गौँथलेवासीलाई नयाँ घर

गौँथलेवासीलाई नयाँ घर

गौंथले (धादिङ) : चिटिक्क परेको ३ कोठे घर, सिमेन्ट र बालुवाको प्लास्टर। रङ रोगनले झनै आकर्षण। एउटा मात्र होइन, गाउँभरि एकैखालका घर। झुरुप्प परेको बस्ती। यो धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित गौँथले गाउँको भूकम्पपछिको पुनर्निर्माणको पहिचान हो। भूकम्पपछि लामो समय पुनर्निर्माणमै अलमलिएको गौंथले गाउँमा ९४ घरपरिवारले एकै प्रकारका नमुना घर पाएका छन्।

यसपालिको दसैँ–तिहार नयाँ घरमा बसेर मनाएका गौंथलेवासीको अनुहारमा खुसी छाएको छ। स्थानीय टीकामाया थापा मगरले भनिन्, ‘भूकम्पपछि कति सास्ती खेपियो भनिसाध्य छैन, त्यसैमाथि पुनर्निर्माणको अन्योलले झन् पीडा दियो, यस वर्ष त नयाँ घरमा बसेर दसैं–तिहार मान्दा धेरै आनन्द आयो।’

पुनर्निर्माणपछि झुरुप्प बस्ती गौंथले गाउँको मुहार नै फेरिएको छ। गौंथलेबासीमा खुसी छाएको छ। एकल महिलालाई त गौंथले गाउँको नमुना घर वरदान सावित भएको छ। ‘एक्लो ज्यानले यो जुनीमा घर बनाउन सकँुलाजस्तो लागेकै थिएन। तर, नयाँ घर पाएँ जुनी फेरेजस्तै भएको छ’, श्रीमान् गुमाएकी टीकामायाले भनिन्।

उनीजस्तै गौंथले गाउँका ९४ घरपरिवारमा एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नामक गैरसरकारी संस्थाले खुसी थप्ने काम गरेको छ। केकेएस र वीएमजेड जर्मनीको सहयोगमा आईसीडीसीले गौँथले गाउँको पुनर्निर्माण गरिदिएको हो। संस्थाका अध्यक्ष परशुराम दुवाडीले भने, ‘भूकम्पपछिको पुनर्निर्माण क्रममा पर्यटकीय हिसाबले पनि एकदमै सम्भावना बोकेको गाउँलाई नमुना गाउँको रूपमा विकास गर्न गाउँपालिकासँगको समन्वयमा एकीकृत पुनर्निर्माण गरिएको हो।’

गौंथले गाउँ पुनर्निर्माण सम्पन्न हुँदा ७ करोड ५५ लाख ६१ हजार ७ सय ८५ रुपैयाँ खर्च भएको छ। त्यसमध्ये संस्थाको ६ करोड ४९ लाख ८३ हजार १ सय ६५ र १ करोड ५ लाख ७८ हजार ६ सय २० रुपैयाँ स्थानीयको जन श्रमदान सहयोग रहेको आईसीडीका अध्यक्ष दुवाडीले बताए। एउटा घर निर्माण गर्न ४ लाख ९७ हजार ३८३ रुपैयाँ लागेकोमा संस्थाले ३ लाख ९२ हजार ६४ रुपैयाँ र १ लाख ५ हजार ३ सय १९ रुपैयाँ प्रतिघरधनीको नगद खर्च भएको उनले जानकारी दिए।

संस्थाको सहयोगमा घर बनाएका भूकम्पपीडितले नेपाल सरकारले घर बनाउन दिने ३ लाख अनुदान भने लिएका छैनन्। पहिलो किस्ता बुझेर पनि घर नबनाई बसेकाहरूले संस्थाले घर बनाइदिएको खण्डमा थप किस्ता लिन नपाउने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरेको अध्यक्ष दुवाडीले बताए।

सरकारले दिएको ३ लाख लिएर आफूखुसी घर बनाए पनि यत्तिको बलियो र उपयोगी घर बनाउन नसकिने अर्का स्थानीय बलबहादुर थापाले बताए। ‘हामीले अरू ठाउँमा सुनेका छाँै थप ३ लाख थपेर पनि २ कोठाको मात्रै घर बनाउन सकिएको छ तर हामीले १ लाख थपेर यत्रो बलियो घर पायाँै’, उनले भने।

गौँथले गाउँ हस्तान्तरणका लागि योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलसमेत पुगेका थिए। पुनर्निर्माण गरिएको नमुना बस्ती गाउँलेलाई हस्तान्तरण गर्दै जिल्लावासीसमेत रहेका उपाध्यक्ष कँडेलले प्रचुर सम्भावना रहेको बस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना आयोगले पनि सघाउने प्रतिबद्धता जनाए। कँडेलले कला, संस्कृति जगेर्ना गरेर होम स्टे सञ्चालन गर्न सके स्थानीयको आयआर्जनमा समेत सुधार आउने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.