ओली-मडुरो भेटको भिडियो सार्वजनिक
काठमाडौं : प्रधानमन्त्री केपी ओली र भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोबीच भएको वार्ताको भिडियो सार्वजनिक भएको छ। दुई पक्षबीच प्रतिनिधिमण्डल स्तरमा अजरबैजानको राजधानी बाकुमा वार्ता भएको थियो।
भेनेजुयलाका राष्ट्रपति मडुरोले ट्विटर ह्यान्डलमार्फत भेटवार्ता सार्वजनिक गरेका हुन्। भेटवार्ताबारे भ्रमण टोलीमा रहेका नेपाली सदस्यले जानकारी दिन अस्वीकार गरेका थिए। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भेटवार्ता गोप्य राखेका थिए।
परराष्ट्रका अधिकारीहरूले मडुरो असंलग्न आन्दोलन (नाम) का निवर्तमान अध्यक्ष हुनाले प्रधानमन्त्रीसँगको भेट निश्चित भए पनि ‘साइडलाइन’ संक्षिप्त भेट हुने मात्र बताएका थिए। भेटमा सहभागी परराष्ट्र अधिकारीले पनि भेटबारे बेखबर रहेको बताएका थिए। तर सार्वजनिक भिडियोमा ती अधिकारी पनि छन्।
गत साता नामको १८ औं शिखर सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री ओलीले मडुरो र उत्तर कोरियाका प्रथम उपाध्यक्षलाई भेटेका थिए। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा बाकुमै रहेका परराष्ट्रका अधिकारीले भेटवार्तालाई अनौपचारिक र साइड लाइन भन्दै पन्छिए पनि डिलेगेसन स्तरमै छलफल भएको भिडियोबाट स्पष्ट हुन्छ।
कतिपयले त भेटवार्ताबारे तस्बिरसमेत खिच्न नसकेको बताएका थिए। राष्ट्रपति मडुरोले ट्विट गरेको भिडियोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत सहभागी छन्।
Bilateral meeting with His Excellency Khadga Prasad Sharma Oli, Prime Minister of the Federal Democratic Republic of Nepal. https://t.co/48j282zidA
— Nicolás Maduro (@maduro_en) October 25, 2019