अदालतमा बयान दिँदै महरा
काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा शुक्रबार न्यायधीश सुदर्शनराज पाण्डेको इजालसमा बयान चलिरहेको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । श्रेष्ठले भने ,' महराको बयान समयमै सकिए आजै र बाँकी रहेको खण्डमा आइतबार थुकछेक सम्बन्धी बहस हुनेछ।'
बहसपछि न्यायाधीशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश दिनसक्नेछन् ।
महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा बिहीबार अभियोगपत्र दायर भएको थियो। संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।
अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ। उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ। अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।