तीन नेपाली मजदुर हत्या आरोपित बोहरा १४ दिन हिरासतमा रहने
बैतडी : कार्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदुरको लिंग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राखेर भारतीय प्रहरीले अनुसन्धान गर्ने भएको छ।
जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान सुरु भएको भारतीय प्रहरीले जनाएको छ। बैतडीको पुर्चौंडी नगरपालिका ५ घर भएका बोहराले तीन नेपाली मजदुरको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन्।
आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप म्याद मागेकोमा म्याद थपिएको भारतीय पत्रकार राजेश पंगरीयाले जानकारी दिए। ‘हत्या आरोपमा पक्राउ परेका बोहरालाई बिहीबार प्रहरीले अदालतमा पेश गरेको छ’, उनले भने, ‘अदालतबाट १४ दिन हिरासतमा राअेर अनुसन्धान गर्ने अनुमति पाएका छौँ।’
पिथौरागढको मडधुरामा पुर्चौंडी ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी ४ भटना तडीखेतका कासी बोहराको लिंग काटी हत्या भएको थियो।
घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कार्तिक ११ गते पिथौरागढबाट १२० किलोमिटर टाढा रहेको मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणमा लिएको थियो। बोहरालाई बिहीबार न्यायलयमा पेश गरेपछि न्यायलयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।