मुस्ताङ स्वर्गको टुक्रा हो : योगेश भट्टराई
जोमसोम : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले हिमाली जिल्ला मुस्ताङलाई स्वर्गको एक टुक्राको संज्ञा दिएका छन्।
लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङस्थित प्रस्तावित विमानस्थलको सोमबार निरीक्षण गरेर काठमाडौं फर्किएपछि मन्त्री भट्टराईले यस्तो बताएका हुन्।
सोमबार मन्त्री भट्टराई विमानस्थल निरीक्षणका क्रममा दामोदरकुण्ड, सामुदायिक मराङ होमस्टेहुँदै मुक्तिनाथ पुगेका थिए। मन्त्री भट्राई परिवारसँगै संघीय सांसद प्रेमप्रसाद तुलाचनसहित प्रदेश सभासदसँग मुस्ताङ पुगेका हुन्।
पोखराबाट जोमसोम केहीबेर रोकिएर पहिलो मुस्ताङ यात्रा थालेका मन्त्री भट्टराईले हेलिकप्टरबाटै यहाको फरक भुगोल, प्राकृतिक सौन्दर्यता नियालेका थिए। फेसबुकमा ३६ वटा फोटो अपलोड गरेका भट्टराईले लेखेका छन्, ‘स्वर्गको टुक्रा मुस्ताङको यात्रा!’
निरीक्षणका क्रममा भट्टराईले अब विमानस्थल निर्माणमा गर्न कुनै चिजले बाधा नपार्ने बताए। विश्वका अग्ला उचाईमा समेत विमानस्थल निर्माण भएको उदाहरण दिँदै मन्त्री भट्टराईले विमानस्थलका लागि भूगोल सहज भएको बताएका छन्।
‘यहा न भूगोल सम्याउनुपर्छ ,न त चट्टान काट्नुपर्छ’, भट्टराईले भने, ‘प्रस्तावित विमानस्थलमा जंगल समेत नरहेकोले कुनै चिजको रोकावट हुँदैन।’