पूजा गर्न खलंगामा गाईको अभाव
जाजरकोट : नलगाड लहँ स्थायी घर भएका रामबहादुर खत्री हाल जाजरकोट सदरमुकाम खलंगा बस्छन्। उनी बर्षेणी गाई पूजाका दिन घरघरमा चोकचोकमा गाई लिएर हिड्छन्। जसको कारण गाई नपाल्नेलाई पनि पूजा गर्न सहज हुन्छ।
अहिले सदरमुकाम खलंगामा गाईको अभाव छ। हिन्दु धर्ममा आस्था राख्नेहरुले यमपञ्चकको तेस्रो दिन औँसीको दिन गाई पूजा गर्ने गर्छन्। तर, गाई नहुँदा पुजा गर्न समस्या परिरहेको छ। यही कारण रामबहादुरले गाईलाई घरघरमा चोकचोकमा डुलाएर पूजा गराउँछन्।
एउटा गाईलाई बिहानैदेखि डुलाएर सदरमुकामका सबै श्रद्धालुहरुको आवश्यकतालाई पुरा गरिदिने गरेका छन् उनले। हिन्दू धर्ममा आस्था राख्नेहरुले गौमाताको रुपमा गाईलाई पूजा गर्छन्। यही पूजा सहज होस् भनेर गाईलाई टोलटोल लिने गरेको खत्रीले बताए।
उनले गाईलाई चढाएको भेटी र दाना संकलन गरेर सोही गाईको लागि खर्च गर्ने गरेका छन्। गाईतिहारका दिन गाईलाई मनपर्ने खाना दिएर पुजा गर्ने गरिन्छ। कतिपयले रक्षाबन्धनमा बाँधेको डोरीसमेत गाईको पुच्छरमा बाँधेर बिर्सजन गर्ने गर्दछन्। गाई घर घरमै पुर्याएर पूजा गर्न सहज बनाएकोमा उनको कार्यलाई स्थानीयले प्रशंसाका साथै धन्यवादसमेत दिने गरेका छन्।