महरा अदालतमा उपस्थित हुँदा जे देखियो
काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। बिहीबार महरा अदालतमा उपस्थित हुँदा कोटसहित थिए। यसअघि टिसर्ट र पाइन्टमा अदालतमा उपस्थित भएका महरा बिहीबार कोटसहित पुगेका हुन्।
अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ। उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको हो। भियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ।
संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो।
त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।