विद्यार्थीमा लामो बिदाको प्रभाव
सामान्यतः अधिकांश विद्यालयमा दसैंदेखि तिहारसम्म एक महिनाका लागि पठनपाठन बन्द हुँदै आएको देखिन्छ। सरकारी तवरबाट हुँदै आएको यो निर्णयलाई कतिपय निजी विद्यालयले बेवास्ता गरेको देखिन्छ। उनीहरूले दसैं–तिहारका बीचमा पनि विद्यालय सञ्चालन गरेको पाइएको छ। यसले ती विद्यालयमा पढ्ने टाढाका विद्यार्थीहरूले घर जान पाउँदैनन् वा गए पनि हतारमा तिहारअगावै फर्किनुपर्छ।
कक्षा १० मात्र होइन, कक्षा ९ मा पढ्ने कतिपय विद्यार्थीलाई पनि दिउँसो बिदा भए पनि दसैं–तिहारका बीचमा कमजोर विद्यार्थी भन्दै बिहानी ट्युसन सञ्चालन गरेर बिदा प्रभावित पारेको देखियो। सबैजसो निजी विद्यालयले कक्षा १० मा पुगेका विद्यार्थीलाई बिहानी कक्षाहरूमा थप शुल्कसहित पढ्नैपर्ने बाध्यता पारेका छन्।
पहिला कक्षा १० को जाँच दिँदा कक्षा ९ का सबै विषय पढ्नुपथ्र्यो। न त कतै थप कक्षा न कतै ट्युसन कक्षा नै सञ्चालन हुन्थे। पछिल्लो समयमा डिस्टिङ्सन ल्याउने उद्देश्य राखेर निजी विद्यालयहरूले कक्षा १० सम्मका विद्यार्थीका लागि पनि ठाउँठाउँमा कोचिङ तथा छुट्टै ट्युसन कक्षाहरू सञ्चालन गर्न थाले। ट्युसन पढ्नुपर्ने प्रवृत्तिका कारण विद्यार्थीले कक्षामा ध्यान दिएर पढ्न छाडे। पढाइ कमजोर हुँदै जान थालेपछि अभिभावकले थप कक्षा, ट्युसन तथा कोचिङ कक्षहरूमा पढाउन बाध्य हुनुपर्यो।
यसले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई निजी विद्यालयले लिने फीसँगै ट्युसनको पनि भार थपियो। त्यससँगै ट्युसनमा राम्रोसँग पढ्ने विद्यार्थीले एउटै कुरा दोहोरिँदा कक्षामा ध्यान दिन छाडे। र, अरू क्रियाकलापमा ध्यान दिन थाले। यसले शिक्षकलाई कक्षामा पढाउन चुनौती थपिदियो। साथै कक्षाका अरू विद्यार्थीलाई पनि पढ्नमा वाधा उत्पन्न गर्यो।
कतिपय अभिभावक भने आफ्ना बालबालिकाले घरमा पढ्नुको सट्टा विद्युतीय उपकरण जस्तै– मोबाइल, ल्यापटप, आईफोन आदिमा व्यस्त भइदिँदा बिहान–बेलुकीका थप कक्षाहरूमा पढ्न पठाउन बाध्य भए। कक्षा १० नपुग्दै आफूसँग वाईफाईजडित मोबाइल, आईफोन हुने गरेको कतिपय विद्यार्थीले सुनाउँछन्। यिनै विद्यार्थीहरू गृहकार्य पनि नगरेर विद्यालय आउने र जाँचमा पनि राम्रो गर्न नसकेको प्रत्यक्ष देखिन्छ। विभिन्न शिक्षाविद्सँग अन्तरक्रिया गरेका शिक्षकहरूले समेत यस्ता विद्यार्थीलाई बदल्न सकेको देखिँदैन।
कतिपय सामुदायिक विद्यालयहरूमा भने शिक्षक विद्यार्थी अनुपात मिलेको देखिँदैन। कतै शिक्षकको अनुपातमा विद्यार्थी धेरै त कतै विद्यार्थीको अनुपातमा शिक्षक धेरै भएको देखिन्छ। अहिले पनि कक्षा चारसम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरेको अछाममा रहेको मेरै घरअगाडिको विद्यालयमा देख्न सकिन्छ। कतिपय विद्यालयमा अतिरिक्त गणित विषय पढाउने विषय शिक्षक नभएकाले त्यो विषयको कक्षा ८ देखि १० सम्म नै पढाइ हुने गरेको छैन।
दुर्गमका धेरैजसो विद्यालयहरूमा पत्रपत्रिकाको पहुँच छैन। देश तथा संसारभरि भएका घटनाप्रति विद्यार्थीलगायत शिक्षक पनि अनभिज्ञ देखिन्छन्। कुनै विद्यालयमा वाईफाईको व्यवस्था भए पनि पर्याप्त कम्प्युटर नहुँदा विद्यार्थीले प्रयोग गर्न पाएका छैनन्। राम्रोसँग वाईफाई नटिप्ने हँुदा शिक्षकले पनि कुनै नयाँ कुरा सिक्न, सिकाउन मोबाइल वा कम्प्युटरमा धेरै समय खर्च गर्नुपरेको छ। पुस्तकभित्रको ज्ञानबाहेक बाहिरी घटनाक्रमले पनि विद्यार्थीले पर्याप्त ज्ञान बढाउन सक्छन्। यसले सामाजिक शिक्षाजस्ता भाषासम्बन्धी विषयमा राम्रो दक्खल राख्न मद्दत गर्छ।
कुनै विद्यालयहरूमा विज्ञान प्रयोगशाला नै छैन भने कतै सामान ल्याइएको भए पनि त्यसको उचित व्यवस्थापन गरेको देखिँदैन। विद्यार्थीका अनुसार १५ मिनटभन्दा बढी कुनै पनि शिक्षकहरू कक्षामा बसेको देखिँदैन। अपवादबाहेक कक्षाकार्य, गृहकार्य दिने र जाँच गर्ने प्रवृत्ति रहेको देखिँदैन। निरीक्षण, अनुगमन वर्षौंदेखि हुन सकेको छैन। कतिपय विद्यालयहरूमा शिक्षक गयल भएको रेकर्डसम्म राख्ने गरेको देखिँदैन भनेको सुनियो।
आफ्ना बालबालिकाले नेपाली भाषा राम्रोसँग लेख्न र उच्चारण गर्नुभन्दा फरर अंग्रेजी बोल्न सक्दा अभिभावक खुसी हुन्छन्। यसकै कारण गाउँघरमा पनि ठाउँठाउँमा अंग्रेजी माध्यमका निजी विद्यालयहरू खुलेका कारण ह्वात्तै विद्यार्थीहरूको चाप ती विद्यालयहरूमा पर्दा सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन भइसकेका छन्। युवा वर्गलाई कलकारखाना, उद्योगधन्दाजस्ता विकासका काममा अवसर नहुनुले उनीहरूको आकर्षण अंगे्रजी विद्यालय खोल्नतिर बढेको देखिन्छ।
जसका कारण गाउँदेखि नै अंग्रेजी विद्यालयहरू अब्बल भई सामुदायिक विद्यालयहरू धरापमा पर्दै गएको देखिन थालेको छ। महँगो शुल्क उठाएर करोडौं फाइदामा रहेका निजी विद्यालयहरूमा उच्च प्रतिस्पर्धा हुनु स्वाभाविकै हो। यसकै कारण उच्चतम ग्रेड हासिल गर्ने होडमा रात दिन नभनी विद्यालय सञ्चालन गरेको देखिन्छ। पढाइसँगै कतिपय विद्यालयले छात्राबासमा रहेका आफ्ना विद्यार्थीलाई बिहान र बेलुका आधा घण्टा ध्यानसँगै भगवान्को भजनकीर्तनमा समेत सहभागी गराउने गरेको पाइयो।
अन्तर्राष्ट्रिय मुलुकमा जस्तो इटाली, रसिया, आयरल्यान्डजस्ता मुलुकहरूमध्ये कतिपयमा विद्यालयहरूमा गर्मी बिदा मात्र तीन महिनासम्म हुने गरेको भेटियो। अमेरिकामा १० देखि ११ हप्तासम्म गर्मी बिदा हुन्छ भने ब्रिटेन, नेदरल्यान्ड र जर्मनीहरूमा ६ देखि आठ हप्तासम्म गर्मी बिदा हुन्छ।
अमेरिकामा रहेको प्रख्यात ड्युक विश्वविद्यालयले गरेको अध्ययनअनुसार लामो बिदामा विद्यार्थीलाई गृहकार्य दिनु राम्रो बताइएको छ। तर गृहकार्य विद्यार्थीको उमेर र कक्षा हेरी दिनुपर्दछ। बिदामा पनि धेरै समय लगाएर गर्नुपर्ने गृहकार्यभन्दा हलुका अध्ययन र रमाइला प्रोजेक्टहरू दिनु उचित हुने देखाएको छ। यसले विद्यार्थीलाई ताजा बनाउने र पढाइबाट टाढा रहनबाट जोगाउने भनिएको छ। हाइलाइट
विद्यालयले बिदामा धेरै समय लगाएर गर्नुपर्ने गृहकार्यभन्दा हलुका अध्ययन र रमाइला प्रोजेक्टहरू दिँदा विद्यार्थीहरूमा सकारात्मक प्रभाव पर्नेमा दुईमत छैन।