उम्मेदवार छान्‍न कांग्रेसको पदाधिकारी बैठक

उम्मेदवार छान्‍न कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारका बारेमा टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बैठक बसेको हो। 

पदाधिकारी बैठकले नाम टुंगो लगाएपछि केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘ बैठकमा उपनिर्वाचन हुने क्षेत्रमा पार्टीको अवस्थाबारे पहिलो र दोस्रो जागरण अभियानका क्रममा खटिएका केन्द्रीय प्रतिनिधिसँग आफ्नो पार्टीबाट कसलाई पठाउँदा जित्ने सम्भावना छ भन्ने विषयमा छलफल भइरहेको छ।’ शर्माले अन्नपूर्णसँग भने, ‘शीर्ष तहमा सबैको सहमति गरेर शुक्रबार बस्ने केन्द्रीय समितिबाट उम्मेदवार टुङ्गो लगाउँछौ।’

कांग्रेसको दुई चरणको जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा नौ जना प्रतिनिधि खटिएका थिए। केन्द्रबाट हचुवाका भरमा उम्मेदवार तय गर्दा सिफारिस गरिएका नेताहरूको प्रभाव थाहा नहुने भएकाले जागरण अभियानमा खटिएका प्रतिनिधिसँग छलफल भइरहेको शर्माले बताए।

उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ। उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ।

संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २१ गतेका लागि तोकिएको छ। प्रतिनिधिसभाअन्तर्गत कास्की २ र प्रदेशसभामा भक्तपुर, बागलुङ र दाङमा एकएक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

कांग्रेस क्षेत्रीय समितिले विधानविपरीत ठूलो संख्यामा आकांक्षीको नाम केन्द्रमा पठाएपछि उम्मेदवार चयनमा ढिलाइ भएको हो। कांग्रेस विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।

प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ र दाङबाट ११ जनाको नाम सिफारिस गरिएको छ।

अघिल्लो साता बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने निर्णय गरेको थियो। तर यसअघि केन्द्रीय समितिको बैठक बस्दै–नबसी स्थगित भएपछि संयन्त्र गठन हुन सकेन। पदाधिकारीसहित वरिष्ठ नेता पौडेल र सिटौला सम्मिलित संयन्त्र गठन गर्ने नेताहरूबीच सहमति भएको थियो। कांग्रेसमा उम्मेदवार चयन गर्न विधानमा संसदीय बोर्डको व्यवस्था छ। तर दुई वर्षअघि सम्पन्न प्रदेश र संघको निर्वाचनमा पार्टी पराजित भएपछि संसदीय बोर्ड नै खारेज गरिएको थियो। संसदीय बोर्ड नहुँदा पार्टीका शीर्ष नेताहरू बसेर उम्मेदवार टुंग्याउन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.