महराको बयान सकियो : आइतबार पुनः अदालत उपस्थित गराइने
काठमाडौं : संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी (बलात्कार) प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन्।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन्। काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा यस्तो बयान दिएका हुन्।
इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दाबीगर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन्।
महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन्। उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन्। प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन्। उनले त्यस दिन मदिरा सेवन नगरेको दाबी पनि गरेका छन्।
संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ।
महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिर समेत गरेका छन्।
महराको शुक्रबार बयान नसकिएकाले उनलाई पुन थुनामै लैजाने तयारी भएको छ। आइतबार १० बजे नै अदालतमा हाजिर गराइने छ। त्यस दिन उनको थुनछेक सम्बन्धी बहस हुनेछ।
सरकारी वकिल र महराका कानुन व्यवसायीले आआफ्नो प्रतिरक्षा गर्नेछन्। त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा निर्णय आउनेछ।