धरान उपनिर्वाचन : नेकपाबाट तीन जनाको नाम सिफारिस
धरान : धरान उपमहानगरपालिकाको मेयर पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तीनजनाको नाम सिफारिस भएको छ । शुक्रबार बिहान बसेको नेकपा धरान नगरसमितिको बैठकले तीनजनाको नाम बहुमतले सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपाले मेयरको उम्मेदवारका लागि जिल्ला सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), र सदन उच्च माविकी शिक्षिका रहेकी बेणु काफ्लेको नाम सिफारिस गरेको छ । तीनैजनाको नाम पार्टी जिल्ला र प्रदेश कमिटी समक्ष पठाइने नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।
नेकपाका तर्फबाट मेयरका आकांक्षीहरु धेरै भएपछि बैठकले बहुमतका आधारमा उमेद्वारको छनोट गरेको हो। बैठकमा मेयरका सबै आकांक्षीहरुलाई सहभागी नगराइ एकलौटी निर्णय गरिएको प्रदेश सदस्य विजय राईले बताए । नेकपमा प्रधानमन्त्री समेत रहेका ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षधरको विवादका कारण उम्मेदवार छनौट लम्बिएको थियो।
बैठकले सिफारिस गरेका राई र काफ्ले नेपाल पक्षका हुन भने चोत्लुङ दाहाल पक्षका हुन् । मेयरका शसक्त दावेदार ओली पक्षधर विजय र दाहाल पक्षकै अइन्द्रविक्रम बेघाको नाम भने सिफारिस भएन । धरान नगर सदस्य तथा युवा संगठनका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुले उम्मेदवारको नाम सिफारिसमा महत्वपूर्ण व्यक्तिलाई बाइपास गरेको भन्दै यसमा आफ्नो असहमति रहेको बताए।
कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्वसम्मत चयन गरेको छ । नेकपाबाट सिफारिस भएकामा प्रकाश राईले टिकट पाउने सम्भावना बढि रहेको नेकपाका स्थानीय नेताहरुले जनाएका छन्।