सुदूर पहाडमा जात्राको रौनक
बैतडी : हिन्दूको ठूला चाड दसैं तिहार सकिएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ। कात्तिक शुक्ल पक्षमा सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गरेको हो।
कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्छ। दसैंको बेला जात्रा लागेका मन्दिरहरूमा समेत कात्तिक शुक्ल पक्षमा समेत पूजाआजा गर्ने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। उनले भने, ‘शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम ऋतु मानिन्छ। त्यसैले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पुजा गर्ने चलन छ।’
प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको शैल्यशिखर नगरपालिकाका गंगासागर जोशीले बताए। उनले भने, ‘असोज दुर्गा पक्षमा मात्र नभएर कात्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन छ। कात्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ।’
कात्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, १२ ज्योतीर्लिंग मध्येको एक केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, फाल्ङासैनी भगवती मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवेणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ। यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रूपमा रहेको मालिकार्जुन धाम, लाटीनाथ धामलगायत मन्दिरमा जात्रा लाग्ने गर्छ। डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ।
त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ।
तिहार सकिएलगत्तै सुदूर पहाडमा जात्राको रौनक छाएको दशरथचन्द नगरपालिका त्रिपुराका गणेशसिंह थापाले बताए। उनले भने, ‘यतातिर पहिलादेखिकै चलन हो। कात्तिक शुक्ल पक्षमा विभिन्न मन्दिरमा जात्रा हुने गर्दछ। दसैं तिहार पछिका १५ दिन विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ।’
पर्यटक भित्रिने समय
बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक आउने गर्छन्। कात्तिक शुक्ल सप्तमी र अष्टमीका दिन लाग्ने मेलामा भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट हजारौं दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका ४ का आनन्दमणी भट्टले बताए।
भारतीय नागरिकमा नेपालका शक्तिपीठप्रति ठूलो विश्वास छ। प्रत्येक वर्ष हजारौंको लगानी गरेर दर्शनार्थी नेपालका बैतडी, डडेल्धुरा, दार्चुला आदि जिल्लामा पुग्ने गरेको भारतीय पत्रकार राजेश पंगरियाले बताए।
प्रचारप्रसार आवश्यक
सुदूरपश्चिमका पहाडी जिल्लामा थुपै्र धार्मिक पर्यटनका क्षेत्र छन्। वर्षभरमा ती धार्मिक क्षेत्रमा कम्तिमा ३ पटक मेला जात्रा लाग्ने गर्दछ। पहाडका एकै गाउँमा कम्तीमा ५, ६ वटा मन्दिर छन्। सुदूरपश्चिमका पहाडमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार नहुँदा पर्यटक भिœयाउन नसकेको संस्कृतिका जानकार घनश्याम लेखकले बताए। उनले भने, ‘सुदूरपहाड मानसखण्ड क्षेत्रभित्र पर्दछ। यसको वैदिक कालदेखि नै महत्व छ। यो क्षेत्रमा प्रशस्त धार्मिक क्षेत्रहरू छन्। तर प्रचारप्रसार नहुँदा ओझेलमा छन्।’
फाइल फोटो ः बैतडीको प्रसिद्ध ईश्वरीगंगा धाममा लागेको जात्रा। यो मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्ल अष्टमीको रातमा जात्रा लाग्ने गर्दछ।