तराईमा सुरु भयो छठ
प्रदेश-२ व्यूरो : सूर्य उपासनाको अनुपम पर्व छठ बिहीबारदेखि सुरु भएको छ। तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको प्रारम्भ ‘अर्वाअर्वाइन’ विधिबाट भएको छ। शुक्ल पक्षको चतूर्थी तिथिका दिन अर्वाअर्वाइन वा नहाय खाए भन्ने विधि गरिन्छ। ब्रतालुहरूले विहानै नुहाइ–धुवाई गरी चोखो खानेकुरा मात्रै खाने गर्छन्। उसिनेको चामल नखाइ अर्वा चामलको भात र लसुनप्याज, मसुरोको दाल वर्जित खाना ब्रतालुले खान्छन्।
छठ पूजाको भोग सामग्री तयार गर्दा शुद्धता र चोखोपनमा विशेष ध्यान दिइन्छ। छठको सामग्री जुठो भएमा वा केही कारणले अशुद्ध हुन गएमा परिवारमा नराम्रो प्रभाव पर्ने मान्यता छ। छठमा विशेष परिकारसँगै विशेष फलहरूको पनि प्रधानता छ। ऊखु, केरा, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला जस्ता फलहरू मुख्य रुपमा भोग लगाइन्छ।
‘प्रकृतिको पूजा गरिने यो पर्वमा किसानले आफ्ना उत्पादित सामग्रीलाई भोग प्रसादका रूपमा प्रयोग गर्छन्,’ शिक्षक रामचन्द्र ठाकुर बताउँछन्। षष्ठीको दिन नै बाँसको डाला, नांग्लो, कोनिया, माटोको सरबा, ढाकनमा भोग सामग्री राखेर निर्धारित जलाशयसम्म लगिन्छ।
जलाशयको किनारमा भोग सामग्री राख्नुअघि ब्रतीले पाँचपटक दण्डवत गर्छन्। साँझको बेला अस्ताउँदो सूर्यलाई अर्घ सामग्री पालोपालो अर्पण गरी पूजा गरिन्छ। राति कतिपय स्थानमा जलाशय किनारमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन पनि छ। कतिपय ब्रतालुहरू डाला लिएर घर फर्किन्छन्। रातिको बेला छठको डाला जगाउन महिलाहरूले लोक गित गाउने गर्छन्। पर्वको चौथो र अन्तिम दिन बिहानी उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। यस दिनलाई ‘पारन’ भनिन्छ। अर्घ सम्पन्न भएपछि पण्डितले ब्रतीलाई सूर्य पुराण सुनाउँछन्। पर्व सम्पन्न भएपछि सबै घर फर्केर प्रसाद खाने चलन छ।
नहाय खाय विधि गर्नु पछाडीको कारण ब्रतालुकाु मन र तन दुवैको शुद्ध र सात्विक बनाउनु हो। शुक्ल पक्षको पञ्चमी तिथिका दिन ‘खरना’ को विधान हुन्छ। ब्रतीले यस दिन निराहार ब्रत बसेर साझ सख्खर हालेको चामलको खीर बनाउँछन्। साँझपख नुहाएर चोखो भइ आफ्नो कुल देवताको पूजा गरी आगनमा गाईको गोबरले लिपेर चामलको पिठोले अरिपन (विशेष चित्र) कोरिन्छ। ब्रतीले बनाएको खीर छठी माता र सूर्य देवलाई सर्मपित गरी खरनाको पूजा गरिन्छ। भोग लगाएको खीर प्रसादका रूपमा ब्रतीले राति खान्छन्। खरनाको दिनपछि ब्रतीले पूर्ण निराहार ब्रत बस्नुपर्छ। छठको तेस्रो दिन षष्ठी तिथिमा गहुँ र चामल जातोमा पिसेर छठका लागि भोग सामग्री बनाइन्छ। यसमा विशेषगरी ठेकुवा, भुसुवा, पिरूकिया, लड्डु जस्ता परिकारहरू बनाइन्छ।
सामाजिक मिलनको पर्व
‘छठ पर्व सबै जातजातिको साझा पर्व हो,’ पंडित विदानन्द झा भन्छन्, ‘यसमा सबै जातजातिको समान सहभागीता हुन्छ।’ पर्वका लागि बनाइने प्रसाद सामग्रीको खरिददेखि सजाइने डालाहरूमासमेत सबै वर्गको सहभागीता हुन्छ। दलित समुदायका डोम जातिले बनाउने बाँसका डाला, नाङलोहरूमै पर्वका भोग सामग्री सजाएर जलाशयसम्म लिने गरिन्छ। त्यसैगरी कुमालेले बनाएका माटोका भाँडाहरू सरवा, ढाकन, दियोको प्रयोग पूजाका लागि गरिन्छ।
अनेकतामा एकता
बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसँग छठको प्रेम छ। प्रायःजसो मधेसी परिवारमा गरिमामय स्थानमा भएको महिलाको नेतृत्वमा छठ मनाइन्छ। नारीको महत्व छठले पनि बढाएको छ। बालबालिका र युवायूवतीहरु यस पर्वमा बढी सक्रिय रहन्छन्। पूजा प्रक्रियाको सुरुदेखि समापनसम्म सबै जाति, समुदाय र धर्मका मानिसको सहभागी हुने हुनाले यसलाई समानताको पर्व पनि भन्न सकिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ।
छठ समाजिक सद्भावको पर्व पनि हो। हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ। कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ। तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखिनै भत्काइएको देखिन्छ। त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन्।
अरू बेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ।
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यति बेला छठमय भएको छ।
दलित वस्तीमा सहयोग
छठ पर्वमा खर्चको जोहो गर्ने ध्याउन्नमा रहेका वीरगन्जका दलित विपन्नलाई लत्ताकपडा र पिठो सहयोग गरिएको छ। आर्थिक विपन्न महानगरका दलित बस्तीमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पहलमा रुङगटा वेलफेयर सोसाइटीले नयाँ लत्ता कपडासहितका सामग्री सहयोग गरेको हो। वडा नम्बर ३१ मा पर्ने बेल्वा, कोन्हिया , लक्ष्मीपुर, कटगेनवा र मिलन चोकका दलित बस्तीमा सांसद यादव आफैंले नयाँ साडी र छठको प्रसाद ठेकुवा बनाउन चाहिने गहुको पिठो बाँडेका हुन्। दुई सय २५ परिवारलाई सहयोग गरिएको बताइएको छ।
‘हामी गरिबलाई छाक टार्नै मुस्किल हुन्छ, छठमा खर्चको बोझ थपिन्छ’ कोन्हियाकी सुरसती देविले भनिन्, ‘नयाँ साडी र पिठो पाएपछि धेरै राहत भएको छ।’ गरिब र विपन्न मुसहर बस्तीका महिलाहरुलाई खर्च अभावले समस्या भएको थाहा पाएपछि सहयोग गरेको सांसद यादवले बताए।
बजारमा चहलपहल
तरार्ईका बजारमा यतिबेला छठ मनाउन पूजा सामग्री किन्नेहरूको भिड छ। तरार्ईको मुख्य पर्व छठको तयारी गर्न यहाँका नागरिकलाई भ्याइनभ्याइ छ। दिपावली सकिएलगत्तै छठ सुरु हुने हुँदा बजारमा सामग्री किन्नेहरूको भिड लागेको हो। वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोकसम्मको सडकमा खुद्रा व्यापारीहरूले छठमा प्रयोग हुने सामग्री बिक्रीका लागि राखेका छन्।
‘छठमा ब्रतालुसंगै बालबच्चा सबैलाई नयाँ लुगा चाहिन्छ’, पसलमा कपडा किन्दै गरेकी जगरनापुरका भुलन वर्णवालले भने, ‘अब छठ आउन एक÷दुई दिन मात्र बाँक। अहिले नै किन्दा सस्तो र तयारी गर्न पनि सजिलो हुन्छ।’ ‘छठको सुरु हुनु तीन÷चार दिनअघि नै सामग्री जोरजम गर्नुपर्छ’ नाङ्लो किन्दै गरेकी रामगढवाकी हेमन्तीदेवी कुर्मीले भनिन्, ‘सुरु हुनु अघिल्लो दिन नै किन्दा महँगो पर्छ।’ छठमा नयाँ लत्ताकपडा लगाउने चलन रहेकाले वीरगन्जका कपडा पसलमा पनि ग्राहकको घुइँचो लागेको छ।
जनकपुरमा विशेष तयारी
छठ पर्वका लागि जनकपुरमा पछिल्लो एक महिनादेखि तयारी थालिएको छ। जलाशयहरू सफा गरिएका छन् भने पर्वका लागि विशेष सजावट गरिएको छ। यहाँको गंगासागर, धनुषसागर, अंगराजसर, गोरधोई पोखरी लगायत दर्जनौ जलाशयका किनारमा पण्डालहरू निर्माण गरिएका छन्। छठ पर्वको षष्ठीका दिन जलाशय किनारमा सजाइने अर्घहरू पारनको बिहान मात्र उठ्ने हुनाले पण्डालहरू सोही अनुसार बनाइएका हुन्।
मनोकामना पूरा हुने विश्वास
सर्लाहीको मलंगवा नगरपालिका–७ मुसैलीकी ५२ वर्षीया रामरसदेवी यादव २५ वर्षदेखि छठ पर्व मनाउँदै आएकी छन्। छोरा र छोरी बिरामी पर्न थालेपछि सन्तानको स्वास्थ्य लाभका लागि छठमा ब्रत बस्न सुरु गरेकी यादवले अहिलेसम्म निरन्तरता दिएकी छन्। ‘घरमा विभिन्न समस्या आइरहन्थ्यो’, उनले भनिन्, ‘छठी मैयाको ब्रत बस्न थालेदेखि छोराछोरीको बिरामी पनि निको भयो।’
पवित्र मनले ब्रत बसेमा मनोकामना पूरा हुने उनको विश्वास छ। मधेसको सबैभन्दा पवित्र र ठूलो पर्वको रूपमा मानिँदै आएको छठलाई मनोकामना पूरा हुने पर्वका रूपमा लिइन्छ। मेधसी मूलका महिलाहरूले मनाउँदै आए पनि पछिल्लो केही वर्षदेखि सबै समुदायका महिलाहरूले छठमा ब्रत बस्ने गरेका छन्। मलंगवा–३ की ५५ वर्षीया देवसखी पण्डित भन्छिन्, ‘सासूले कहिलेदेखि ब्रत सुरु गर्नुभयो मलाई याद छैन, तर २०५८ सालदेखि उहाँ बिरामी पर्नुभयो। त्यसपछि परिवारको खुसीका लागि मैले ब्रत बस्न सुरु गरेँ।’
मनिका झा / जनकपुरधाम, राजकरण महतो / बर्दिबास, सुनिल ठाकुर / मंगलवा, गोविन्द महतो / जनकपुर, क्रान्ति शाह / वीरगन्ज