पानी अभावले टिक्दनन् पर्यटक
उदयपुर : पर्यटकीय क्षेत्र उदयपुरगढीमा खानेपानीको चरम अभाव छ। पर्यटकलाई आकर्षित गर्न सरकारले पूर्वाधारतर्फ ध्यान दिए पनि पीउने र शौचालयमा पानी नहुँदा पर्यटकलाई सास्ती भएको छ।
‘पहिलो आवश्यकता पानी नै हो, पानी नै नभएपछि पर्यटकलाई कसरी राख्न सकिन्छ,’ स्थानीय बोधकुमार घिमिरेले भने, ‘पानी नहुँदा आएका पर्यटक पनि केही छिनमै फर्कन्छन्।’ गन्तव्यस्थलको रूपमा विकास गर्न केन्द्रीय सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर मगरले बताए।
जीर्ण गढी संरक्षण, घेरबार र स्थल निर्माणमा ५० लाख रुपैयाँ खर्च गरिएको छ।
बाँकी बजेटले पनि पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार निर्माण गरिने उनको भनाइ छ। पर्यटन प्रर्वद्धनका लागि बजेट विनियोजन भए पनि पीउने पानीका लागि भने कतैबाट व्यवस्था नभएको अध्यक्ष मगले बताए। पानीको स्रोत नहुँदा १३ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन स्थानीय बजेटबाट सम्भव नहुने अध्यक्ष मगर बताउँछन्।
स्थानीयले पानीको अभाव पूर्ति गर्न ट्याक्टरबाट ढुवानी गरी व्यवस्थापन गरिरहेको स्थानीय कुमार रोका बताउँछन्। पानी अभावकै कारण ५ वर्षदेखि सञ्चालनमा रहेको होमस्टे पनि प्रभावित बनेको छ। घरमा प्रयोग हुनेदेखि होमस्टेका लागि स्थानीयले २ किलोमिटर टाढाको जोगिधारा र कोप्चे धाराबाट पानी ल्याउने गरेको उनले बताए। एकपटकमा चार हजार लिटर पानी ल्याउन ट्याक्टरलाई स्थानीयले चार हजार रुपैयाँ तिर्ने गरेका छन्।
सर्वसारधरण, शिक्षक, कर्मचारीले आधा घण्टा लगाएर पानी ढुवानी गर्ने गरे पनि होटल व्यवसायी र अन्य व्यापारीले भने ट्याक्टरबाट पानी ढुवानी गर्ने गरेको स्थानीय गोपाल खत्रीले बताए। तत्कालीन जिल्ला विकास समिति र पर्यटन वोर्डले पर्यटकीय क्षेत्र उदयपुरगढी आउने आन्तरिक र बाह्य पर्यटकका लागि बस्न र स्थानीय महिलालाई प्रोत्साहन गर्न होमस्टे सञ्चालनमा ल्याएको थियो।
असार २८ को बाढीले पहिले ल्याउने गरेको पानीको मुहान बगेपछि अहिले सातामा एकपटक मात्र धारो आउने गरेको छ। ‘पानीको उचित व्यवस्था नहँदा होमस्टे चलाउनै समस्या परेको छ,’ पञ्चावती सामुदायिक होमस्टे समितिका अध्यक्ष इन्द्रकुमारी राईले भनिन्, ‘पाहुनालाई पिउने पानी नै दिनसक्ने अवस्था छैन, शौचालयमा त झनै समस्या छ।’
नुहाउने र लुगा धुने पानी नहँदा साता दिन बस्न आएका पर्यटक दुई दिन पनि टिक्न नसकेको उनी बताउँछिन्।
‘विभिन्न योजना आए पनि पानी अभावकै कारण गर्न नसकिने भन्दै पन्छाउनुपर्छ,’ समितिका सचिव रीताकुमारी धमलाले भनिन्, ‘पहिले जिविसले अन्य क्षेत्रमा सञ्चालित होमस्टेको अवलोकन भम्रण गरायो, त्यहाँ हेर्दा हामी पनि राम्रो गर्नसक्छौं भनेर होमस्टे चलायौं। तर अहिले पानी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं।’
वहुवर्षिय योजना प्रभावहिन
५० घरधुरी रहेको उदयपुरगढीमा झण्डै एक हजार जनसंख्या छ। पीउने पानी समाधानका लागि सरकारले ६ वर्षअघि बहुवर्षिय कार्यक्रममार्फत एक करोड ५४ लाख रुपैयाँ विनियोजन गरे पनि कनिका छरेजस्तो वितरण भएपछि कुनै काम हुन नसकेको स्थानीय बताउँछन्। पहिलो वर्ष २० लाख, दोस्रो वर्ष ५ लाख र तेस्रो वर्षमा ६ लाख गरी ३१ लाख रुपैयाँ आए पनि त्यो बजेटले काम हुन सकेन।
स्थानीय नेकपा नेता देव गिरीले भने, ‘वर्सेनि कनिका जस्तो बजेट आउने र टालटुल गर्दा नै सकिने भएकाले काम हुन नसकेको हो।’ बजेट अभावले बिछ्याएका पाइप, मुहानको ट्ंयाकी जिर्ण बन्दै गएको छ। ‘पाइप आयो, बिछ्याउने, खाडल खन्ने पैसा छैन्,’ स्थानीय दिपक रोकाले भने, ‘जमिनमुनि नपुरी बिछ्याएको पाइप गाइवस्तु चराउनेले काटेर काम नलाग्ने बनाएसके।’
नेपालटार बजार छोएर जाने मदन भण्डारी राजमार्गबाट ९ किलोमिटर उत्तरी क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र उदयपुरगढी जिल्लाको पुरानो सदरमुकाम हो। २०२८ सालमा गढीबाट रातारात लुटेर तत्कालीन प्रशासकसँग मिलेर सदरमुकाम गाईघाटमा सारिएको थियो।
पर्यटकीय क्षेत्र तथा गाउँपालिकाको केन्द्र भागलाई लक्षित गरी उदयपुरगढी गाउँपालिकाले खानेपानी आयोजनाका लागि १८ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाको केन्द्रमा नै पीउने पानीको अभाव भएपछि पालिकाले यो योजना अघि सारेको उपाध्यक्ष सानुकुमारी राउतले बताइन्। लिफ्टिङ प्रविधिबाट पानी तानेर पर्यटकीय क्षेत्रलाई पानी पु¥याउने गाउँपालिकाको लक्ष्य छ।