‘प्रधानमन्त्री साँझ बालुवाटार फर्किनुहुन्छ’
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहीबार दिउँसो अस्पताल पुगेका थिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेर निस्कने क्रममा प्रचण्डले प्रधानमन्त्री आजै बालुवाटार फर्किने जानकारी दिएका हुन्। ‘चिकित्सकले प्रधानमन्त्रीको डिस्चार्ज आजै हुने जानकारी दिनुभएको छ’, प्रचण्डले भने, ‘उहाँ आजै बालुवाटार फर्किनु हुन्छ।’
प्रचण्डले बुधबार र बिहीबार गरेर प्रधानमन्त्रीको दुई पटक डायलासिस भएको जानकारी गराएका छन्।
‘प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ’, प्रचण्डले भने, ‘अब नियमित डायलासिस गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा चिकित्सकले केही बताउनु भएको छैन।’