ओखलढुंगामा डेंगूको संक्रमण बढ्दो

ओखलढुंगामा डेंगूको संक्रमण बढ्दो

ओखलढुंगा : जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले डेंगू भए नभएको यकिन गर्न बिरामीबाट लिइएको रगत प्रयोगशालामा परीक्षण नै नगरी डेंगू नभएको प्रतिवदेन दिएको छ। डेंगूको लक्षण देखिएका धेरै ज्वरोका बिरामी फेला परेपछि २३ जनाबाट नमुना संकलन गरिएको थियो।

गत असोजको पहिलो साता मानेभञ्ज्याङ गाउँपालिकाका २३ जना बिरामीबाट त्यसरी लिइएको नमुना रगतको किटबिनै प्रारम्भिक परीक्षण गरेर डेंगू नभएको प्रतिवदेन दिएको हो। कार्यालयले प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र मानेभञ्ज्याङ गाउँपालिकालाई पठाएको प्रतिवदेनमा बिरामीका अवस्था सामान्य रहेको र डेंगू नभएको उल्लेख छ।

कार्यालयको प्रतिवेदन आएपछि पनि चारजना बिरामीले डेंगू भएको भनेर आफूलाई फोन गरेको गाउँपालिकाका अध्यक्ष मोतीराज राईले बताए। उनले भने, ‘लामखुट्टे नष्ट गर्ने, चेतना फैलाउने काम गरेका छौं। फेरि चारजना ज्वरोका बिरामीले डेंगू भएको भनेर फोन गरेका छन्।’ आफैंले बिरामीलाई भेटेर अवस्थाबारे जानकारी लिने उनले बताए। ती बिरामीले जिल्ला बाहिर गएर पुनः चेक गराएका थिए।

तीन दिन पहिले सिद्धिचरण नगरपालिका १० मा एकजनाको लामो समय ज्वरो र टाइफाइड आएका कारण मृत्यु भयो। ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा लामो समय उपचार गर्दा पनि नभएपछि काठमाडौं लगेपछि ती बिरामीको मृत्यु भएको वडाध्यक्ष दामोदर धमलाले बताए। उनका अनुसार डाक्टरले डेंगूको संक्रमण र टाइफाइड नै मृत्युको कारण भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अहमद मन्सुरले भने किट नभएकाले डेंगू भए नभएको यकिन गर्न नसकिने बताए। उनले परीक्षण गर्ने किट टेकूमा मात्रै रहेकाले माग गरे पनि सुनुवाई नभएको दाबी गरे। मन्सुरले भने, ‘प्रारम्भिक परीक्षणमा सामान्य देखिएकाले त्यही भनिएको हो, यकिन गर्न सकिँदैन।’ यकिन नै नभए डेंगू नभएको प्रतिवेदन दिएको विषयमा उनले प्राविधिकको भनाइ र बुझाइमा फरक परेको दाबी गरे।

मानेभञ्ज्याङका बिरामी डेंगू परीक्षण गर्न उदयपुरको निजी क्लिनिकमा जाँदा संक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका थिए। संक्रमण हुने त्रास बढेपछि प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा टोली नै खटिएर रगत संकलन, लामखुट्टे नष्ट गर्ने तथा जनचेतना फैलाउने काम गरेको थियो।

तर, जिल्ला स्वास्थ्य कार्यालयले अहिले भने डेंगू भए नभएको यकिन गर्न परीक्षण गर्ने किट नभएको दाबी गरेको छ।

किटबिनै प्रारम्भिक परीक्षण गरी स्थानीय तह र प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको थियो। प्रमुख जिल्ला अधिकारी आचार्यले प्रतिवेदनमा डेंगूको संक्रमण नरहेको र अवस्था सामान्य रहेको उल्लेख गरिएको बताए। उनले भने, ‘यकिन गर्न नमूना लिए पनि किट नभएको बहानामा गरिएको रहेनछ, संक्रमण भएको ठाउँमा वास्तविक जानकारी दिनु पर्नेमा कार्यालय जिम्मेवार देखिएन।’

प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारलाई समेत कार्यालयले वास्तविकता जानकारी नगराई ढाँटेको सरोकारवालाको भनाइ छ। गैरजिम्मेवार हुने कार्यालयका कर्मचारीमाथि छानविन गर्न संक्रमित क्षेत्रका स्थानीयले मागसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.