धादिङमा वडा कार्यालय तोडफोड र चोरी
धादिङ : निलकण्ठ नगरपालिका-९ वडा कार्यालय तिहार बिदाको समयमा तोडफोड भएको छ। लगातार चार दिन बिदा भएकाले यही बिदाको बीचमा वडा कार्यलय तोडफोड भएको हो। अज्ञात समूहले तोडफोड गरी वडा कार्यालयमा रहेको मेलमिलापको फाइल चोरेर लगेको वडाअध्यक्ष भोजबहादुर रेग्मीले बताए।
चोरले कम्पाउण्डको ढोका फुटाएर वडा कार्यलय भित्र पसेर वडा अध्यक्षको चेम्बर तथा स्टोर कक्षको ताला फुटाइएका छन्। अध्यक्षको चेम्बरमा रहेको टेवल तथा दराजका सबै घर्राहरु फुटाइएको भएपनि सबै अन्य सबै कागजपत्र भने जस्ताको तस्तै रहेको अध्यक्ष रेग्मीले बताए।
कार्यालय तोडफोड भएपछि बिहीबार वडाबाट प्रदान हुने सबै सेवा बन्द रहेको अध्यक्ष रेग्मीले बताए। स्थानीय मिस्त्रीको सहयोगमा मुल गेट मर्मत गरिएको भएपनि कार्यलयका ढोका तत्काल मर्मत गर्नको लागि नगरपालिकामा जानकारी गराइएको रेग्मीले बताए।
तिहार बिदापछि बिहीबार बिहान कार्यावलय खोल्न जाँदा कार्यालय सहयोगीले वडा कार्यलयको मुल ढोका र वडा अध्यक्षको कार्यकक्ष फुटाएको देखेपछि प्रहरीले खवर गरेका थिए।
जिल्ला प्रहरी कार्यलय धादिङवेशीबाट गएको प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान गरी औठा छापको नमुना संकलन गरेर ल्याएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।