भनाइ छ।
विभिन्न देवी देवताको कुल देवताको ३ दिनसम्म लगातार पुजाआजा गरेपछि मात्र ध्योक्योप देखाइन्छ। पूजापाठपछि पनि बुहसंख्यक लामाको सामुहिक पूजापाठका बीचमा ध्योक्योप लाखे नाच प्रर्दशन गरिन्छ।
लामा थकालीका अनुसार ध्योक्योपमा १३ वटा विधा समेटिएको छ। जसमा आशिष झिन्दा, झेना, ताम्टिङ, गुरु रिम्पोर्छे, महाकाल, लाखु, ढाक्सिङ, खण्डो धेरङ्ग, जरायो, ध्याल्पो धम्जेन, लाङ्दुर र झ्याक्मिनलगायतको देवी देवता र राक्षसका स्वरुपको नाच देखाइन्छ।
देवी देवताको नाच ध्योक्योप अवलोकनपछि स्वर्ग प्राप्ती हुने धार्मिक मान्यता छ। यसले शरीरको दुःख दर्द हरण गर्ने, रोगको निधान गर्ने र संसारिक सुख समृद्धि मिल्ने भनाइ छ। देवी नाच हेरेपछि मृत्युपछि देवी देवताले गन्तव्य देखाउने लामा थकालीले उल्लेख गरे। टुकुचे, मार्फा, स्याङ र ठिनीमा अलगअलग समयमा यसप्रकारको देवी नाच देखाउन चलन रहेको लामा सनप्रसाद थकालीको भनाइ छ।
उनका अनुसार देवी नाचले मनुष्य शरीर भित्रको भगवानसंगको सम्बन्ध जोड्ने काम गर्छ। समुन्द्री सतहदेखि करिब ३५ सय मिटर अग्लो उचाईमा अवस्थित घरपझोङ-५ ठिनीको ढुम्बाको कुछ्प तेरङ्गा गुम्बामा आइतबार ध्योक्योप अर्थात् देवी लाखे नाच देखाइएको छ।
धार्मिक मोक्ष प्राप्तीका लागि २ स्थानीय तहका धार्मिक श्रद्धालु कुछ्प तेरङ्गामा पुगे। माटोले बनेको २ तले पुरानो गुम्बादेवी नाच हेर्न उल्लेख्य सर्वसाधारण ओइरो लाग्यो।
नाच हेर्न गुम्बा पुग्ने सबैलाई गुम्बा व्यवस्थापन समितिले खानपानको व्यवस्था गरेको थियो। अग्लो डाडोमा अवस्थित गुम्बामा ध्योक्योपको रोनकसँग निलगिरी हिमालको मुस्कुराहटले झनै यसलाई सुसज्जित पारिदिएको थियो। यस्तै, कुछ्पमा ध्योक्योप चलिरहदा आन्तरिक तथा विदेशी पर्यटकले समेत उत्सुकतापूर्ण रुपमा नियाली रहेका थिए।