नागरिकको विदेश भ्रमण र हिंडडुल नरोक्नू : सर्वोच्च
काठमाडौं : पूर्वमाओवादी लडाकु लेनिन विष्टलाई विदेश भ्रमणमा लगाइएको रोक गैरकानुनी रहेको फैसला सर्वोच्च अदालतले गरेको छ। सरकारले व्यक्तिको हिँडडुल गर्ने स्वतन्त्रतामाथि गैरकानुनी बन्देज लगाएको निष्कर्षमा सर्वोच्च पुगेको छ।
सर्वोच्चका न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गृह मन्त्रालयको निर्णय गैरकानुनी रहेको ठहर गर्दै आइन्दा यस्तो हस्तक्षेप हुन नदिनेतर्फ सजगसमेत गराएको छ। प्रवेशाज्ञा र निर्धारित कार्यक्रम तय भइसकेको अवस्थामा विष्ट समातिएका थिए। विदेश भ्रमणका लागि सरकारको कुनै पनि निकायबाट स्वीकृति नलिएको भन्दै गृहले विष्टको बैंकक भ्रमण रोकिदिएको थियो।
‘सर्वोच्चबाट विष्टको विदेश भ्रमण रोक्न सरकारले दिएको पत्र गैरकानुनी ठहर भएको छ। कुनै नागरिकको भ्रमण र हिँडडुल गर्ने अधिकार सरकारले रोक्ने होइन भन्ने निष्कर्षमा सर्वोच्च पुगेको छ,’ विष्टको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘अब नागरिकलाई विदेश जान सरकारको लिखित अनुमति लिनु नपर्ने नजिर बस्यो। यो फैसलाले अरूको पनि भ्रमण रोक्न नमिल्ने नजिर बस्ने छ।’
०७५ साल भदौ ८ गते गृहको आदेशमा प्रहरीले विष्टलाई त्रिभुवन विमानस्थलबाट फर्काएको थियो।